१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फोन गर्न सधैं सास्ती

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका ३, थाप्लेचौरका प्रकाश शाहीको घरमा नेपाल टेलिकम मोबाइल फोनको नेटवर्क नै हुँदैन । उनको मोबाइल सधैं ‘सर्चिङ मोड’ मा देखिन्छ ।

फोन गर्न सधैं सास्ती

शाहीलाई कार्यालय कामका लागि र आफन्तलाई फोन गर्नकै लागि खलंगा बजारको अग्लो स्थानमा जानुपर्ने बाध्यता छ । स्याँलाका दानीलाल पुनलाई पनि उस्तै समस्या छ । उनको घर आसपासमा नेटवर्कको असुविधा छ ।


स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेका छन् । नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करिव १ किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको थ्रीजी चल्दैन । खलंगा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ ।


मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र छैन, सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलंगाबजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको गतिलो पहुँच छैन ।


टेलिकमले नियमित टावर र बीटीएसको मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको शाहीले जनाए । टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।


कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको १ वर्ष बितेको छ । तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय भुमबहादुर रोकाय बताउँछन् । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न २ घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने वाध्यता छ । जिल्लाका निर्माणाधीन ७ टेलिफोन टावर अलपत्र छन् ।


रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरबाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग २ वर्षअघि सम्झौता भएको थियो । नलगाड नगरपालिका २ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो ।


ठेकेदार कम्पनीले टावर निर्माणमा लापरबाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनाल बताउँछन् । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन ।


दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताए । ‘रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ,’ उनले भने, ‘टावरको क्षमताभन्दा मोबाइलकर्ताको संख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।’ उनका अनुसार कार्यालयबाट नेपाल टेलिकमले ४५ हजार बढी सिम वितरण गरेको छ । बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनी बताउँछन् ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?