१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डिजेल प्लान्टबाट बिजुली

कान्तिपुर संवाददाता

जुम्ला — जुगाड खोला साना जलविद्युत् उपभोक्ता समितिले सदरमुकाम खलंगामा डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी गरेको छ । आयोजनाको मेसिन मर्मत गर्न ३ महिना बढी समय लाग्ने भएपछि डिजेल प्लान्टबाट बिजुली वितरणको तयारी गरिएको हो ।

घुघुतीस्थित पावर हाउसमा जडान गरिएका दुवै मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा झन्डै महिनादिनदेखि अँध्यारोमा छ । मेसिन मर्मतका लागि दुवै जेनेरेटर जिल्लाबाहिर पठाइएको समितिले जनाएको छ । समितिका अनुसार विद्युतको वैकल्पिक व्यवस्थाका लागि डिजेल प्लान्ट मेसिन खलंगामा भित्र्याइसकिएको छ । २ सय किलोवाटको डिजेल प्लान्टबाट ३ महिनासम्म विद्युत् वितरण गरिने साना जलविद्युत उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढथापाले बताए ।


चाडपर्वको समयमा स्थानीयको जनजीवन सहज बनाउन डिजेल प्लान्टको व्यवस्था गरिएको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । समितिका अनुसार विद्युत् नहुँदा २२ हजार उपभोक्ता मर्कामा परेका छन् । निर्माणको जिम्मा लिएका ठेकेदारले काममा ढिलाइ गरेकाले कारबाही प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।


डिजल प्लान्टका लागि ५० लाख ऋण

घुघुतीमा रहेको विद्युत् गृहको मेसिन बिग्रिएपछि प्रतिनिधिसभा सदस्य महतले डिजल प्लान्ट जडानका लागि आवश्यक प्रक्रिया मिलाएका छन् । सांसद विकास कोषको ५० लाख रुपैयाँ समितिलाई दिनेगरी डिजल प्लान्ट सुरु गर्न लागिएको हो ।


तत्काल सांसद विकास कोषको रकम आइनसकेकाले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएर प्लान्ट जडान गरिएको हो । रकम आएपछि सहकारीको ऋण तिरिने उनको भनाइ छ । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले विद्युत् आयोजनालाई नभई व्यक्तिलाई ऋण दिएको जनाएको छ ।


‘विद्युत्मा लगानी गरेका छैनौं,’ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले भने, ‘व्यक्ति संस्थाको सेयर सदस्य भएकाले गजेन्द्र महतलगायत ३ जनालाई ऋण दिएका छौं । व्यवसाय सञ्चालनका लागि सहकारीले ऋण दिएको हो, उहाँहरूले जहाँ पनि लगाउन सक्नुहुन्छ ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?