१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पहिरोले पाइप बगाउँदा चार गाउँमा खानेपानी अवरुद्ध

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका ४ खर्सुबासमा पहिराेले खानेपानीको पाइप बगाउँदा वडा नं ४ र ५ मा पर्ने लेखपोखरा, तारुपरे, भित्रिवन, पोखरीका तीन सय परिवार खानेपानीबाट बञ्चित भएका छन् ।

खर्सुवासको बाउनीखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका दुई वडाका चार गाउँका बासिन्दा समस्यामा परेका छन् ।


खर्सुवासको जंगलमा पहिराले दुई सय मिटर पाइप बगाएपछि पानीको जोहो गर्न उनीहरुलाई कठिनाइ भएको छ । पाइप बगाएपछि खानेपानीको जोहो गर्न समस्या भएको स्थानीय विमला पुनले बताइन् । लगातार दुई दिनसम्म परेको वर्षातले गर्दा पहिरो गएको उनले जानकारी गराइन् । उनका अनुसार कपुरकोट–झ्याम सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएको हाे ।


पहिरोले बगाएको पाइप मर्मत गर्ने चासो कसैले नदेखाएका कारण दुई दिनदेखि खोलाको धमिलो पानी प्रयोग गर्दै आएको निर्मला नेपालीले बताइन् । गत वर्ष पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षातको समयमा पानीको हाहाकार भएको थियो ।


खानेपानीको पाईप बगाएपछि मर्मतका लागि वडा कार्यालय र गाउँपालिकामा आग्रह गरेको कृष्ण विकले बताए । उनले चार गाउँमा खानेपानीको लागि दशक अघि योजना सम्पन्न गरिएको जानकारी गराए । अनधिकृत रुपमा सडक खन्ने कार्यले खानेपानीमा असर पार्दै आएकाले आउँदा दिनमा सडक खन्दा निस्केको ढुंगामाटो अन्यत्र फाल्न उनले आग्रह गरे ।

प्रकाशित : असार ३०, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?