गमगढी बजार जोखिममा

(मुगु) — छायानाथ–रारा नगरपालिका १ र २ स्थित पुरानो गमगढी बजारमा ढल निकासको उचित व्यवस्था नहुँदा बजारै जोखिममा परेको छ । ढल नहुँदा भल पस्न थालेपछि सडक आसपासका क्षेत्रका घरहरू पनि जोखिममा पर्न थालेका हुन् ।

महाकाली नमुना माविदेखि जिल्ला प्रशासन कार्यालयसम्मको क्षेत्रमा ढल निकास नभएपछि आसपासका घरमा भल पस्ने समस्या बढदै गएको हो । गत वर्ष बजार क्षेत्रको सडकको स्तरोन्नति गरिए पनि ढलको व्यवस्था नगरिँदा स्थानीयले सास्ती भोगिरहेका छन् । स्थानीयले घरको ढोका अगाडि जस्तापाता र प्लास्टिक लगाएर आकासे पानी छेक्ने गरेका छन् । भलकै कारण सडकको कालोपत्रे उप्किने जोखिम बढदै गएको स्थानीयको भनाइ छ ।


ढल नहुँदा घर माथिबाट बगेर आएको पानीले दुःख दिन थालेको स्थानीय व्यवसायी लक्ष्मी देवकोटाले बताए । उनका अनुसार घरभित्र ढल पस्न थालेपछि व्यवसाय गर्न समस्या भएको छ । ‘सडकमाथि र घरका ढोका तल भएपछि कम पानी परे पनि भल पसिहाल्ने समस्या छ,’ उनले भने, ‘दिउँसो भल पस्न नदिन विभिन्न जुक्ति लगाए पनि राति कोठाहरू जलमग्न हुन थालेपछि घरहरू भत्किने जोखिम बढेको छ ।’


वर्षा सुरु भएपछि स्थानीयलाई कसरी पानीको निकास गर्ने भन्ने पिरलो भएको छ । घरभित्र पानी पस्ने त्रासले स्थानीय बासिन्दा राति अबेरसम्म जाग्राम बस्न थालेका छन् ।


ढल नहुँदा चैन गाउँ जाने बाटोका आधा दर्जन घर बाढीको जोखिममा छन् । ढलको समस्याले आफ्नो घर खतरामा परेको स्थानीय केशवराज चौलागाईंले गुनासो गरे । उनका अनुसार नयाँ बजार क्षेत्रमा पनि भल पस्ने समस्या चुलिएको छ । गत वर्ष करिब १८ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको ढल १ वर्ष नपुग्दै भत्किएपछि जोखिम खेप्नुपरिरहेको स्थानीयको गुनासो छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि रेडक्रस भवनसम्मको क्षेत्रका बासिन्दा घरमा पसेको भल फाल्दा हैरान बनेका छन् । जथाभावी पानी बग्दा सडक हिलाम्मे बन्दै गएपछि आउजाउमा समस्या भएको छ । भल जथाभावी घरभित्र पस्न थालेपछि स्थानीयको सहयोगका लागि सशस्त्र प्रहरीले बजार क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाएको छ ।


छायानाथ(रारा नगरपालिकाले ढल निर्माणमा बेवास्ता गरेपछि स्थानीयले सास्ती भोग्नुपरेको स्थानीय जयबहादुर मल्लले बताए । उनका अनुसार वर्षाले बजार क्षेत्र हिलाम्मे बनेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । हिलाम्मे सडकले बटुवालाई सास्ती भएको उनको भनाइ छ । बजार क्षेत्रमा राखिएका डस्टबिनको फोहर वर्षाले जथाभावी बगाउन थालेपछि बजार क्षेत्र पनि दुर्गन्धित बन्दै गएको छ ।


प्रकाशित : असार ३०, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?