स्थानीय तहमा अर्ग्यानिक उत्पादन

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाका कुशे, जुनीचाँदे, नलगाड, बारेकोटलगायत स्थानीय तहमा अर्ग्यानिक उत्पादन कार्यक्रम लागू भएको छ । कृषि ज्ञान केन्द्रले कुशे गाउँपालिकाका ९ वटै वडामा अर्ग्यानिक मोडेल कार्यक्रम सञ्चालन गरेको छ । 

स्थानीय तहमा अर्ग्यानिक उत्पादन

गत आवदेखि अर्ग्यानिक मोडेल कार्यक्रमअन्तर्गत कृषक समूह गठन गर्नुका साथै सहकारी र निजी फार्ममार्फत काम गरिरहेको छ । कार्यक्रमको पहिलो चरणमा ५ सय भकारो सुधार गरी ५ सय ६९ गोठेमल व्यवस्थापन गरिएको छ । गोठेमलका लागि कृषकलाई ९ सय ३५ थान ड्रम र ३७ क्विन्टल मकैको बीउ वितरण गरिएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायाले बताए ।

उनका अनुसार केन्द्रले गत आव अर्ग्यानिक मोडेल निर्माण कार्यक्रममार्फत कुशे गाउँपालिकामा ९५ लाख बजेट खर्च गरेको छ । ‘अर्ग्यानिक प्रणालीले वातावरण तथा पर्यावरण सुधारमा ल्याई नागरिकलाई स्वस्थ जीवन जिउन मद्दत पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले अर्ग्यानिक कृषि उत्पादन नीतिलाई कार्यान्वयनमा ल्याइएको हो ।’

यसका साथै गत आवमा जुनीचाँदे गाउँपालिकामा कुखुरापालन र बाख्रापालनमा पनि सहयोग गरिएको छ । कार्यक्रमअन्तर्गत भकारो सुधार, बगैंचा व्यवस्थापन, बिरुवा वितरण, प्लास्टिक ड्रम वितरणमा किसानलाई सहयोग गएिको रोकायाले जानकारी दिए । जुनीचाँदेमा कोदो, फापरलगायत रैथाने अन्नको बीउ पनि वितरण गरिएको उनले बताए ।

जुनीचाँदेका कृषकको माग तथा आवश्यकतालाई मध्यनजर गरी कृषि औजार तथा उपकरणका साथै लागत सहभागिता अनुदान कार्यक्रमअन्तर्गत २ जिप, ३ हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । केन्द्रले ‘एक निर्वाचन क्षेत्र एक पकेट क्षेत्र’ कार्यक्रमबाट बारेकोट गाउँपालिकामा पनि फलफूल तथा तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत १७ हजार किलो आलुको बीउ खरिद गरी १ सय ७१ रोपनीमा खेती गरिएको केन्द्रले जनाएको छ ।

यही गतिमा अघि बढे जाजरकोट ८ वर्षमा फलफूलमा आत्मनिर्भर बन्ने केन्द्रको अनुमान छ । फलफूलका बिरुवा वितरणको तथ्यांक तथा ग्रामीण क्षेत्रमा गरिएका फलफूल खेतीका आधारमा यस्तो अनुमान गरिएको केन्द्र प्रमुख रोकाया बताउँछन् । केन्द्रले आव ०७५/७६ मा ५६ हजार फलफूलका बिरुवा वितरण गरेको छ ।

जसअनुसार सुन्तला, कागती, आँप, लिचीलगायत बिरुवा वितरण भएका हुन् । फलफूलका बिरुवा २ सय ४२ हेक्टरमा रोपेको केन्द्रको भनाइ छ । निश्चित कार्यविधि तथा प्रतिस्पर्धाका आधारमा ९३ व्यावसायिक फर्म तथा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको रोकायाले बताए । उनका अनुसार नलगाड नगरपालिकामा मह प्रशोधन केन्द्र भवन निर्माण गरी प्रशोधन मेसिन पनि खरिद गरिएको छ ।

प्रकाशित : श्रावण १७, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?