१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भवन भत्किएपछि पढाइमा समस्या

हुम्ला — हिमपातले भत्किएको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । गत माघमा भएको भारी हिमपातले मानसरोवर माविको भवन भत्किएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।

भवन भत्किएपछि पढाइमा समस्या

विद्यालयले उक्त भवनलाई हलका रूपमा प्रयोग गर्दै आएको थियो । विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप, बैठक तथा अभिभावक भेला त्यही भवनमा हुने गरेका थिए । अतिरिक्त तथा प्रयोगात्मक क्रियाकलाप सञ्चालन हुने भवन भत्किएपछि विद्यार्थीले सास्ती भोग्नुपरेको छ । भवनमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले समेत कार्यक्रम गर्दै आएका थिए । हलमा ३ सय अटाउने क्षमता थियो ।


भवन भत्किएपछि अतिरिक्त क्रियाकलाप लामो समयदेखि रोकिएको शिक्षक शिव शर्मा पौडेलले बताए । उनका अनुसार भवन भत्किएपछि विद्यालयको आयस्रोत पनि घटेको छ । विद्यार्थी प्रयोगात्मक कार्य तथा अतिरिक्त क्रियाकलापबाट वञ्चित भएका छन् । ‘पछिल्लो समय सैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिएका थियौं,’ उनले भने, ‘तर भवन भत्किएपछि पठनपाठनमा धेरै समस्या भएको छ ।’


भवन भत्किदा करिब ४० लाख रुपैयाँको क्षति भएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । भवन भत्कँदा अन्य निकायलाई समेत सार्वजनिक कार्यक्रम गर्न समस्या भएको छ । भवन निमार्णका लागि प्रदेश सरकारलाई अनुरोध गरे पनि मर्मतका लागि २ लाख रुपैयाँ मात्र बजेट आएको शाहीको भनाइ छ ।


‘भवन पूर्ण भत्किएको छ, पुनर्निर्माणका लागि कम्तिमा ४० लाख रुपैयाँ लाग्ने अनुमान छ, गाउँपालिकाले समेत निर्माणमा ध्यान दिएको छैन,’ उनले भने, ‘हिमपातले भवन भत्किएपछि सुरक्षित रहेका काठ र ढुंगा भण्डारण गरी राखिएको छ, आवश्यक बजेट उपलब्ध भए पुनर्निर्माणको काम सुरु गरिनेछ ।’


प्रकाशित : असार २६, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?