लोकप्रियताका लागि प्रतिस्पर्धा

स्थानीय तहका नीति–कार्यक्रम
मतदाता रिझाउने प्रकारका कार्यक्रम छनोट गरिँदा ठूला योजनालाई बजेट अपुग
तुलाराम पाण्डे

कालीकोट — स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा लोकप्रिय नीति र कार्यक्रम घोषणा गर्न गाउँ तथा नगरसभामा प्रतिस्पर्धा छ  । विगतमा गरेका घोषणा कार्यान्वयन नहुँदै नयाँ घोषणाले स्थानीय तहबीच लोकप्रिय हुने योजना घोषणाको प्रतिस्पर्धा भएको हो  ।

सस्तो लोकप्रियताका लागि महत्त्वाकांक्षी कार्यक्रमले उपलब्धिभन्दा बजेटमा व्ययभार मात्र थप्ने स्थानीयको प्रतिक्रिया छ । स्थानीय सरकारले अहिलेसम्म डोजरमार्फत सडक निर्माण गरेर पहिरो निम्त्याउने कामबाहेकका देखिने काम केही गर्न नसकेको नागरिक अगुवा दमनराज बमले बताए ।

‘नीति र कार्यक्रम लोकप्रिय छन्,’ उनले भने, ‘जनप्रतिनिधिका आफन्त पोस्नेबाहेक कार्यक्रम कार्यान्वयन हुँदैनन् ।’ उनले काम नगर्ने घोषणा जति राम्रो भए पनि अर्थ नहुने सुनाए । ३ नगर र ६ गाउँपालिका रहेको कालीकोटमा स्थानीय तहका जनप्रतिनिधिले बजेटअनुसारको देखिने र जनताले महसुस हुने गरी काम गर्न नसकेको गुनासो आइरहेको बेला सामाजिक सुरक्षाका कार्यक्रममा बढी जोड दिँदै वितरणमुखी कार्यक्रम सार्वजनिक गरेका छन् ।

असार १० मा सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भए पनि ६ स्थानीय तहले समयभन्दा पछि मात्रै बजेट सार्वजनिक गरे । पचालझरना गाउँपालिका र तिलागुफा नगरपालिकाले पनि त्यसै दिन बजेट ल्याएका थिए ।

छोरीमै चित्त बुझाउनेलाई १ लाख
खाडाचक्र नगरपालिकाले छोराछोरी बीचको लैंगिक विभेद कम गर्न र एक वा दुई छोरी मात्र जन्माउने दम्पतीलाई १ लाख नगर पुरस्कार दिने घोषणा गरेको छ । मंगलबार सम्पन्न नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख विजया विष्टले दुईसम्म छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेकी हुन् । ‘यसले छोराछोरीको विभेद कम गर्नेछ,’ उपप्रमुख विष्टले भनिन्, ‘भ्रूण हत्या गर्ने प्रवृत्तिमा पनि सुधार आउनेछ ।’ नगरले कृषि, नगदे बाली र फलफूलको उत्पादन र पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

२१ वर्षपछि विवाह गरे ५ हजार
शुभकालिका गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि २१ वर्षपछि विवाह गर्ने युवतीलाई ५ हजार पुरस्कार गर्ने भनेको छ । उपाध्यक्ष पम्फाकुमारी शाहीले हिंसा घटाउन ‘मन दुखेपछि उपाध्यक्षसँग किशोरी’, ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारी, युवा कृषि उद्यमीलाई मासिक २ हजार भत्ता दिने कार्यक्रम सार्वजनिक गरिन् । गाउँपालिकाले ३० भेडा, ५० बाख्रा र २ भैंसी पाल्ने युवा उद्यमीलाई मासिक १ हजार र ४० भेडा, ६० भन्दा बढी बाख्रा र ३ भन्दा बढी भैंसी पाल्ने युवा कृषकलाई २ हजारका दरले प्रोत्साहन रकम दिइने जनाएको छ ।

खर फालेर जस्तापाता
पचालझरना गाउँपालिकालाई एक वर्षभित्र खरका छानामुक्त बनाइने नीतिसहित कृषिमैत्री नीति सार्वजनिक गरिएको छ । गाउँपालिकाका अधिकांश घरमा छानो खरका छन् । बदालकोटका ४ सय ५०, राम्नाकोटका ३ सय ३९ र नानीकोटका ४ सय घर खरले छाएका छन् । गाउँपालिकाले प्रदेश सरकार, संघसंस्था र स्थानीय घर परिवारसँग लागत साझेदारी गरेर टिनका छाना भएका घर बनाउने अध्यक्ष खडराज सेजुवालले बताए । ‘खरका छानामुक्त पालिका बनाउने कामलाई अभियानका रूपमा सञ्चालन गर्दैछौं,’ उनले भने, ‘हावाहुरी चल्ने र आगलागीको खतरा बढी भएकाले खरको छाना फेर्न लागेका हौं ।’ २ हजार ३ सय ९६ घरधुरी भएको पचालझरनामा अन्य घर पत्थर, टिन र माटोले छापेका छन् । गाउँपालिकाले भेडाबाख्रा गोठालालाई दिइने मासिक भत्ता व्यवस्थित गर्ने, ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको १० गते स्वास्थ्यकर्मी घरमै गएर स्वास्थ्य परीक्षण गर्ने, बेरोजगारलाई सीप विकास तालिम दिनेलगायत कार्यक्रम अघि सारेको छ ।

