मुगुबाट बाँके झरेर सुर्खेत

मुगु — प्रदेश राजधानी सुर्खेतसँग सीधा हवाई सम्बन्ध नहुँदा स्थानीयलाई प्रदेश ५ को नेपालगन्ज भएर सुर्खेत आउजाउ गर्नुपर्ने बाध्यता छ । यसले मुगुका बासिन्दालाई निकै सास्ती छ ।

नेपालगन्जदेखि तारा, गोमा, सीता, मकालु र नेपाल एयरलाइन्स मुगुका लागि उडान गर्ने गरेका छन् । ती एयरलाइन्सले सुर्खेतमा भने उडान गर्दैनन् । यसबाट आफ्नै प्रदेशको राजधानी पुग्न दुःख बेहोर्नुपरेको सोरु गाउँपालिकाका रामबहादुर शाहीले बताए । उनका अनुसार मुगुदेखि नेपालगन्ज भएर सुर्खेत आउजाउ गर्न आर्थिक रूपमा महँगो हुनुका साथै निकै झन्झट छ ।


‘आजकल त धेरैजसो सरकारी काम प्रदेश राजधानीमै हुने भएकाले गइरहनुपर्छ,’ उनले भने, ‘त्यहाँ जान कम्ती सास्ती छैन ।’ प्रदेश मन्त्रालयमा हुने कामका साथै लोकसेवा आयोग, शिक्षक सेवा आयोगका परीक्षा, क्याम्पसको पढाइ, सरकारी तथा गैरसरकारी कार्यालयका कार्यक्रम र राजनीतिक कार्यक्रमजस्ता कामको लागि प्रदेश राजधानीमा आउजाउ बढेको छ ।


मुगुका कांग्रेस नेता ऐनबहादुर शाहीले जिल्लावासीले मुगु–सुर्खेत प्रत्यक्ष हवाई सेवाको लागि माग गरे पनि सुनुवाइ नभएको बताए । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, दानसिंह परियार र झोवा विकसमेत नेपालगन्ज भएर आउजाउ गर्छन् । सांसद विकले यो समस्या समाधानका लागि संसद्मा बोले पनि सरकारले पहल नगरेको बताइन् । ‘सांसद मात्र होइन, स्थानीय तहका जनप्रतिनिधिलाई बारम्बार सुर्खेत आउजाउ गरिरहनुपर्छ,’ उनले भनिन्, ‘मुगुबाट सोझै सुर्खेत जान पाउने व्यवस्था भइदिए धेरै सजिलो हुन्थ्यो । खर्च र समय घटथ्यो ।’


सुर्खेत–मुगु सडकमार्ग भए पनि भरपर्दो छैन । बर्खाको समयमा हिलोले बसयात्रा निकै सकसपूर्ण हुन्छ । हिउँदमा त हिउँ जमेर सडक नै अवरुद्ध हुन्छ । त्यसमाथि बसभाडा पनि निकै महँगो छ । स्थानीयवासी २ हजार रुपैयाँ तिरेर कष्टपूर्ण यात्रा गर्नुभन्दा ६ हजारको हवाई यात्रा रोज्न सजिलो मान्छन् ।


केही समयअघि सीता एयरले मुगु–सुर्खेत हवाई सेवा सुरु गरेको थियो । तर, कार्गो अभाव र नियमित यात्रु नपाउने समस्या भन्दै सेवा बन्द गर्‍यो । मुगुको रारा विमानस्थल प्रमुख मोहन गिरी मुगु–सुर्खेत हवाई यात्रा राजनीतिक कारणले मात्र नभई पर्यटकीय महत्त्वको कारणले पनि अपरिहार्य भएको बताउँछन् । यो रुटलाई नियमित गर्न सकेमा रारा आउने पर्यटकलाई पनि सहज हुने उनले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?