बाटौमै सुत्केरी

स्वास्थ्य एकाई स्थापना गरिए पनि भौतिक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण नहुँदा गाउँमै प्रसूति गराउन कठिन 
तुलाराम पाण्डे

कालिकोट — खाँडाचक्र ११, बदालकोटकी १८ वर्षीया कमला दर्जीलाई गत शुक्रबार बेलुकी ३ बजे सुत्केरी व्यथाले च्याप्यो । दिन घर्किएकाले ३ घण्टा टाढाको जिल्ला अस्पतालमा सुत्केरी गराउन लैजान छिमेकीले स्टेचर खोजी गरे । स्ट्रेचर खोज्दै अबेर भएपछि उनले ७ बजे घरमै छोरी जन्माइन् । 

बाटौमै सुत्केरी

राति अत्यधिक रक्तश्राव भएपछि गाउँबाट आधा घण्टा टाढा रेगिंलमा बस्ने अनमी यमुना शाहीलाई आफन्तले बोलाए । उनी राति आएर ‘इन्जेक्सन’ दिएपछि रक्तश्राव रोकियो र उनको ज्यान बच्यो । ‘अस्पताल पुर्‍याउनै कठिन छ,’ खाडाचक्र नगरपालिकाले करार सेवा नियुक्त गरेकी अनमी शाहीले भनिन् ‘न सडक छ, न गाउमा सेवा सुविधा छ, गर्भवती महिलालाई धेरै समस्या छ ।’


गत चैत्रमा एसइई दिएकी कमलाले १६ वर्षकै उमेरमा भागी विवाह गरेकी थिइन् । जिल्ला अस्पताल आउने बाटो अप्ठेरो र टाढा भएकाले अस्पताल लैजाने मन भए पनि नसकिएको पति अनुरुपले बताए । स्थानीयलाई प्राथमिक उपचार गर्न स्वास्थ्य इकाई स्थापना गरिए पनि भौतिक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण नहुँदा गाउँमै प्रसूति गराउन कठिनाइ छ । स्वास्थ्य इकाई भवनको लागि बल्ल टेण्डर भएको वडाध्यक्ष पुष्पराज गिरीले बताए ।


‘गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउनै कठिन छ,’ उनले भने, ‘अस्पताल टाढा भएकाले कतिपय महिलाले त बाटौमै बच्चा जन्माउने गरेका छन् ।’ शुभकालिका १ छातीकी २० वर्षीया विमला सुनारलाई असार पहिलो साता प्रसूति व्यथा लाग्यो । स्वास्थ्य संस्था टाढा भएकाले स्वास्थ्य संस्था लिन आफन्तले वास्ता गरेनन् । ३ दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँका ६ जना युवाले बोकेर भर्तास्थित स्वास्थ्य संस्था लैजान स्टेचरमा बोके ।


घरबाट २ घण्टा टाढाको बाटोमा पर्ने ओखाडामा उनले छोरा जन्माइन् । स्वास्थ्य संस्था टाढा भएकाले प्रसूति गराउन बोकेर लैजानुपर्ने र हिड्न सक्नेलाई हिडाउँदा पनि बाटोमै असुरक्षित बच्चा जन्माउनुपर्ने बाध्यता रहेको स्थानीय अगुवा जवानसिंह सुनारले बताए ।


दुई साताअघि तिलागुफा ७ छाप्रे माथिवाडाकी २३ वर्षीया एक महिलाले सुत्केरी हुन जाने क्रममा बाटोमै बच्चा जन्माएकी थिइन् । स्वास्थ्य संस्था टाढा हुनु, सडकको पहुँच नहुनु, सडक भए पनि गाडी उपलब्ध नहुनु, अन्तिम अवस्थामा स्वास्थ्य संस्था लैजाने र जाने गर्नुलगायत कारण महिलाले बाटोमै बच्चा जन्माउने गरेका छन् ।


गाउँबाट जिल्ला अस्पताल मान्म पुग्न ३ घण्टा पैदल हिड्नुपर्ने बाध्ययता रहेको खाडाचक्र ४, दलित टोलका अधिकांश महिलाहरूले बाटोमै बच्चा जन्माउने गरेको अधिकारकर्मी बाले विश्वकर्माले बताए । उनका अनुसार एक वर्षमा ताडी दलित टोलका ५ जना महिलाले बाटोमा बच्चा जन्माएका छन् ।


खाडाचक्र ४ की ३८ वर्षीया मीमकोशा विश्वकर्मा, ३३ वर्षीया पवित्रा विक, अम्मिाका विक, व्योति विक, विष्ना विकले ताडीको उकालोमै बच्चा जन्माएका थिए । २५ वर्षीया विष्ना विश्वकर्माको बच्चा पनि बाटैमा जन्मिएको थियो । प्रसूति टाढा भएका खाडाचक्र ११ बदालकोट, वडा नं २ पोरिपाल्नी, वडा नं ४ ताडी बद्रिगाउ, वडा नं ७ पिली र वडा नं १० पाखाको चौकी गाउँका महिला बाटोमा बच्चा जन्माउन बाध्य छन् ।


त्यसैगरी, नरहरिनाथको लालु साझपानी, माल्कोट, दुदुल्ली र उत्छव, भाटगाउ, सान्नीत्रिवेणीको लुयाटा, पचालझरनाको खार्दु, बाझकोट, बोलुगाउका महिला पनि प्रसूति सेवाबाट बञ्चित छन् । खीनको जाफे, शुभकालिकाको छाती, सुकाटियाको हाउडी, महाबैको गेला, औल, गेला बस्ती पनि स्वास्थ्य संस्थाबाट टाढा छन् ।


स्थानीय सरकारले वडामा सामुदायिक स्वास्थ्य इकाइ राखे पनि भौतिक पूर्वाधारको कमी, दक्ष जनशक्ति र उपकरणको अभावले प्रसूति गृह स्थापना गर्न नसकिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख कटक महतले बताए । प्रायः बाटोमा बच्चा जन्माए पनि सरकारले दिने सुविधा पाउने र खोप लगाउनुपर्ने भएकाले बाटोमै बच्चा जन्माउनेको रेकर्ड स्वास्थ्य संस्थामा भेटिदैन ।


‘सुविधा लिएपछि बाटोमा जन्मिएको भन्न मिल्दैन,’ खाडाचक्रका नगर स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले भने ‘अन्तिम अवस्थामा स्वास्थ्य संस्था लैजाने गरिएकाले त्यस्तो समस्या आएको हो ।’ घरमा हुने सुत्केरी दर कम गर्न र ४ पटक गर्भजाँच गर्न प्रोत्साहित गर्नेगरी पोषिलो पिठो र आयोडिनयुक्त नून वितरण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । स्वास्थ्य संस्था टाढा रहेका गाउँवस्तीलाई लक्षित गरी यस वर्ष खाडाचक्रका ७ वडामा भवन निर्माण सुरु गरिएको उनको भनाइ छ ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष सुत्केरी हुन नसक्दा धौलागोह, फूकोट, स्युना, चिल्खाया, दाहाका ६ जना महिलाले ज्यान गुमाएका थिए । खाडाचक्रको पछिल्लो तथ्यांकअनुसार २४ प्रतिशत महिलाले अझै घरमै बच्चा जन्माउने गरेका छन् । मापदण्डअनुसार ४ पटक गर्भजाँच गराउने महिला ३२ प्रतिशत मात्र छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?