कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बैंकको सेवाप्रवाह १९ घण्टा

(हुम्ला) — राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाका कर्मचारीले ३ सातायता दैनिक १९ घण्टासम्म काम गर्दै आइरहेका छन् । तर, आवको अन्तिम समय र बैंकमा कर्मचारी अभावका कारण सेवाग्राहीको सास्ती भने हट्न सकेको छैन ।

बैंकको सेवाप्रवाह १९ घण्टा

कारोबार र सेवाग्राही बढेपछि असार दोस्रो साताबाट कर्मचारीले बिहान ५ देखि राति ११ बजेसम्म काम गर्नुपर्ने बाध्यता भएको हो । सदरमुकाम सिमकोटस्थित एकमात्र सरकारी स्वामित्वको बैंक भएकाले भीड बढदै गएपछि सेवाग्राहीलाई सास्ती भएको हो । बिहान ६ देखि लाइनमा बस्दा पनि दिउँसो १ बजेसम्म पालो नआएको सिमकोट ३ की च्याबुटी लामाले गुनासो गरिन् ।


‘योजनाको भुक्तानी लिनै समस्या भयो,’ उनले भनिन्, ‘एक घण्टामा बढीमा १०/१५ जनाको काम हुन्छ, यस्तै हो भने आज काम नहुने देखियो ।’ उनी मात्र होइन, ग्रामीण क्षेत्रबाट योजनाको भुक्तानी लिन आएको उपभोक्ता समितिका पदाधिकारी ३/४ दिनदेखि सदरमुकाममै बसिरहेका छन् ।


वाणिज्य बैंकका प्रबन्धक ठानसिंह विष्टले बैंकमा ४ कर्मचारी मात्र रहेकाले सेवा प्रवाहमा समस्या भएको बताए । ‘असार लागेसँगै सेवाग्राहीको भीड बढेको थियो, सरकारी कामको भुक्तानी दिन समस्या भएपछि १९ घण्टासम्म काम गरिरहेका छौं,’ उनले भने, ‘कर्मचारी अभावसँगै इन्टरनेटको गति कम हुँदा सेवाप्रवाहमा समस्या भएको छ ।’


उनले सबै सरकारी कामको भुक्तानी वाणिज्य बैंकबाट हुने भएकाले कर्मचारीलाई भ्याइनभ्याई भएको जनाए ।

बैंकका कर्मचारी भक्त बोहोराले अहिले दैनिक डेढ करोडसम्म मात्र भुक्तानी दिइरहेको जानकारी दिए । ‘बिहान ५ देखि रातिको १२ बजेसम्म काम गर्न बाध्य छौं,’ उनले भने, ‘तर पनि सेवाग्राहीको चाप थेग्न समस्या भइरहेको छ ।’ उनका अनुसार बिहानदेखि बेलुका ५ बजेसम्म भुक्तानी दिने गरिएको छ । बेलुका ५ बजेपछि दिनभर साटिएका चेकको रकम ‘इन्ट्री’ गर्ने र हिसाब मिलाउने गरिएको उनले जानकारी दिए ।


जिल्लाका अधिकांश उपभोक्ता समितिका पदाधिकारी योजनाको भुक्तानी लिन सदरमुकाम आएका छन् । अध्यापन अनुमति पत्रका लागि रकम जम्मा गर्नेको भीडले समेत काममा ढिलाइ हुने गरेको कर्मचारीको भनाइ छ । बैंकका अनुसार असार सुरु भएसँगै दैनिक ४ सय ५० सम्म सेवाग्राही भुक्तानीका लागि आउने गरेका छन् । सिमकोटका अन्य बैंकमा भने वाणिज्य बैंकजस्तो भीड छैन । कर्मचारी अभाव, पानी परेपछि हुने लोडसेडिङ, इन्टरनेट समस्यालगायत कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

प्रकाशित : श्रावण १, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?