कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुगुमा इटालियन स्याउ

‘परीक्षणकै लागि ल्याइएका स्याउले यस वर्षदेखि नै राम्रो उत्पादन दिन थालेपछि किसानलाई उत्साही बनायो’

मुगु / सल्यान — छायाँनाथरारा नगरपालिका १, का ४३ वर्षीय तिलकबहादुर मल्लले जिल्लामा ‘इटालीयन फुजी’ जातको स्याउ फलाउन थालेका छन् । जिल्लामा स्थानीय प्रजातिका स्याउ उत्पादन हुने गरे पनि उनले इटालीयन जातको स्याउ साढे ३ वर्षअघि रोपेका थिए ।

मुगुमा इटालियन स्याउ

यस वर्षदेखि बोटमा दाना लागेको मल्लले जानकारी दिए । उनले २०७३ मा २५ सय बोट इटालीयन जातका स्याउ रोपेका थिए । स्याउले यस वर्ष फल दिन सुरु गरेपछि बजारमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री गर्ने उनको योजना छ ।


परीक्षणका रुपमा लगाइएका स्याउले यस वर्ष राम्रो उत्पादन दिने देखिएको मल्लले जनाए । सानो बोटमा समेत लटरम्म स्याउका दाना लागेपछि अर्को वर्षदेखि बगैंचाको क्षेत्रफल बढाउने सोचमा रहेको मल्लले सुनाए ।


उनको बारीमा इटालीयन जातको स्याउ फल्न थालेपछि अन्य किसानसमेत अवलोकनका लागि आउन थालेका छन् । ‘बारीलाई इटालीयन जातका स्याउमय बनाउने र बगैचालाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘परीक्षणकै लागि ल्याइएका स्याउले यस वर्षदेखि नै राम्रो उत्पादन दिन थालेपछि उत्साही बनाएको छ ।’


छायाँनाथरारा नगरपालिका ३, स्थित रारा बहुमुखी क्याम्पस माथिको करिव ३२ रोपनी जग्गामा उनको स्याउ बगैचा छ । जग्गालाई वरिवरि घेरबार गरी २ हजार १ सय विरुवा रोपेको उनले जानकारी दिए । उनको बगैचामा अंगुर, रिठ्ठा, टिमुर, स्याउ, आरु, कागती, तेजपत्ता, धुपी, अमलिसो, स्टेबरी, भूई स्याउलगायत विरुवासमेत रोपिएका छन् ।


बारीको टिमुर र भुइँ स्याउले पनि उत्पादन दिन सुरु गरेको उनी बताउँछन् । बगैचामै सयपत्री, सूर्यमुखीलगायत विभिन्न बेमौसमी फूल लगाइएको मल्लको भनाइ छ । ‘सुक्खा क्षेत्रलाई हरियाली बनाउने योजनामा छु,’ उनले भने, ‘क्याम्पस नजिकैको क्षेत्र भएकाले दैनिकजसो विद्यार्थी बगैचा अबलोकनका लागि आउने गरेका छन् ।’ पुरै बारीलाई हरित क्षेत्र बनाउन जुटिरहेको मल्लले जानकारी दिए ।


उनकी पत्नी सञ्चौरासमेत दिनभर बारीमा खटिने गरेकी छिन् । गोडमेल, विरुवा काटछाँटलगायत कामले दिनभर बारीमै व्यस्त हुने गरेको मल्लले बताइन् । उनका अनुसार बगैचामै यस वर्ष ३ क्विन्टल प्याज र ३ क्विन्टल लसुन उत्पादन भएको छ । सिँचाइ अभावले खेतीमा केही समस्या देखिएको उनले गुनासो गरिन् ।


किसानलाई फलफूलका बेर्ना

सल्यान– कृषि ज्ञान केन्द्रले जिल्लाका १० स्थानीय तहका किसानलाई ४५ हजार फलफूलका बेर्ना वितरण गरेको छ । ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा किसानलाई बेर्ना वितरण गरेको हो ।


केन्द्रका अनुसार १५ हजार आँप, ३० हजार सुन्तला र कागतीका बेर्ना बितरण गरिएको हो । फलफूल खेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदानमा फलफूलका बेर्ना उपलब्ध गराइएको केन्द्र प्रमुख चोपनारायण खनालले बताए ।


‘बेर्ना समूहमा आबद्ध किसानलाई उपलब्ध गराईएको हो,’ उनले भने, ‘जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला र कागती उत्पादन हुने भएकाले बढी वितरण गरिएको हो ।’ यसअघि पनि आँप, लिची, सुन्तला, कागती, हलुवाबेद, ओखर, अनार, किबी, स्याउ र केराका उन्नत जातका बेर्ना कृषि समूहलाई वितरण गरिएको उनको भनाइ छ ।


फलफूल खेतीतर्फ किसान आकर्षित भएकाले बेर्ना वितरण कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । सल्यानका करिब १ हजार घरधुरीमा व्यवसायिक फलफूल खेती भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?