मन्दिरलाई बजेट, क्याम्पसलाई उपेक्षा

राजबहादुर शाही

(मुगु) — छायानाथ–रारा नगरपालिकाले रारा बहुमुखी क्याम्पसका लागि गत र चालु आवमा १ रुपैयाँ पनि विनियोजन गरेन । तर, गत आवमा छायानाथ ठाकुरीज्यूको मन्दिरमा ३८ लाखसहित अन्य मठ–मन्दिर र लिंगो निर्माणमा करिब ५० लाख रुपैयाँ खर्च गरेको छ ।

मन्दिरलाई बजेट, क्याम्पसलाई उपेक्षा

सोरु गाउँपालिका ६, मा दुई आवमा एक दर्जन देवीदेवताका मन्दिर बने । ती मन्दिरका लागि डेढदेखि ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।


यी दुई उदाहरण मात्र हुन्, जिल्लाका ४ वटै स्थानीय तहले शैक्षिक संस्थाको पूर्वाधार विकासमा बेवास्ता गर्दै साना मन्दिर निर्माणका लाखौं रुपैयाँ खर्च गरेका छन् । यस वर्षसमेत मन्दिर निर्माणमा प्राथमिकता दिइएको छ ।


छायानाथ–रारामा चालु आवमा मन्दिर निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक अभाव भोग्दै आएका क्याम्पस र शैक्षिक संस्थालाई अपेक्षा गरी स्थानीय सरकारले सामान्य मठ मन्दिरमा रकम विनियोजन गरेका हुन् । गत वर्ष एउटा मठ मन्दिर निर्माणमा डेढदेखि ३ लाखसम्म खर्च गरिएको सोरु गाउँपालिका ६ का वडाध्यक्ष मनप्रसाद भट्टले बताए । उनको वडामा एक दर्जन मन्दिरको निर्माण सकिएको छ । स्थानीय तहले बढी महत्वका मठ मन्दिर होइन, पूजापाठ नै नहुने मइयू, भाडुलगायत धार्मिक संस्थाका नाममा रकम विनियोजन गरेका हुन् । नगरपालिकासहित सोरु र खत्याड गाउँपालिकामा दुई आवमा ३ दर्जन बढी मठमन्दिर निर्माण भएका छन् । मुगमकार्मारोङ गाउँपालिकामा गुम्बा निर्माणमा गत आवमा २५ लाख रुपैयाँ खर्च भएको छ ।


रारा बहुमुखी क्याम्पस नजिकैका कार्कीबाडा, ढुम, भामबाडा, तलितुमलगायत बस्तीमा स्थानीय तह गठनपछि मात्रै १८ मन्दिर बनेका बनेको स्थानीयको भनाइ छ । जिल्लाको सबैभन्दा पुरानो र सबै स्थानीय तहका विद्यार्थीले अध्ययन गर्ने रारा बहुमुखी क्याम्पसले भने लामो समयदेखि आर्थिक संकट खेप्दै आइरहेको छ । क्याम्पस अधिकांश आधारभूत पूर्वाधारविहीन छ । ‘हामीले पटकपटक क्याम्पसको विकासका लागि बजेट माग्यौं, तर बेवास्ता भयो,’ रारा बहुमुखी क्याम्पसका शिक्षा सहायक हीरा बोहोराले भने, ‘देवीदेवताका मन्दिरलाई बर्सेनि लाखौं बजेट विनियोजन भइरहेको छ ।’ उनले पूर्वाधार अभावले क्याम्पसको पठनपाठन गुणस्तरीय नभएको बताए ।


गत वर्ष विभिन्न मन्दिरमा लाग्ने मेला र पूजापाठको वृत्तचित्र निर्माणमा सबै स्थानीय तहले ३ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याएका थिए । जिल्लामा गत वर्ष स्थानीय तहले १ अर्ब ५० करोड रुपैयाँ खर्चिएका थिए । २०६४ मा स्थापना भएको क्याम्पस भर्खरै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक बनेको छ । तर पूर्वाधार अभावले पठनपाठन र प्रशासनिक काममा समस्या भइरहेको प्राध्यापक तथा कर्मचारीको गुनासो छ ।


क्याम्पसप्रति स्थानीय सरकारको दृष्टिकोण सकारात्मक बन्न नसकेको छायानाथ–रारा नगरपालिका ५ का वडाध्यक्ष एवं पूर्व क्याम्पस प्रमुख डम्बर रावलले बताए । जिल्लाभरका विद्यार्थीले अध्ययन गर्ने भएकाले सबै स्थानीय तहले रारा क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । क्याम्पसमा यस वर्ष डेढ सय विद्यार्थी अध्ययनरत छन् । यहाँ शौचालय एउटा मात्रै छ । शौच गर्न पालो कुर्नुपर्ने विद्यार्थीको बाध्यता छ । कक्षाकोठा पनि सीमित छन् । पालैपालो शिक्षा तथा मानविकी शास्त्रको पढाइ भइरहेको क्याम्पस प्रमुख सुशीलकुमार भाम बताउँछन् । उनका अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट बजेट निकासा हुन ढिलाइ भएकाले आर्थिक समस्या छ ।


क्याम्पसको आन्तरिक स्रोत नहुँदा कर्मचारीले ४ महिनादेखि तलब नपाएको उनले बताए । क्याम्पसमा पुस्तकालयसमेत छैन । ‘भवन जीर्ण बन्दै छन्, मर्मत गर्ने रकम छैन,’ उनले भने, ‘घेरबार नहुँदा पशुचौपाया पस्ने गरेका छन् ।’

खत्याड गाउँपालिकाले पनि रातापानीमा रहेको क्याम्पसका लागि पर्याप्त रकम विनियोजन गर्न सकेको छैन । चालु आवको सबै बजेट वडामै भागबन्डा गरिएकाले क्याम्पसको विकासका लागि समस्या भएको नगर उपप्रमुख सुन्तला रोकाया बताउँछिन् ।


प्रकाशित : श्रावण ३, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?