१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टमाटरमा डढुवाको प्रकोप

सल्यान — अविरल वर्षाले टमाटर खेतीमा डडुवा र ओइलाउने रोगको प्रकोप बढेको छ । रोगकिराको प्रकोप बढेपछि व्यावसायिक तरकारी खेती गर्दै आएका कपुरकोट गाउँपालिकाका झन्डै २ हजार किसान समस्यामा परेका छन् ।

टमाटरमा डढुवाको प्रकोप

कपुरकोटको धनबाङ, रिम, गर्पा र सिनबाङमा व्यावसायिक टमाटर खेती हुने गरेको छ । वर्षा जारी रहेकाले विषादी छर्कनसमेत समस्या भएको किसानको दुखेसो छ । कपुरकोट क्षेत्रका किसानले झन्डै हजार हेक्टरमा टमाटर खेती गरेका थिए । बर्सेनि टमाटरमा फैलने डढुवा रोगको नियन्त्रण गर्न नसक्दा घाटा लाग्दै गएको किसान हेमलाल रोका बताउँछन् । उनका अनुसार ओइलाउने रोगले फल लागेका बोटका हाँगा सुक्दै गएका छन् । डढुवा र ओइलाउने रोगले टमाटरसहित भान्टा र भेडे खुर्सानीमा समस्या देखिएको कृषक गोरख पुन बताउँछन् । उनले २ रोपनी भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । ‘रोगले मेरो मात्रै डेढ लाख रुपैयाँको गोलभेडामा क्षति भयो,’ उनले भने, ‘विषादी वितरणमा स्थानीय सरकारले समेत बेवास्ता गरेको छ ।’


कपुरकोट गाउँपालिकास्थित कृषि शाखाकी कर्मचारी टीका राईले रोग वर्षा या अन्य कुनै कारणले लागेको हो भन्नबारे पत्ता नलागेको बताइन् । धेरै वर्षा हुँदा डढुवा रोग लाग्ने समस्या हुने उनको भनाइ छ । राईका अनुसार कपुरकोट गाउँपालिकाका ४२ समूहमा आबद्ध किसानले व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन् । उनले एक समूहमा २५ देखि ६० किसान आबद्ध रहेको जानकारी दिइन् ।


प्रकाशित : श्रावण १, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?