कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सातादेखि खलंगा अन्धकारमा

एलपी देवकोटा

जुम्ला — जुगाड खोला जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजार एक सातादेखि अन्धकार बनेको छ । भारतीय ठेकेदार कम्पनीको लापरबाहीले जडान गरेको मेसिन बिग्रिएपछि सर्वसाधारणलाई सास्ती भएको हो । 

विद्युत् पावर हाउसमा टर्बाइन जडान गरिए पनि मेसिन बिग्रिएपछि स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् । एक महिनाभित्र २ नयाँ टर्बाइन जडान गरी विद्युत् सेवा प्रवाह सहज गराउने आयोजनाले सार्वजनिक सूचना प्रवाह गरेको थियो । तर भर्खरै जडान गरिएको मेसिन बिग्रिएपछि विद्युत् आपूर्तिमा समस्या भएको आयोजनाले जनाएको छ । भारतीय पासी/शुभकामना जेभीले विद्युत् गृहमा टर्बाइन र अन्य उपकरण जडानको जिम्मा लिएको छ ।


२०७२ पुसदेखि मेसिन जडानको जिम्मेवारी पाएको भारतीय कम्पनीको बेवास्ताले जुम्ला अन्धकार बन्न पुगेको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढथापाले बताए । सम्झौता भएको मितिले १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी कम्पनीले जिम्मा लिएको उनको भनाइ छ । ‘तर २ वर्षसम्म कम्पनीले कुनै काम गरेन,’ उनले भने, ‘ठेकेदार कम्पनी बजेट फुत्काउनै व्यस्त बन्यो, जसका कारण स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छौं ।’ उनले नयाँ मेसिनले जडान भएको १ महिना पनि काम नगरेको जनाए ।


पावरहाउसका २ वटै मेसिन जडान गर्न भारतबाट ६ जना दक्ष मिस्त्री आएका थिए । उनीहरू मेसिन जडान गर्न नसकी फिर्ता भएको उपभोक्ता समिति अध्यक्ष बुढ्थापाको भनाइ छ । अब अर्को टोली कहिले आउने हो भन्नेबारे समितिलाई कुनै जानकारी नभएको उनले जानकारी दिए । भारतीय दूतावासबाट प्राप्त २ करोड ६३ लाख रुपैयाँमा केही रकम थप्ने गरी जिल्ला समन्वय समितिले ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो ।


समन्वय समितिले ३ करोड ९ लाख रुपैयाँमा टेन्डर स्वीकृत गरेको छ । उच्च दरमा टेन्डर स्वीकृत भएपछि बाँकी रकम कताबाट व्यवस्थापन गर्ने भन्नेबारे अझै टुंगोमा पुग्न नसकिएको उनले गुनासो गरे । उनका अनुसार ठेकेदार कम्पनीले पुरानो टर्बाइन झिकेर नयाँ सञ्चालनमा ल्याउन नसक्दा सदरमुकाम अन्धकारमा परेको हो ।


मोबाइल चार्ज गर्न गाउँमा

सदरमुकाम खलंगा विद्युतवहीन भएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न अर्को गाउँ दौडिनुपर्ने बाध्यता छ । तातोपानी गाउँपालिका ४, ऐरेनीका पुष्पराज उपाध्याय खलंगामा बस्न थालेको ४ वर्ष भयो । अहिले उनी दिन बिराएर मोबाइल चार्ज गर्न अर्को गाउँ जान बाध्य छन् ।


उनी मात्रै होइन अधिकांश स्थानीय खलंगा अन्धकार भएपछि विद्युतको विकल्प खोज्न गाउँमा जान थालेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा माइक्रो हाइड्रोमार्फत विभिन्न खोलाबाट विद्युत् उत्पादन गरिएको छ । केही गाउँमा सौर्यऊर्जाको राम्रो व्यवस्था भएकाले स्थानीय बासिन्दा मोबाइल चार्ज गर्न गाउँ पुग्ने गरेका हुन् । । नगरपालिकामै जुगाडखोला र ठिक्के जलविद्युत् आयोजनको काम भइरहे पनि विद्युत् उत्पादन कहिले हुने हो भन्ने ग्यारेन्टी छैन ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?