गाउँलेले खनाए कुवा

जाजरकोट — रिम्ना तल्लोपुल बजार क्षेत्रका स्थानीयले निजी खर्चमा कुवा निर्माण गरेका छन् । भेरी नगरपालिका–१ मा निर्मित कुवाले ३३ घरपरिवार लाभान्वित भएका छन् ।

गाउँलेले खनाए कुवा

भेरी नदीको किनारमा रहेको तल्लो पुलका बासिन्दा यसअघि पानीका लागि १ घण्टा टाढाको मुलमा धाउँथे । गाउँमै कुवा निर्माण भएपछि सास्ती घटेको छ । श्रमदान र निजी खर्चमा कुवा निर्माण गरिएको स्थानीय नैनकली रानाले बताइन् । खानेपानीका लागि पटक–पटक नगरपालिकालगायत निकायसँग माग गरे पनि कसैले नसुनेको उनको भनाइ छ ।


कुवाको पानी बिजुलीको मोटल लगाएर तान्ने व्यवस्था गरिएको छ । बिजुली नभएका बेला भने पानी तान्न समस्या हुने उनले बताइन् । ‘पानीको निकै दुःख भएपछि कसैको भर नपरेर निजी खर्चमा कुवा निर्माण गरेका छौं,’ उनले भनिन्, ‘अब भेरी नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता टरेको छ ।’


उनका अनुसार कुवाका लागि गाउँलेले १५/१५ दिन श्रमदान र २/२ हजार नगद उठाएका थिए । डोजरको सहायताले १० मिटर गहिरो कुवा खनिएको हो । स्थानीयलाई कुवा निर्माणका लागि कुनै पनि सरकारी निकायले सहयोग गरेनन् । कुवाको खाल्डो खन्न डोजर खर्च, वाल निर्माण, २ सय मिटर पाइप, तारजाली, सिमेन्ट र मोटरलगायत गरी करिब ३ लाख खर्च भएको वडाध्यक्ष दीपक रानाले वताए ।


वडामा बजेट नहुँदा कुवा निर्माणमा सहयोग गर्न नसकेको उनको भनाइ छ । नदी किनारमा कुवा निर्माण गरेर मोटरको सहायताले २ सय मिटर दुरीको गाउँसम्म पानी तान्दा स्थानीय बासिन्दासँगै विद्यालय, प्रहरीचौकी र होटल व्यवसायी लगायतलाई पनि सुविधा भएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?