१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

संकटमा स्यार्पुताल

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३, का जोखु खत्रीले स्यार्पुताल नजिकै ८४ वर्ष गुजारिसकेका छन् । यो उमेरसम्म उनले स्यार्पुतालको अनेक आकार देख्न भ्याए । ताल फुट्ने, चारैतिरबाट पुरिने तथा गहिराइ पनि घटिरहेको उनले देखिरहेका छन् । मानवीय गतिविधि बढ्दै गएपछि स्यार्पुताल संकटमा परेको बताउँछन् खत्री ।

‘पछिल्लो समय ताल मासिने खतरा बढ्दै छ,’ उनले भने, ‘मान्छेको लोभपापले स्यार्पु नरहने पो हो की भन्ने लाग्दैछ ।’ उनले थाहा पाएदेखि ०२२ भदौ ११ मा पहिलो पटक स्यार्पुतालबाट बाहिरिने पानीको बहावले बाटो बदलेको थियो ।


०२२ मा तालकै सतहको गहिराइबाट तालको पानी छिर्ने गरेको थियो । तालको मुहानतर्फबाट झरेको पहिरो तालमा खसेपछि गहिराइका छिद्र पुरिँदा एकाछेउबाट ताल पोखिन थाल्यो । त्यसयता तालको पश्चिम दक्षिणबाट पानी ढोलिने क्रम कायमै छ । तालको मुहान क्षेत्रमा पर्ने सानीबोद्ले जलाधार क्षेत्रबाट झरेको पहिरो बाढीको रूपमा स्यार्पुतालमा पस्नु ताल संकटमा पर्नुको मुख्य कारण भएको उनको ठहर छ ।


पहिलो पटक पहिरो आएर ताल पुरेको ३८ वर्षपछि अर्को ठूलो पहिरो बाढीको रुपमा स्यार्पुतालमा पस्यो । ०६० साउन ३२ मा स्यार्पुताल नजिक खारखोलाको मानव बस्तीसमेत बगाउने गरी आएको पहिरोले स्यार्पुताललाई थप संकटमा पार्‍यो । उक्त बाढी पहिरोले स्यार्पुतालसँगैको बाँफिकोट ५, खारखोलाका ३२ घर परिवारको उठिबास लगाएको थियो । ४ जनाको समेत गएको थियो । सोही बाढी स्यार्पुतालमा पसेपछि ढोलिएको तालको पानीले बाँफिकोट गाउँपालिका ३, डार्नेका २० घर बगाउनुका साथै ४० घर परिवारको धान सहितको खेत सोतर बनेको थियो ।


त्यही वर्ष आएको पहिरोका कारण मुहानतर्फको तालको अनुमानित ५ सय मिटर लम्बाइ र त्यति नै मिटर चौडाइको भू–भाग बगरमा परिनण भएको छ । स्यार्पुताललाई संकट बनाउने अन्य साना साना पहिरा त वर्षैपच्छै झरिरहेका छन् । ‘उतिबेला जेठ/असारमा ताल गहिराइमा हुँदा हामी तालको बीचबाटै हिँडेर वारपार गर्थ्यौं,’ स्यार्पुका ७४ वर्षीय भीमु दाहालले भने, ‘०२२ पछि त्यो सबै कता हरायो कता ताल पुरिएपछि माथिको भाग ओगटेर ताल बसेको छ ।’


जनसंख्या बृद्धिसँगै स्यार्पुताल माथितिरको वन फडानी, अव्यवस्थित चरीचरन, जथाभावी आगजनी हरेक वर्ष ताल पुरिँदै जानुका मुख्य कारण भएको उनको ठहर छ । हिउँदभर काटिएका रुख, गरिएको आगजनी र छाडा छाडिएका बस्तुभाउले टेकेको जमिन वर्षायाम भर ससाना पहिरोका रूपमा झर्ने र जसको कारण स्यार्पुताल पुरिनै जाने क्रम बढ्दै गएको दाहाल सुनाउँछन् ।


ताल वरपर गर्न खोजिएको व्यक्तिगत र सामूहिक विकासले पनि ताल खुम्चदै गएको उनले जनाए । ‘तालको डिलडिलमा धमाधम घरघडेरी निर्माण भइरहेका छन्,’ दाहालले थपे, ‘जसबाट आएको सम्पूर्ण माटोढुंगो तालमै फाल्दा वर्षेनि ताल खुम्चिने क्रमलाई त्यसले पनि बल मिलिरहेको छ ।’


स्यार्पुतालको मुहानतर्फका जलाधार क्षेत्रहरू डम्माना, धजा हाल्ने, थुमलेक, समइजा, सेता पहिरा, बोद्ले, निगालपानी, कालाचुला,स्युवाङ, सिमलेक, ओख्रेन, सिमपात्ला, नेटीलेक, बुकी ओडारलगायत ठाउँमा मानवीय गतिविधि रोक्नसके ताल पुरिने अवस्था न्यून गर्न सकिने संरक्षणकर्मी बताउँछन् ।


स्थानीयले स्यार्पुताल वरपर निर्माण गरिएको चक्रपथ ताल संकटमा पर्नुको अर्को कारण मानेका छन् । झण्डै ६ वर्षसम्म वर्षैपिच्छे डोजरमार्फत खनिएको चक्रपथको कारण पनि स्यार्पुताल संकटको अवस्थामा पुगेको हो । डोजरमार्फत तालको वरिपरि ५ किलोमिटर चक्रपथ खनिएको छ ।


स्थानीय शिक्षक शेरवीर दाहालले तालकै विकासका लागि चक्रपथ निर्माण गर्ने उद्देश्य राखिए पनि त्यसले कतै न कतै ताललाई संकटमा धकेल्न मद्दत गरिरहेको बताए । जिल्ला भूसंरक्षण कार्यालयको अगुवाइमा २०६८ सालमा निर्माण गरिएको गुरुयोजना अनुसार काम हुन नसकेको जिल्ला पर्यटन विकास समितिका पूर्वसदस्य गोपाल केसीले बताए ।


स्थानीय सरकारको चासो छैन

संकटमा परेको स्यार्पुतालमा स्थानीय सरकारको चासो छैन । बाँफिकोट गाउँपालिकाले २ आर्थिक वर्षको बजेट कार्यान्वन गरिसक्यो तर, जनप्रतिनिधिले भने गाउँपालिका कार्यालय भन्दा झण्डै डेढ किलोमिटरको दूरीमा रहेको स्यार्पुताल देखेको नदेखे झैं गरिरहेका छन् । स्यार्पुतालको संरक्षणका लागि स्थानीय सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन गरेको छैन ।


स्यार्पुतालको प्रचारप्रसार भनेर पर्यटन महोत्सवसम्म गर्न भ्याएको स्थानीय सरकारले स्यार्पुतालको संरक्षणमा भने बजेट छुट्याएको छैन । ‘नजिक सरकार आयो, स्यार्पुताल संरक्षणमा विशेष ध्यान दिन्छ होला भन्ने लागेको थियो,’ स्थानीय संगम देवकोटाले भने, ‘तर स्थानीय सरकारले झन स्यार्पुताल नदेखे झैं गरेको छ । स्यार्पुताल संरक्षणलगायत अन्य कार्यक्रम गरेर तालबाट पर्याप्त आम्दानी गर्न सकिने उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?