प्रशासनमा स्तनपान कक्ष

जुम्ला — जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्षको स्थापना गरिएको छ । कामको सिलसिलामा कार्यालयमा आउने सुत्केरी आमाको सुविधाका लागि स्तनपान कक्ष स्थापना गरिएको हो । 

प्रशासनमा स्तनपान कक्ष

यसअघि सुत्केरी महिलालाई घण्टौं लाइनमा बसी सेवा लिनुपर्ने बाध्यता थियो । सजिलोका लागि स्तनपान कक्ष र गर्भवतीका लागि आराम कक्ष तयार गरी सञ्चालनमा ल्याइएको जिल्ला प्रशासनले जनाएको छ । आराम कक्षको समेत व्यवस्था गरिएपछि गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सेवा लिन सहज भएको छ ।


कार्यालय परिसरमै २ कोठे नयाँ भवन निर्माण गरी स्तनपान र आराम कक्षको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । विशेषगरी सेवाग्राहीका रूपमा आउने गर्भवती, शिशु र आमाका लागि केही सेवासुविधा थपिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।


‘कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत यो सेवाबाट लाभान्वित हुनेछन्,’ उनले भनिन्, ‘स्तनपान कक्ष अपांगतामैत्री होस् भनेर भुइँतलामै व्यवस्थापन गरिएको छ ।’ स्तनपान कक्षामा एकैपटक ३ जनासम्म आमाले स्तनपान गराउनसक्ने उनको भनाइ छ । प्रजिअ बञ्जाडेका अनुसार स्तनपान कक्षमा आराम गर्नका लागि सोफा, बालबालिकाका लागि झुलुंगोसहित बालबालिकामैत्री सामग्री राखिएका छन् ।


कामको सिलसिलामा जिल्ला प्रशासन पुगेकी चन्दननाथ नगरपालिका २, की कृष्णा शाहीले स्तनपान कक्ष स्थापनाले सुत्केरी महिलालाई सरकारी सेवा लिन सहज भएको बताइन् । उनले पछिल्लो समय जिल्ला प्रशासन सेवाग्राहीमैत्री बन्दै गएको जनाइन् । उनी स्तनपान कक्षमा स्तनपान गराउने पहिलो सेवाग्राही बनेकी छिन् ।


त्यस्तै सेवाग्राहीको सुविधाका लागि कार्यालयको मूल प्रवेशद्वारमा छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको सहजताका लागि १३ प्रकारका निवेदनका ढाँचासहितका अनुसूची फाराम निर्माण गरी सहायता कक्षमा राखिएको छ । जुनसुकै सेवा लिने सेवाग्राहीले सहायता कक्षमार्फत सहजै रूपमा निःशुल्क जानकारी लिनसक्ने सुविधा थपिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?