१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सभामुखलाई जनताको प्रश्न

वीरेन्द्रनगर — ‘सभामुख स्वतन्त्र हुन्छ कि कुनै पार्टी वा सरकारको छायामा हुन्छ ?’ जनज्योति माविमा अध्ययनरत विद्यार्थी भावना मर्स्याङीले प्रश्न गरिन् ।

बराहताल गाउँपालिकाको बड्डीचौरमा जनतासँग सभामुख कार्यक्रममा उनले यस्तो प्रश्न गरिरहँदा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही मुसुक्क हाँसे । जवाफमा सभामुख शाहीले आफूले पार्टीबाट राजीनामा दिइसकेको बताए ।


‘सभामुख तटस्थ हुनुपर्ने भएकाले मैले पार्टीबाट राजीनामा दिइसकेको छु,’ तत्कालीन नेकपा एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित भएका शाहीले भने, ‘प्रदेशसभामा सरकार र कुनै पार्टीको छाया पर्न दिएको छैन ।’ बराहताल ५ की प्रतिभा मर्स्याङी मगरले बाढीले घरबार बगाएपछि ५ वर्षदेखि पालमुनि जीवन बिताउन बाध्य बाढीपीडितको घरबास कहिले बन्छ ? भनेर प्रश्न गरिन् ।


‘सभामुखज्यू, आएको राहत पनि स्थानीय तहमा रोकिएको छ,’ उनले भनिन्, ‘लालपूर्जाविहीन अवस्थामा रातो लालपुर्जा देखाउन भन्छ अब हामीले लालपूर्जा कहाँबाट ल्याउने ?’ सभामुख शाहीले बाढीपीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न प्रदेशसभाले सरकारलाई निर्देशन दिएको बताए । चाँडै आवश्यक नीति बनाएर समस्या समाधान गर्ने आश्वासन पनि उनले दिए ।


जनज्योति माविका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले ३० वर्षअघिदेखि यहाँका बस्ती लालपूर्जाविहीन अवस्थामा रहेको सुनाए । ‘यहाँका नागरिक घरजग्गा भएर पनि पुर्जाविहीन हुनुपरेको छ, यसका लागि कानुन बन्नुपर्छ,’ उनले भने, ‘बैंकिङ कारोबार गर्न नसक्दा आर्थिक समस्या भोग्नुपरिरहेको छ ।’


सभामुख शाहीले जिल्लामा लालपुर्जाविहीन धेरै बस्ती रहेको भन्दै यसतर्फ सरकारलाई दबाब दिने काम प्रदेशसभाले गर्ने प्रतिवद्धता जनाए । कानुन बनाएर अघि बढ्नुपर्ने भए पनि यसमा सरकार लाग्ने उनको भनाइ थियो । बराहताल गाउँपालिका ८ की खगिसरा बास्तोलाले कर्णाली प्रदेशमा छाउपडी प्रथा अन्त्य गर्न प्रदेशसभाले कस्तो कानुन बनाउँदै छ ? भनेर प्रश्न गरिन् ।


उनको प्रश्नको सम्बोधन गर्दै सभामुख शाहीले सरोकारवाला मन्त्रालयमार्फत छाउपडीलगायत महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुन बनाउन समन्वय गर्ने बताए । कार्यक्रमका सहभागीले कानुन बन्ने तर, कार्यान्वयन नहुनेतर्फ पनि सभामुख शाहीको ध्यानाकर्षण गराए ।


अर्का सहभागी ताराकेशर गौतमले जनसरोकारका विषयमा कानुन बन्ने भन्दै कानुन निर्माणमा जनतालाई जोड्न आग्रह गरे । सभामुख शाहीले सबैखाले समस्या समाधान गर्न आवश्यक कानुन निर्माणका लागि प्रदेश सभामा आफूले नेतृत्व गरिरहेको बताए । ‘जनताका समस्या धेरै छन्,’ उनले भने, ‘सबै समस्या समाधान गर्न आवश्यक कानुन बनाउँदै जानेछौँ ।’ कतिपय कानुन निर्माण भए पनि कार्यान्वयनको अभावमा समस्या भइरहेको उनले उल्लेख गरे ।


कर्णाली प्रदेशसभाले हालसम्म २२ कानुन निर्माण गरेको सभामुख शाहीले जनाए । उनले ४ कानुन निर्माणको प्रक्रियामा रहेको भन्दै चाँडै ती पनि पारित हुने बताए ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?