बाजा बजाएर बिदाइ

तुलाराम पाण्डे

कालीकोट — जिल्लामा ५ वर्षदेखि महिला सुपरभाइजरका रूपमा कार्यरत सविता राणालाई स्थानीयले बाजा बजाएर बिदाइ गरेका छन् । उनको स्थानीय महिलाले बाजागाजा बजाएर मान्म बजार परिक्रममा गराउँदै भव्य बिदाइ गरे ।

बाजा बजाएर बिदाइ

उनी कालीकोटबाट सुर्खेतको छिन्चुस्थित भेरीगंगा नगरपालिकामा सरुवा भएकी हुन् । राणालाई मान्मस्थित प्रतिमाचोकबाट अबिर जात्रा गर्दै बजार परिक्रमा गराएर २ किमि टाढा रहेको पुरानो महिला विकास कार्यालयबाट बिदाइ गरिएको हो । ५ वर्षअघि जिल्लाबासीले तत्कालीन प्रजिअ प्रदीप श्रेष्ठलाई अबिरमाला लगाएर बिदाइ गरेका थिए । महिलाको अगुवाइमा सरकारी कर्मचारीलाई बाजा बजाएर अभिनन्दन गर्दै पठाएको पहिलोपटक हो ।


बिदाइ भएर जान लागेकी राणाको घाँटीमा अँगालो हाल्दै केही महिलाले डाको छाडेर रोए । ‘राम्रो मान्छे त कालीकोटमा बस्दैनन्,’ बडिमालिका महिला सहकारीकी अध्यक्ष लालचन्ना पाण्डेले भनिन्, ‘सबै महिलालाई समान व्यवहार गर्ने सविताजस्ती हाकिम सरुवा हुँदा दुःख लागेको छ ।’


महिला तथा बालबालिका कार्यालयमा ०७३ देखि निमित्त कार्यालय प्रमुख भएकी सविता पछिल्लो समय खाडाचक्र नगरको महिला शाखा प्रमुख थिइन् । उनले हिंसामा परेका धेरै महिलाको न्यायका लागि पहल गरेकी थिइन् । ‘पहिले घरमा हिंसा हुँदा महिला सहेर बस्थे,’ खाडाचक्र २ की महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी लालचन्नाले भनिन्, ‘अहिले अन्यायमा पर्नेहरू उजुरी लिएर प्रहरी कार्यालय पुगिहाल्छन् ।’


सविताले हिंसा सहनु हुदैन भनेर महिलालाई सिकाउने गरेकाले सबैको माया पाएको खाडाचक्र नगर उपप्रमुख विजया विष्टले बताइन् । उनले सबै महिलालाई समूहमा आबद्ध गराएर महिला अधिकार, सरसफाइ र पोषणबारे सिकाएको विष्टले जनाइन् ।


‘पहिले कर्मचारीले अनियमितता गरे भनेर यही बजारमा नाराजुलुस भएको हो,’ बिदाइ मन्तव्य राख्दै विष्टले भनिन्, ‘राम्रो काम गर्नेलाई कालीकोटका महिलाले सम्मान पनि गर्छन् भन्ने सहकारीका महिलाले सन्देश दिएका छन् ।’ उनले महिला शाखा प्रमुख राणाको सल्लाहअनुसार छोराछोरी बीचको विभेद हटाउन र लैंगिक हिंसा घटाउन २ भन्दा कम छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पत्तिलाई नगरपालिकाले १ लाख नगद पुरस्कार दिने कार्यक्रम ल्याएको सुनाइन् ।


सविता बाँके, धादिङ, भैरहवा, दाङ हुँदै ०७१ कात्तिकमा महिला तथा बालबालिका कार्यालयमा हाजिर भएकी थिइन् । उनले निमित्त कार्यालय प्रमुख हुँदा सहकारी संस्थामा आबद्ध महिलाको क्षमता विकास, संस्थागत विकास र आयआर्जनका लागि काम गरेकी थिइन् ।


उनी कालीकोट आउनु पहिले बदालकोटका महिलाले महिलाका लागि आएको बजेट कार्यालयकै कर्मचारीको संलग्नतामा दुरुपयोग भएको विरोधमा सदरमुकाममा र्‍याली निकालेका थिए । उनी आएपछि महिलाको बजेट महिलाकै हितमा खर्च भएको स्थानीयको दाबी छ ।

प्रकाशित : श्रावण ७, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?