१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नीति तथा कार्यक्रम घोषणामै सीमित

राजबहादुर शाही

मुगु — छायाँनाथरारा नगरपालिकाले गत आर्थिक वर्षमा नीति तथा कार्यक्रममा समाबेश गरेका अधिकांश कार्यक्रम घोषणामै सीमित भएका छन् । बढी महत्वाकांक्षी कार्यक्रम समावेश गर्दा कार्यान्वयनमा समस्या देखिएको हो । 

छायाँनाथरारामा वडाध्यक्षको विरोधका कारण नगरसभा ढिलोगरी भएको हो । वडाध्यक्षले सबै वडामा समान रुपले बजेट विनियोजन गरिनुपर्ने भन्दै यसअघि नगरसभा वहिष्कार गरेका थिए ।


सोमबार नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा पनि गत वर्षजस्तै केही महत्वाकांक्षी योजना अघि सारिएको छ । गत वर्ष पुरा नभएका कार्यक्रमलाई फेरि कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रममा समाबेश गरेपछि बजेट कार्यान्वयनमा थप चुनौती देखिएको छ । गत वर्ष घोषणा गरिएको ‘नमस्ते रारा’, ‘रारा जाऔं अभियान’ ‘एक छोरी एक खाता’, ‘नगर प्रमुख रोजगार’, ‘गरिबसँग नगर प्रमुख कार्यक्रम’, ‘दुई सन्तान’ लगायत कार्यक्रम कार्यान्वयन हुन सकेनन् । यस वर्ष पनि ती कार्यक्रम समाबेश गरिएको छ ।


चालु आर्थिक वर्षका लागि नगर प्रमुख रोजगार कार्यक्रममा १ करोड, गरिबसँग नगर प्रमुख कार्यक्रममा ५० लाख, कवर्ड हल तथा खेल मैदान निर्माणमा ७० लाख, एक छोरी एक खाताअन्तर्गत ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी सबै कार्यक्रम गत वर्ष पनि घोषणा गरिएको थियो । त्यस्तै भ्यू टावर तथा पार्क निर्माणमा ५१ लाख बजेट विनियोजन गरिएको छ ।


यस वर्ष करिव ७५ प्रतिशत योजना टुक्रे बनाइएको छ । गत वर्षकै अधिकांश कार्यक्रम अलपत्र परेपछि नगरले विभिन्न योजनामा ३० हजारदेखि १ करोड रुपैयाँ विनियोजन गरेको छ । यस वर्षको नीति तथा कार्यक्रममा ‘एक गाउँ एक सडक’, ‘हिलोमुक्त गाउँ’, ‘उच्च शिक्षा अभियान’ लगायतका महत्वाकांक्षी कार्यक्रम समावेश गरेको छ । नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै प्रमुख हरिजंग शाहीले यो वर्ष ‘महिलासँग उप प्रमुख’ कार्यक्रम पनि थप गरिएको जानकारी दिए । कार्यक्रममा महिला शसक्तिकरण, हिंसा न्यूनीकरण, क्षमता अभिबृद्धिलगायत योजना समाबेश गरिएको छ ।


नगरले लोकप्रिय हुने नाममा केही कार्यक्रम तयारी बिना ल्याएकाले कार्यान्वयनमा चुनौती देखिएको वडा नं ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताए । ‘स्थानीयको आवश्कतालाई वेबास्ता गरी कार्यक्रम ल्याइदा गत वर्ष पनि केही कार्यक्रम कार्यान्वयन हुन सकेनन्,’ उनले भने, ‘हामीले यसबारे ध्यानाकर्षण पनि गराएका हौं तर वास्ता नगरी नीति तथा कार्यक्रममा महत्वाकांक्षी कार्यक्रम ल्याइयो ।’


विगत वर्षका टुक्रे कार्यक्रमलाई यस वर्ष प्राथमिता नदिएको नगर प्रमुख शाहीले दावी गरे । यस वर्ष नगर सभामार्फत केही नगर गौरवका योजनासहित ३१ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको उनले जानकारी दिए । उनका अनुसार १४ वडामा ४५ लाख रुपैयाँका दरले भागबन्डा गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?