कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्दननाथमा रोजगार मेला

(जुम्ला) — जिल्लामा पहिलोपटक रोजगार मेलाको आयोजना गरिएको छ । बेरोजगारको लगत संकलन गरी उनीहरूलाई रोजगारी दिने उद्देश्यले चन्दननाथ नगरपालिकाले मेला आयोजना गरेको हो ।

रोजगारी तथा रोजगारीका पूर्वाधारबारे खोजी गर्न मेलाले सघाउ पुर्‍याउने नगरपालिकाले जनाएको छ । बेरोजगारको लगत तयार गरी उनीहरूको सीप र क्षमताको पहिचान गर्ने योजनासहित मेलाको गरिएको नगर प्रमुख कान्तिका सेजुवालले बताइन् । उनका अनुसार सीप नहुनेलाई आवश्यक तालिम उपलब्ध गराइ रोजगारी दिने नगरको योजना छ । मेलामा बेरोजगार युवायुवती तथा रोजगारदातासहित झन्डै ५ सय बढीको सहभागिता छ । केही युवालाई तत्काल रोजगारी दिने नगरपालिकाले जनाएको छ ।


बेरोजगारीको अवस्था न्य्नूीकरण गर्न निजी क्षेत्रले गर्दै आएको भूमिकालाई सरकारी स्तरबाट सहयोग हुन जरुरी रहेको जुम्ला उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । ‘मेलामार्फत जिल्लाभित्रै रोजगारीको वातावरण सिर्जना हुने आशा छ,’ उनले भने, ‘विदेश तथा अन्य जिल्लामा गई मजदुरी गर्ने युवालाई स्थानीय स्तरमै रोजगारी दिन मेलाले सहयोग पुर्‍याएको छ ।’


प्रदेश र संघीय सरकारसँग सहकार्य गरी युवालाई विदेश जानबाट रोक्न रोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख सेजुवालको भनाइ छ । मेलाको आयोजनासँगै निजी क्षेत्रसँग सहकार्य गरी युवालाई रोजगारीमा जोड्न सुरु गरिएको उनले जानकारी दिइन् । ‘नगरका बेरोजगारलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन आगामी वर्ष पर्याप्त रकम विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउनेगरी नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं ।’


स्थानीय उद्योग तथा व्यवसायलाई आवश्यक जनशक्ति उपलब्ध गराउन र वेरोजगार युवालाई रोजगारीमा जोड्न मेला उपयोगी भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । ‘स्थानीय युवा रोजगारीको खोजीमा विदेशिनुपर्ने र स्थानीय उद्योगले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ,’ उनले भनिन् । आर्थिक समृद्धिका लागि रोजगार मेलाले धेरै सहयोग पुर्‍याउने जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले बताए ।


‘धेरै युवालाई रोजगारीमा जोड्न मेलाले सहयोग पुर्‍याउने विश्वास छ,’ उनले भने, ‘कृषि, पर्यटन, जलस्रोतको विकाससँगै अरू थुप्रै विकास योजना तथा कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न आवश्यक छ ।’

प्रकाशित : श्रावण १, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?