एकल पुरुषलाई पनि भत्ता
सान्नीत्रिवेणी र महाबै गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषलाई पनि भत्ता दिने नीति ल्याएका छन् । सान्नीत्रिवेणी एकल पुरुषलाई भत्ता दिने नीति सार्वजनिक गरेलगतै महाबैले पनि ६० वर्ष नपुगेसम्म मासिक १ हजारका दरले भत्ता लिने घोषणा गरेको हो । सान्नीत्रिवेणीले गत वर्ष विद्यालयमा शिक्षकको नियमितताका लागि बायोमेट्रिक हाजिरी सुरु गरेको थियो । यस वर्षदेखि जनप्रतिनिधि, पालिका कर्मचारी, सरकारी र गैह्रसरकारी निकायमा काम गर्ने सबै नागरिकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नीति पनि सार्वजनिक गरेको छ ।

कोटवाडा–मान्म केबुलकार
नरहरिनाथ गाउँपालिकाले कोटवाडा विमानस्थलको नियमित सञ्चालनको लागि पहल गर्दै कोटवाडा विमानस्थलदेखि सदरमुकाम मान्म जोड्ने केबुलकारको निर्माणको लागि नीति तथा कार्यक्रम घोषणा गरेको छ । लालीघाटदेखि विमानस्थल हुँदै रुप्सा जोड्ने सडक, गाउँपालिकाको भवन निर्माण, बालमैत्री विद्यालय, सबै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेजस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।

गरिब र दलित बालबालिकालाई पोसाक
तिलागुफा नगरपालिकाले ११ वटै वडाका अति विपन्न र दलित समुदायका सबै बालबालिकालाई विद्यालय पोसाक वितरण गर्ने घोषणा गरेको छ । नगर उपप्रमुख दन्ता नेपालीले ५७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वनिक गर्दै सबै घर काठ र खरका छानामुक्त बनाइने, एक गाउँ, एक नर्सरी, एक घर १० बिरुवा अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् । तिलागुफा कर्णालीकै मीठो र धेरै स्याउ फल्ने स्थानीय तह हो । यस वर्ष कृषकलाई अनुदानका कार्यक्रम पनि राखिएको नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

खानेपानीमै १४ करोड
पलाता गाउँपालिकाले यस वर्षको बजेट खानेपानी तथा सरसफाइमा केन्द्रित गरेको छ । एक घर एक धारा अभियानलाई पूरा गर्न खानेपानी क्षेत्रमा मात्र १४ करोड बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ६२ करोड ४२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको पालातामा खानेपानीको संकट चर्को छ । पलाता ९ थिर्पुका २ सय बढी घरधुरीमा एक घर एक धारा जडान भइसकेका छन् भने अन्य वडामा पनि घरघरमा खानेपानी धारा पुर्‍याउन बजेट केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ । पलाताले मावि तहसम्मको शिक्षा निःशुल्क बनाएको छ । विद्यार्थीबाट कुनै शुल्क नलिने नीति बनाइएको शिक्षा संयोजक रणप्रसाद भट्टले बताए ।

रास्कोटमा श्रम बैंक
रास्कोट नगरपालिकाले श्रम बैंकको अवधारणालाई थप प्रभावकारी बनाइने जनाएको छ । बेरोजगार युवायुवतीलाई संगठित गरी श्रममा लगाएर रोजगारी दिन श्रम बैंकको अवधारणा ल्याइएको नगरप्रमुख काशीचन्द्र बरालले बताए । उनले नगरका सबै वडामा सडक पुगिसकेकाले सडकको स्तरोन्नति गर्ने, शिक्षालाई उत्पादनमुखी र व्यावसायिक बनाउने गरिखाने जनशक्ति उत्पादन गर्ने, जीवन प्रवर्द्धन कार्यक्रममार्फत प्रत्येक घरको एकीकृत योजना बनाएर कार्यान्वयन गर्न सहजीकरण गर्नेलगायतका काम गरिने सुनाए ।

प्रकाशित : असार २९, २०७६ १५:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युद्ध पर्यटकीय क्षेत्र बन्दै पिली

यहाँका घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकम टावर, कालिका माविको भवन निर्माणका काम जारी
तुलाराम पाण्डे

पिली, कालीकोट — खाडाचक्र ७, पिलीकी ७१ वर्षीया देउकला मल्ललाई पिली घटनाबारे सम्झिँदा अझै कहाली लाग्छ । १४ वर्षअघि माओवादी आक्रमणको अन्तिम फौजी निशाना बनेको पिलीमा सेनालाई रासन पुर्‍याउन सहयोग गर्ने देउकलाका पति शक्ति मल्ललाई तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।

