२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शिक्षणसँगै कुखुरापालन

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका १, का ४९ वर्षीय रत्नसिंह मल्ल महाकाली माविका स्थायी शिक्षक हुन् । शिक्षणसँगै उनी २ वर्षदेखि व्यावसायिक कुखुरापालनमा रमाइरहेका छन् ।

फुर्सद र बिदाका दिनमा कुखुरापालनमै व्यस्त रहने मल्ल २०७४ देखि व्यावसायिक बनेका हुन् । उनको रत्न ह्याचरी फार्ममा अहिले ४ सय ८५ कुखुरा छन् । प्रत्येक बिहीबार मेसिनमार्फत १ सय ७५ चल्ला उत्पादन गर्ने गरेको मल्लको भनाइ छ । ‘२७ वर्षदेखि शिक्षण पेसामा आबद्ध छु, साँझ–बिहान र फुर्सदको समय फार्ममा सदुपयोग गर्दा आत्मसन्तुष्टि मिलको छ,’ उनले भने, ‘आम्दानी बढदै गएपछि व्यवसायमा हौसला बढिरहेको छ ।’ कुखुरापालनको आधारभूत तालिम लिएपछि ह्याचरी खोल्ने निर्णयमा पुगेको उनी बताउँछन् ।


ह्याचरी सुरु गरेको एक वर्षमै १ हजार ५ सय चल्ला उत्पादन गरी ५ लाख आम्दानी गरेको उनले सुनाए । उनका अनुसार फार्ममा पालन गरिरहेका कुखुरा किलोका दरले घरबाटै बिक्री भइरहेको छ । सुरुमा ग्रामीण क्षेत्रबाट स्थानीय जातका कुखुराका अन्डा खरिद गरी मल्लले व्यवसाय सुरु गरेका थिए । तराईबाट आएका विभिन्न जातका कुखुराभन्दा स्थानीय जातको माग धेरै भएकाले ह्याचरी उद्योगको स्थापना गरेको उनले जानकारी दिए । ‘गाउँबाट अन्डा संकलन गरी सातामा एकपटक चल्ला उत्पादन गर्ने गरेको छु,’ उनले भने, ‘स्थानीय जातका अन्डा कम उत्पादन भइरहेकाले अरू दिन चल्ला उत्पादन गर्न समस्या छ ।’


उनको कुखुरा फार्ममा परिवारका ३ सदस्यले नियमित सहयोग गरिरहेका छन् । स्थानीय जातका अन्नबाट दाना उत्पादन गरी कुखुरालाई खुवाइरहेको उनको भनाइ छ । उनले कुखुरा उत्पादनका लागि ३ मेसिन ६ सोलार प्यानल आफ्नै लगानीमा खरिद गरेका छन् ।


मल्ल कुखुरामा केही समस्या आए आफैं उपचारमा खटिने गरेका छन् । फार्ममा करिब २० लाख रुपैयाँ लगानी गरेको लगानी गरेको उनले सुनाए । ‘३ महिनाभित्रै फार्मबाट दैनिक २ हजार चल्ला उत्पादन गर्ने लक्ष्यका साथ खटिएको छु,’ उनले भने, ‘कुखुरा किन्न ग्राहक घरमै आउने गरेकाले व्यवसायमा खासै समस्या छैन, बजारको माग धान्नै मुस्किल भइरहेको छ ।’


गाउँमै व्यवसाय गरे मनग्गे आम्दानी हुने भएकाले कमाइका विदेश जान नपर्ने उनको सुझाव छ । उनले गाउँका अन्य युवालाई कृषि र पशुपालनमा लाग्न सुझाव दिइरहेको जनाए । मल्लले कुखुरापालनसँगै घरवरिपरि विभिन्न जातका फलफूल खेती गरिरहेको सुनाए ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?