२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँ–गाउँमा निःशुल्क इन्टरनेट

हरि गौतम

रुकुम पश्चिम — निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने सरकारी नीतिअनुसार रुकुम पश्चिमका गाउँमा वाईफाई डिभाइस जडानको काम सम्पन्न भएको छ  । वर्ल्डलिंक कम्युनिकेसनले जिल्लाका १ सय ८७ सरकारी एकाइमा इन्टरनेटको प्रविधि जडान गरेको हो  ।

रुकुम पश्चिमका जिल्ला अस्पतालसहित ४३ स्वास्थ्य संस्था, ६५ सामुदायिक विद्यालय, ७३ वडा कार्यालय र ६ स्थानीय तहमा वाईफाई डिभाइस जडान गरिएको वर्ल्डलिंकका परियोजना सहायक रूपेश बुढाथोकीले बताए । उनका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार शाखाले कर्णाली प्रदेशका रुकुम पश्चिमसहित जाजरकोट, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला तथा ५ नम्बर प्रदेशका रुकुम पूर्व र रोल्पा गरी ९ जिल्लामा निःशुल्क वाईफाई जडान गर्ने जिम्मा दिएको छ ।

नगर तथा गाउँपालिका कार्यालय, वडा कार्यालय, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र मावि तहसम्म पठनपाठन हुने विद्यालयमा वाईफाई डिभाइस जडान भएको हो । वर्ल्डलिंकले २०७५ वैशाखदेखि रुकुम पश्चिमलगायत अन्य जिल्लामा इन्टरनेट सेवाका उपकरण जडान थालेको थियो ।

कर्णालीका ७ मध्ये रुकुम पश्चिम, जाजरकोट, कालीकोट र जुम्लामा इन्टरनेट जडान कार्य सकिएको छ । ५ नम्बर प्रदेशको रोल्पामा पनि इन्टरनेट जडान कार्य सम्पन्न भएको कर्णाली परियोजना प्रमुख किरण देवकोटाले बताए । ५ नम्बर प्रदेशको रुकुमपूर्व र कर्णालीका डोल्पा, हुम्ला तथा मुगुमा इन्टरनेट जडान कार्य जारी रहेको उनले बताए । ‘भौगोलिक विकटता, बिजुली अभावलगायत कारणले केही जिल्लामा इन्टरनेट जडानमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘तैपनि हामीले निर्धारित समयमा आफ्नो काम सम्पन्न गर्नेछौं ।’


इन्टरनेट जडानका लागि डिभाइस, राउटर, एडप्टर र तारको व्यवस्थापन वर्ल्डलिंकले गर्छ । ४ हजार ३ सय मिटर उचाइसम्ममा भूभागमा टावर राखिएकाले अब यी ९ जिल्लाका कुनै पनि वडा इन्टरनेट सेवाबाट वञ्चित नहुने वर्ल्डलिंकका प्राविधिकको भनाइ छ । इन्टरनेट १ एमबीपीएस गतिमा चल्छ । नेपाल सरकारले ५१२ केबीपीएस गतिमा चल्ने इन्टरनेट जडान गर्ने कार्यादेश दिए पनि वर्ल्डलिंक कम्युनिकेसनले बढाएर १ एमबीपीएस गतिमा चल्ने बनाएको देवकोटाले बताए ।

प्रकाशित : असार २९, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?