बर्खे बिदा कटौती माग

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा दिइँदै आएको बर्खे बिदा कटौती गर्न माग गर्दै एजुकेट कर्णाली नेपाल इकानले सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ  । संस्थाले शुक्रबार सामाजिक विकासमन्त्री दल रावललाई ज्ञापनपत्र बुझाएको हो  ।

असार पहिलो सातादेखि एक महिनाभन्दा बढी हुने बिदाको औचित्य नरहेको र यसले विद्यार्थीको सिकेको ज्ञान तथा सीप बिर्साउने जोखिम रहेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो बिदाको साटो वैकल्पिक बिदा, शैक्षिक भ्रमण, अतिरिक्त क्रियाकलापमा जोड दिइनुपर्ने जनाइएको छ ।

‘प्रदेशभरि भइरहेका यस्ता अवैज्ञानिक बिदा कटौती गरी सामुदायिक विद्यालयलाई निरन्तर कक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था गर्नमा गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र शिक्षा प्रदान गरी उच्च मनोबल भएका विद्यार्थी उत्पादन गर्न मद्दत पुर्‍याउन सक्छ ।’

संस्थाका अध्यक्ष मनवीर नेपालीले कर्णाली प्रदेशको एसईई नतिजा कमजोर हुनुको कारण अनावश्यक बिदा र अनियमित पढाइ भएको बताए । बर्खे बिदामा पनि अध्ययन सुचारु गर्ने केही सामुदायिक विद्यालयले एसईईमा राम्रो नतिजा ल्याएका उनको भनाइ छ । उनले सामाजिक विकास मन्त्रालयका साथै वीरेन्द्रनगर नगरपालिकालाई पनि ज्ञापनपत्रमार्फत बिदा कटौती गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रकाशित : असार २९, २०७६ १५:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुटवल पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

कान्तिपुर संवाददाता

पाल्पा — बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

भिरबाट ढुङ्गा खस्नेक्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउन सकिएको थिएन। आज बिहानैदेखि डोजर लगाएर पहिरो हटाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। शनिबार दिउँसो पहिरामा परी एक युवकको मृत्यु भएको थियो।

प्रकाशित : असार २९, २०७६ १५:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT