वर्षाले ग्रामीण सडक बन्द
जाजरकोट/सल्यान — वर्षाले जिल्लाका अधिकांश ग्रामीण सडकमा २ सातादेखि यातायात सेवा ठप्प छ । असार अन्तिम सातादेखि ग्रामीण क्षेत्रका सडकमा सवारीसाधन चल्न छाडेका हुन् ।
वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको हो । वर्षाका कारण हिलो तथा खाल्डाखुल्डी बढेपछि र खोला बढेपछि ग्रामीण क्षेत्रमा गाडी चल्न नसकेका हुन् । यातायात अवरुद्ध भएपछि सर्वसाधारणलाई घण्टौं हिँड्नुपर्ने बाध्यता छ ।
ग्रामीण सडक अवरुद्ध हुँदा कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाका बासिन्दालाई आवतजावतमा बढी सास्ती भएको छ । गाउँगाउँमा खनिएका सडकको स्तरोन्नति नहुँदा र दर्जनौं खोलामा पुल नबन्दा नियमित यातायात सञ्चालन हुन नसकेको हो । खलंगा–पाँचकाटिया, पाँचकाटिया–पैंक, बाटुल्ले–अर्छानी, खुर्पा–समाईला, थलह–लुहादह, सुवानाउली–गर्खाकोट, कालीमाटी–कैनालगायत दर्जन सडकमा यातायातका साधन रोकिएका छन् ।
कुशे गाउँपालिकाको सरु खोला, चैंया खोला, सिस्नेरी खोला, जुनीचाँदेको नरमरा खोला र मजकोट खोलामा पुल नहुँदा वर्षासँगै यातायातका साधन रोकिएको यातायात व्यवसायीको भनाइ छ । ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो जाँदा, हिलो तथा खाल्डाखुल्डी बढा र खोलामा पुल नहुँदा गाडी सञ्चालनमा समस्या भएको चालक भीमबहादुर बुढाले बताए ।
खलंगा–पाँचकाटिया–ब्युलीढुंगा सडक अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दा ३ दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य छन् । यातायात सेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ । घोडा–खच्चड र भरियामार्फत सामान ढुवानी गर्दा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको कुशे गाउँपालिका ८, जिन्तालाका नरेन्द्र सिंहले बताए । ‘सडकमा पैदल यात्रा गर्दा सास्ती भएको छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या भएको छ, बिरामी उपचारबाट वञ्चित छन् ।’ उनले सडकमा गाडी नचल्दा ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री थन्किएको गुनासो गरे ।
वर्षापछि खलंगादेखि पाँचकाटिया, रिम्ना, कार्कीगाउँ, स्याउली, भेरें, सिमा, दशेरा, सुवानाउली, ब्युलीढुंगा, नेटी कैना, खगेनकोटलगायत सडकमा यातायातका साधन चल्न नसकेको हुन् । ट्र्याक खुलेको १३ वर्ष बित्दासमेत खलंगा–पाँचकाटिया सडकको स्तरोन्नति हुन सकेको छैन ।
सडक विभागलगायत निकायको चरम लापरबाहीले स्थानीयले यातायातको सहज सुविधा पाउन सकेका छैनन् । उक्त सडक सदरमुकाम खलंगा, पाँचकाटिया पैंक, ब्याउलीढुंगा र बारेकोट गरी दुबैतिरबाट जुम्ला जोड्ने सडक हो । दर्जनौं घुम्तिका साथै ग्रेडिङ नमिल्दा १५ करोड बढी खर्चेको २२ किलोमिटरको सडकमा नियमित यातायात सेवा सञ्चालन हुन नसकेको हो ।
जिल्लामा निर्माण गरेका १ सय बढी ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा स्थानीयले वर्षायाममा सास्ती भोग्दै आएका छन् । स्थानीय तहले पुराना सडकलाई व्यवस्थित गर्न नसक्दा वर्षायाममा सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भत्किएका सडकको तत्काल मर्मत गरी यातायात सेवा सुचारु गर्न सम्बन्धित निकायमा ताकेता गरिएको जानकारी दिए ।
उनले सडक डिभिजन, स्थानीय तह र सम्बन्धित ब्यवसायीलाई सडक सुचारु गर्न लिखित र मौखिक ताकेता गरिएको जनाए । उनका अनुसार खलंगा–रिम्ना र खलंगा–पाँचकाटिया सडक तत्काल खुलाउन ध्यानाकर्षण गराइएको हो । ‘स्थानीय बासिन्दाले सास्ती पाएको गुनासो बढेपछि यातायात सुचारु गर्न आग्रह गरिएको हो,’ उनले भने, ‘यातायातको असुविधाले प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापनको काममा समेत समस्या हुने देखिएको छ ।’
प्रकाशित : श्रावण ९, २०७६ १०:४५