पिली घटनामा ६५ सेनासहित सय बढीले ज्यान गुमाएका थिए भने त्यत्तिकै संख्यामा घाइते अंगभंग भएका थिए । माओवादीले ६० नेपाली सेना अपहरण गरी १ महिनापछि जाजरकोटबाट मुक्त गरेको थियो । युद्धका घाउमा खाटा बस्दै गएपछि उनको दैनिकी पनि फेरिएको छ । उनले आफ्नै घरमा होमस्टे (घरबास) सञ्चालन गरी स्थानीय परिकारका खाना र वातावरण पाहुनालाई दिएर पिली चिनाउने गर्छिन् । ‘होमस्टेबाट केही आम्दानी पनि हुन्छ,’ उनले भनिन्, ‘ठूलो कुरा त देश विदेशीसँग भेट हुन्छ ।’ उनले पुराना कुराले मन अशान्त भए पनि नयाँ विकासले संसार यस्तै रहेछ भन्ने महसुस हुन थालेको सुनाइन् ।

शान्तिप्रक्रियाको आधार बनेको पिली घटनालाई स्मरण गर्न र नेपालको सशस्त्र द्वन्द्वलाई भावी पुस्ताले पनि जानकारी पाउन भन्ने उद्देश्यले साबिक शान्ति मन्त्रालयले युद्धपर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेको थियो । खाडाचक्र नगरपालिकाले पनि पिलीलाई नगर सभामार्फत युद्ध पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने घोषणा गर्दै बजेटका लागि पहल गरेको नगर प्रमुख जसीप्रसाद पाण्डे बताए । उनले पिलीमा घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकमको टावर, कालिका माविको भवन निर्माणलगायत काम भएको जानकारी दिए ।

घोषणा भए पनि बजेट नहुँदा गत वर्षसम्म कामले गति लिन सकेको थिएन । यस वर्ष कर्णाली प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरी ३ उपभोक्ता समितिमार्फत पिलीमा ३ भवन, सिँढीसहितको पैदल मार्ग र त्यसको डिलमा स्टिलको रेलिङ हाल्ने काम गरिरहेको छ । सदरमुकाम मान्मबाट २० किमि पूर्व रारा जाने बाटोनजिकै पर्ने पिलीमा ४० लाखको बाटोसहित युद्ध संग्रहालय, ६० लाखमा स्मारक भवन र ५० लाखमा घरबासका लागि पक्की भवन निर्माण भएका छन् । काम सबै सकेर ‘फिनिसिङ’ भइरहेको पिली युद्धपर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष पुत्रबहादुर मल्लले बताए ।

संरक्षण समितिले दीपक कार्की, दर्न मल्ल र रतनबहादुर मल्ल अध्यक्ष रहेको ३ निर्माण उपभोक्ता समिति बनाएर निर्माण गरिरहेको छ । पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेटसहित योजना दिएपछि वैशाखमा सम्झौता भएर जेठमा काम सुरु गरेको खाडाचक्र ७ का वडाध्यक्ष रजबहादुर मल्लले बताए । ‘भौतिक संरचनाका काम भइरहेका छन्,’ उनले भने ‘संग्रहालयमा युद्धमा प्रयोग भएका दुवै पक्षका हातहतियार र युद्ध सामग्री र स्मारक भवनमा पिली भिडन्तमा ज्यान गुमाएकाहरूको तस्बिर राखिनेछ ।’ उनले सामग्रीका लागि नेपाली सेनासँग समन्वय भइरहेको जनाए । पिलीमा भवन, बाटोसहित स्मारकको मर्मर्त सुधार, चौतारी पनि बनाइनेछ । क्रमागत बजेटबाट डाँडामा भ्युटावर, चिडियाखाना पनि निर्माण गर्ने योजना रहेको प्राविधिक लवराज शाहीले बताए ।

‘युद्ध हुँदासम्म गाउमै बस्न पाइएन,’ जिसस सदस्य अक्कलबहादुर मल्ले भने, ‘शान्तिसँगै सडक आएपछि गाउँ फेरियो, हाम्रो पनि दैनिकी फेरियो ।’ उनका अनुसार कालीकोटको १८औं जिल्ला परिषदले युद्ध पर्यटकीय गाउँ घोषणा गर्ने नीतिगत निर्णय गरी पर्यटन मन्त्रालयमा पठाएको थियो ।

खाडाचक्र ६ मा पर्ने दाहा तलसेरालाई ‘सपना’ को गाउँ र पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन साबिक दाहा गाविसले नीतिगत निर्णय गरेको थियो । तत्कालीन फौजी हमलाले पिलीलाई चिनाएपछि गाउँमा भोट तान्न सबै राजनीतिक दलका नेता कार्यकर्ता युद्ध पर्यटकीय क्षेत्रको नारा लगाएका थिए । पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन नेकपाका नेता/कार्यर्कर्ता पनि सक्रिय देखिन्छन् । ०६२ साउन ३२ गते कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक निर्माण कार्यदल रहेको क्याम्पमा चारैतिरबाट घेरा हालेर माओवादीले आक्रमण गरेका थिए ।

प्रकाशित : असार २५, २०७६ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT