२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किसान–सरकार सँगसँगै

उपयुक्त ठानिएका आठबीसकोट र बाँफिकोटमा मौरी ब्लक कार्यक्रम सुरु 

(रुकुम पश्चिम/सल्यान) — आठबीसकोट नगरपालिका ११, १२ र १४ का अधिकांश घरमा किसानले परम्परागत विधिबाट मौरीपालन गर्दै आएका थिए । यसअघि पनि मौरीपालन गरिएका ती वडामा यो वर्षदेखि आधुनिक मौरीघार थपिएका छन् । स्थानीय बासिन्दा र कर्णाली प्रदेश सरकारको साझेदारीमा मौरी ब्लक कार्यक्रम सुरु भएपछि हरेक घरमा मौरीपालन थालिएको हो ।

किसान–सरकार सँगसँगै

मौरी पालनमा स्थानीय बासिन्दा र सरकारको साझेदारी छ । मौरी पालनका लागि किसानले ५० प्रतिशत लगानी गरेका छन् भने कर्णाली प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५० प्रतिशत अनुदान दिएको छ ।


मौरीपालनका लागि उपयुक्त क्षेत्र मानिएका ती वडामा सरकार र स्थानीयको साझेदारीमा यो वर्ष ५ सय घार मौरी थप गरिएको छ । ‘हामीले किसानको तर्फबाट २५ लाख जम्मा गर्‍यौं,’ मौरी ब्लक समूहका अध्यक्ष प्रेमवीर कामीले भने, ‘कर्णाली प्रदेश सरकारले २५ लाख अनुदान दिएपछि यो कार्यक्रम सुरु भएको हो ।’


कृषि ज्ञान केन्द्र र स्थानीयको ५० लाख रुपैयाँ लगानीमा ५ सय गोला सहितका मौरी घार खरिद गरिएको छ । ३ सय ६२ रित्ता घार, मौरीका लागि आवश्यक सामग्री, महका लागि चाहिने सामग्री तथा किसानका लागि आवश्यक तालिम पनि सोही बजेटबाट व्यवस्थापन गरिएको उनले जानकारी दिए । ५ सय मौरी घारमध्ये ७० घार मौरी चिसापानीको फारुलामा राखिएको छ भने ४ सय ३० घार मौरी किसानका घरमा राखिएको संयोजक कामीले जनाए ।


आगामी ३ वर्षमा ५ हजार घार मौरी बनाउने लक्ष्यसहित मौरीपालन थालिएको समूहले जनाएको छ । विशेषगरी ती वडामा मौरीको मुख्य चरणका रुपमा च्युरी, वनमारा र तोरी छ ।


बाँफिकोट गाउँपालिकामा पनि मौरी ब्लक कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका १ देखि ५ नम्बर वडाका किसानले मौरी पालन गर्दै छन् । कृषि ज्ञान केन्द्रको २० लाख अनुदानमा किसानले २० लाख जम्मा गरी मौरी खरिदको तयारीमा लागेका छन् । हाल किसानबाट नगद संकलनको काम भइरहेको जनाइएको छ ।


मौरी ब्लकका संयोजक नरबहादुर चन्दले मौरीपालनका लागि किसानको तर्फबाट नगद संकलनको काम भइरहेको बताए । ‘कृषि ज्ञान केन्द्रले २० लाख अनुदान दिएको छ,’ उनले भने, ‘हामीले पनि २० लाख जम्मा गर्न सकेपछि ५०/५० प्रतिशत साझेदारीमा यो कार्यक्रम हुनेछ ।’ उनले अहिले किसानबाट नगद संकलन भइरहेको र संकलन भइसकेको रकमबाट मौरी खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अहिलेसम्म १२ देखि १५ लाख सम्म किसानको तर्फबाट लगानी संकलन भएको र अरु पनि संकलन हुने क्रममा रहेको चन्दले जनाए ।


मौरीका लागि उपयुक्त ठानिएका आठबीसकोट र बाँफिकोटमा मौरी ब्लक कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेश आचार्यले बताए । मौरीका लागि उपयुक्तता र किसानको मागलाई मध्यनजर गरी मन्त्रालयले कार्यक्रम बनाएको र त्यो कार्यान्वनको चरणमा रहेको आचार्यको भनाइ छ । किसानबाट पनि आधा लगानी गराउँदा अपनत्व हुने र उत्पादनमा ध्यान जाने भएकाले ५०/५० प्रतिशतको मोडेलमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।


