२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रारामा पर्यटक घटे

राजबहादुर शाही

मुगु — वर्षा सुरु भएसँगै रारामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या घटेको छ । वर्षाले सडक मार्ग हिलाम्मे भएपछि र जहाज उडान अनिश्चित हुन थालेपछि पर्यटक घटेका हुन् ।

रारामा पर्यटक घटे

वर्षाका कारण असार तेस्रो सातादेखि पर्यटकको संख्या घटेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । भदौदेखि मौसममा सुधार आएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने उनको भनाइ छ । उनका अनुसार पर्यटक नआउँदा आसपासका होटेल खाली भएका छन् ।


पर्यटकले भरिभराउ हुने डाँफे गेस्ट हाउस, भिलेज रिसोर्ट प्रालि, माझघट्ट होमस्टेलगायतमा ग्राहक शून्य छन् । दुई सातादेखि होटलका सबै कोठा खाली भएको हेरिटेज भिलेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताए । उनका अनुसार रारा क्षेत्र मानवीय चहलपहल घटेपछि सुनसान देखिन थालेको छ । उनले पर्यटक नआउँदा २ सातायता आम्दानी शून्य रहेको जनाए ।


पर्यटक संख्या घटेपछि घोडा व्यवसायीसमेत मर्कामा परेका छन् । मुर्मा, झ्यारी, टोप्ला, कोटीला, तलितुम, रिगाडीलगायत गाउँका करिव २ सय घरधुरीको आयस्रोत घटेको छ । पर्यटक घटेपछि घोडा पाटनमा चरनका लागि लैजान थालेको मुर्मा गाउँका गोर्ख रोकायाले बताए ।


उनका अनुसार सिजनको समयमा घोडाबाट दैनिक ४ हजार रुपैयाँसम्म कमाइ हुने गरेको थियो । उनले जिप र अन्य यातायातका साधनले भरिभराउ हुने सल्लेरी हिजोआज सुनसान बनेको जनाए । सडक आसपासका होटल बन्द गरी स्थानीय बासिन्दा खेतीमा व्यस्त बन्न थालेको उनले जानकारी दिए ।


रारा विमानस्थलको हवाई सेवासमेत वर्षाकै कारण अनिश्चित बनेको छ । कर्णाली राजमार्गअन्तर्गत गमगढी(नाग्मा सडक कच्ची भएकाले पर्यटक नआउँदा बर्सेनि रारा क्षेत्र वर्षायाममा सुनसान हुने गरेको हो । नेपाल भ्रमण वर्ष २०२० का कर्णाली प्रदेश संयोजक राजु कार्कीले सडकको दूरावस्थाका कारण यातायातका साधन चल्न नसकेपछि रारामा पर्यटकको आगमन शून्य भएको जनाए ।


उनले पर्यटकलाई हेलिकप्टरबाट रारा–छायानाथ र से–फोक्सुन्डो घुमाउन प्याकेज बनाउन व्यस्त रहेको जानकारी दिए । उनका अनुसार भदौदेखि प्याकेज सुरु गरिनेछ । सडक कालोपत्रे नहुँदा वर्षा र हिमपात हुँदा नाग्मा–गमगढी सडक महिनौं बन्द हुने गरेको उनले जनाए ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?