कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जथाभावी सडकले पहिरो

कालीकोटका ३ नगर र ६ गाउँपालिकामा यस वर्ष खनिएका ४३ मध्ये १७ सडकले पहिरोको जोखिम बढाए
तुलाराम पाण्डे

(कालीकोट) — स्थानीय सरकारले जथाभावी निर्माण गरेका अधिकांश सडकका कारण पहिरो खस्ने समस्या बढदै गएको छ । स्थानीय तहमा टोल-टोलमा सडक पुर्‍याउन डोजरमार्फत खनिएका अधिकांश सडकले पहिरो निम्त्याएको हो ।
‘पहिरो त पहिले पनि जान्थ्यो,’ सान्नीत्रिवेणी १, का नमराज सुवेदीले भने, ‘यस वर्ष डोजरले खनेका सडकको बेहाल छ, जताततै पहिरो गएर पैदल हिँड्न पनि कठिनाइ भयो ।’

जथाभावी सडकले पहिरो

उनका अनुसार सान्नीत्रिवेणी गाउँपालिकाले रकु, मेहेलमुडी र मुम्रालाई कर्णाली करिडोरसँग जोड्न रेगिंल-लुसा, रेगिंल-रकु र सान्नीगाड-मेहेलमुडी शाखा सडक खनेको छ । आसपासका क्षेत्रमा पहिरो खस्ने क्रम बढेको उनी बताउँछन् ।


गाउँपालिका अध्यक्ष डिबी शाहीले यस वर्ष मात्र सडक निर्माणमा ५ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । जिल्लाका ३ नगर र ६ गाउँपालिकामा यस वर्ष खनिएका ४३ सडकमध्ये १७ सडकले पहिरोको जोखिम बढाएका छन् । वर्षाले माटो गलाएकाले पहिरो गएको शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताइन् । उनका अनुसार सेरिघाटदेखि भर्ता जोड्न बनाइएको सडक भत्किएको छ भने सडक भत्किएपछि डोजर भीरमा अडकएको छ ।


वातावरणीय स्वमूल्यांकनबिना डोजरबाट खनिएका सडकबाट बगाएको ढुंगामाटोले कर्णाली राजमार्ग सुर्खेत(जुम्ला सडक र कर्णाली करिडोर खुलालु(लैफु हुम्ला सडक बिगारेरको छ । रारा-कर्णाली यातायात समिति अध्यक्ष हस्त बमले शाखा सडकबाट बगेको ढुंगा, माटो र पहिरोले कर्णाली राजमार्ग हिलाम्मे हुने गरेको बताए । स्थानीय सरकारले खनेका सडकले ठाउँ-ठाउँमा पिच सडक बिगारेको चालकको गुनासो छ ।


‘स्थानीय सरकारले सडक बिगारे,’ बस चालक निर्मल सुनारले गुनासो पोखे, ‘सडकमा पहिरो खस्दा २/३ दिन बाटो अवरुद्ध हुने गरेको छ ।’ जताततै डोजर लगाएर सडक खन्दा गाडी चल्नेभन्दा पैसा सक्ने काम बढी भएको उनको आरोप छ । स्थानीय तहले खनेका सडकले कर्णाली राजमार्गमा पर्ने दैलेखका मैनीखोला, सियाला, पाली, सांगेताडा, राकमलगायत ठाउँमा सडक विग्रिएको छ । कालीकोटको खाडाचक्र नगरपालिकाले खनेका मेग्र, ताडी, राताडाब, पिली, तिलागुफा नगरपालिकाको बाली, भैसे गौडा, राचुलीलगायत खण्डमा माथिबाट आएको ढुंगा, माटोले सडक बिग्रिएको छ ।


कतिपय ठाउँका फलामे सेफ्टी बार पनि भाँचिएका छन् । जुबिथा हरिचौर हुँदै छाप्रे पुग्ने सडकमा पानी परेलगतै खसेको ढुंगा माटो बगेर कर्णाली राजमार्गको जुबिथा गाल्जेदेखि भैंसेगोडासम्मको सडक २ दिन अवरुद्ध भयो । सडक अवरुद्ध हुँदा रारा जान हिँडेका सय बढी पर्यटक अलपत्र परेका थिए ।


डोजरमार्फत खनिएको लालीघाट(कोटवाडा, रकु(लुसा, आमतडा(रकु, माने(लुयाटा, स्युना(फुकोट, भुराबगर(कोटिलालगायत शाखा सडकले कर्णाली करिडोरमा असर परेको छ । कर्णाली करिडोर निर्माणधीन भएकाले पक्की संरचना नभए पनि कर्णाली राजमार्ग सुर्खेत(जुम्ला ओटासिल कालोपत्रे सडक स्थानीय शाखा सडकले पुरै बिगारेको छ । स्थानीय तहलाई सडक नबिगारेर वातावरणीय पक्ष ध्यान राखी खन्न अनुरोध गर्दा उल्टै धम्की दिने गरेको सडक डिभिजन कार्यालय जुम्लाका एक इन्जिनियर बताउँछन् । कर्णाली राजमार्ग बिगारेको ठाउँमा बनाइदिन स्थानीय तहका सरकारलाई पत्राचार गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लाका स्थानीय तहले गत वर्ष मात्र सडक निर्माणमा ५० करोड रुपैयाँभन्दा बढी खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।


यस वर्ष पनि त्यही हाराहारीको रकम विनियोजन भएको छ ।

प्रकाशित : श्रावण १, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?