राजनीतिसँगै सुन्तला खेती

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य लोकबहादुर डाँगीले ९ वर्षदेखि राजनीतिसँगै व्यवसायिक फलफूल खेती गरिरहेका छन् । एमालेका पूर्वजिल्ला अध्यक्षसमेत रहेका डाँगीले १६ रोपनी जग्गामा सुन्तला खेती गरिरहेका हुन् ।


सल्यानको बाग्चौर नगरपालिका ९, खोरबारेका डाँगीले व्यावसायिक सुन्तला खेतीसँगै नर्सरी व्यवसायलाई अगाडि बढाइरहेका हुन् । उनको नर्सरीमा कागतीका बेर्नाको उत्पादन सुरु भएको छ । उनको बारीमा १६ रोपनीमा ६ सय सुन्तलाका बोट छन् । यस वर्ष ४० हजार बढी कागतीका बिरुवा उत्पादन गर्ने गरी नर्सरी स्थापना गरिएको हो । नर्सरीबाटै २० रुपैयाँका दरले बिरुवा बिक्री भइराखेको उनले जानकारी दिए ।


२०६७ देखि सुन्तला खेती गर्दै आइरहेका उनले अहिलेसम्म ३५ लाखभन्दा बढी खर्च गरिसकेको जानकारी दिए । ‘सुन्तलाले अझै उत्पादन दिन सुरु गरेका छैनन्,’ उनले भने, ‘नर्सरीबाट यस वर्षदेखि बेर्ना बिक्री गर्न सुरु भएको छ, त्यसबाट आएको आम्दानी पनि सुन्तला खेतीमै लगानी गर्ने योजना छ ।’ उनले गाउँका अधिकांश व्यावसायिक सुन्तला खेतीमा लागेपछि आफूलाई यसतर्फ लाग्ने प्रेरणा मिलेको बताए । सबै सुन्तलाले २ वर्षभित्रमा उत्पादन दिने डाँगी बताउँछन् ।


सुन्तलाको राम्रो उत्पादन भए १ वर्षमै ४० लाख रुपैयाँ आम्दानी गर्ने उनको अपेक्षा छ । ‘यस वर्ष नर्सरीमार्फत ८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छु,’ उनले भने, ‘गाउँमा सडक भर्खरै पुगेको छ, सुन्तलाले राम्रो बजार पाउने अपेक्षा छ ।’ डाँगीकै पहलमा प्रदेश सरकारको सहयोगमा गाउँसम्म पुग्ने सडक निर्माण गरिएको हो ।


डाँगीले कागतीका बेर्नाको माग जिल्लामा अत्यधिक भएकाले नर्सरी सुरु गरेको जानकारी दिए । ‘नर्सरीबाट उत्पादित कागतीका बेर्ना सल्यान, रुकुम, रोल्पा, गुल्मीलगायत जिल्लामा गइरहेको छ,’ उनले भने, ‘राजनीति र व्यवसायलाई सँगसँगै लैजाँदा आत्मसन्तुष्टि मिलेको छ ।’ साँझ–बिहानको समयमा बगैचाको गोडमेल, काटछाटलगायत काममा व्यस्त हुने गरेको उनी बताउँछन् । परिवारकै ४ सदस्यले व्यवसायमा सघाइरहेको उनले जानकारी दिए ।


उनी मात्र होइन, डाँगीगाउँका अधिकांश किसानले व्यावसायिक फलफूलमा संलग्न छन् । कृषि ज्ञान केन्द्रका अनुसार व्यावसायिक सुन्तला खेतीबाट कोटमौलाका करिब ७ सय परिवार आत्मनिर्भर बनेका छन् । स्थानीय किसानले व्यावसायिक फलफूल खेतीमार्फत प्रतिपरिवार १० देखि २५ लाखसम्म आम्दानी गर्दै आइरहेको उनले जानकारी दिए ।


प्रकाशित : असार २६, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?