२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शिक्षणसँगै बाख्रापालन

सल्यान — कालीमाटी गाउँपालिकाको दम्दवालीका ३७ वर्षीय सुरेश गाहा मगर पेसाले शिक्षक हुन् । ९ वर्षदेखि जनता माविमा पठनपाठन गराइरहेका उनी शिक्षणसँगै व्यवसायिक बाख्रापालन र घाँस खेतीमा रमाइरहेका छन् । 

शिक्षणसँगै बाख्रापालन

दिउँसो विद्यालयमा व्यस्त रहने गाहा बिहान–बेलुकी र बिदाको दिन बाख्रा फार्ममै व्यस्त रहन्छन् । ९ बाख्राबाट व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले १ सय २० स्थानीय र उन्नत जातका खसीबोका छन् । ३० रोपनीमा उन्नत जातका सुपर नेपियर, पासपालम, मुलाटोलगायत घाँस खेती गरिरहेको उनी बताउँछन् ।


बाख्रा र खसीबोका बिक्रीबाट वार्षिक ५ लाख रुपैयाँ कमाउने गरेको उनले जानकारी दिए । उनले एक वर्षको अवधिमा घाँसबाट ७ लाख रुपैयाँ आम्दानी गरेको सुनाए । फार्मबाटै १६ देखि ३६ हजार रुपैयाँसम्ममा बाख्रा बिक्री भइरहेको उनको भनाइ छ । गत वर्ष उनले ४५ खसीबोका बिक्री गरे ।


पछिल्लो समय घाँसबाट समेत राम्रो आम्दानी भइरहेको गाहाको भनाइ छ । उनले प्रतिमुठा २ देखि १० रुपैयाँमा घाँस बारीबाटै बिक्री गरिरहेका छन् । परिवारका १२ जनाले सघाएपछि व्यवसाय फस्टाउँदै गइरहेको छ । २०६९ सालदेखि ‘सुशान्त एन्ड सुशांक एग्रिकल्चर फार्म’ मार्फत उनी व्यावसायिक बाख्रापालनमा लागेको हुन् । ‘बाख्रा पालनका लागि घाँस खेती पनि जरुरी थियो, आम्दानी बढदै गएपछि घाँस खेतीलाई पनि व्यावसायिक बनाइरहेको छु,’ उनले भने, ‘व्यवसायमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी भएको छ, वर्षेनि आम्दानी बढै गएपछि थप उत्साही छु ।’


गाहाले उत्पादन गरेको घाँस सुर्खेत, नेपालगन्ज र बुटवलसम्म पुग्ने गरेको छ । ‘बोयर जातका खसीबोका र पाठापाठी पनि जिल्लाबाहिरै पठाउने गरेको छु, व्यापारी खरिदका लागि फार्ममै आउँछन्,’ उनले भने, ‘स्थानीय जातका खसीबोका स्थानीय बजारमै खपत हुने गरेका छन् ।’ मासुको मुल्य बढै गएका कारण व्यवसाय गर्न थप जाँगर चलेको गाहाले सुनाए ।


उनी दम्दाली क्षेत्रकै नमूना किसान बनेका छन् । उनकै प्रेरणाले अन्य युवासमेत बाख्रापालन र व्यवसायिक तरकारी खेतीमा लाग्न थालेका छन् । उनी जिल्लास्तरीय र मध्यपश्चिमञ्चल विकास क्षेत्रस्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित भइसकेका छन् । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट गत वर्ष ५० हजार रुपैयाँसहित पुरस्कार हात पार्न सफल भएको उनी बताउँछन् ।


छोराले गरेको पशुपालन र घाँस खेतीले आफूलाई समेत उत्साही बनाएको ६० वर्षीय बाबु चन्द्रबहादुर गाहा मगरले बताए । उनी पनि दैनिकजसो छोराकै कृषि व्यवसायमा व्यस्त देखिन्छन् । ‘छोराको व्यवसायबाट खुसी छु,’ उनले भने, ‘छोराको व्यवसायले मलाई पनि फुर्सदको समय सदुपयोग गर्न सजिलो भएको छ ।’

प्रकाशित : श्रावण ४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?