कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुहिँदै बरामद काठ

कान्तिपुर संवाददाता

सल्यान — डिभिजन वन कार्यालयले ३ वर्षअघि छायाक्षेत्र गाउँपालिका २, को पेदीखोला सामुदायिक वनबाट बरामद गरेको काठ कार्यालय परिसरमा अलपत्र परेको छ । लिलामी नहुँदा १ सय ८९ क्युफिट काठ कार्यालय हाताभित्रै कुहिने अवस्थामा पुगेको हो ।

कार्यालयले टेन्डर गरे पनि बोलपत्र नपर्दा काठ अलपत्र परेको वन कर्मचारीको भनाइ छ । नियमविपरीत रूख काटेको भन्दै डिभिजन वनले आव ०७२/७३ मा ६८ थान सालका काठ बरामद गरेको थियो । कार्यालयका नायब सुब्बा विजय पुलामीका अनुसार बरामद गरिएका सालको काठ ३ लाख २ हजार रुपैयाँ नघट्ने गरी लिलामी गर्न सूचना प्रकाशित गरिएको थियो । तर कसैले पनि बोलपत्र दर्ता नगराएपछि लिलाम हुन नसकेको उनको भनाइ छ ।


बरामद गरेको काठ लिलामभन्दा अन्य प्रक्रियाबाट बिक्री गर्न नपाइने भएकाले अलपत्र परेको डिभिजन वनले जनाएको छ । बरामद गरिएका काठ वन कार्यालयअघि थुपारिएको छ । अवैध रुपमा रूख काटेको भन्दै छाया क्षेत्रका यज्ञबहादुर विष्टसहित १७ जनालाई कारबाहीको प्रक्रियामा ल्याइएको कार्यालयले जनाएको छ । अदालतले मुद्दा फैसला गरेपछि उनीहरू धरौटीमा रिहा भएका छन् ।


सालको काठ कुहिए पनि मूल्यांकन गर्दा दररेट घटाउन नमिल्ने भएकाले लिलामीमा समस्या भएको डिभिजन कार्यालयका नासु टोपेन्द्रबहादुर थापाले बताए । उनका अनुसार पहिलोपटक सूचना प्रकाशित गर्दा कसैले पनि आवेदन नदिएकाले लिलामीमा समस्या भएको छ ।


उनका अनुसार सालको काठ सरकारी दरअनुसार प्रतिक्युफिट १ हजार ६ सय रुपैयाँमा लिलाम हुने गरेको छ । यसअघि पनि कार्यालयले बरामद गरेका केही सल्ला र चाँपका काठसमेत कार्यालय परिसरमै थन्किएको उनले जानकारी दिए । उनले लिलाम गर्न नसक्दा यसअघि बरामद भएका सबै काठ कुहिएर गएको जनाए ।


रोल्पाको माडिगाउँ गाउँपालिका ७, झिनबाबाट जितबहादुर ओलीले दाङ लैजाने क्रममा बरामद भएको ९ हजार ४ सय ५० रुपैयाँको चाँपको काठ पनि लिलाम हुन नसकेको कार्यालयले जनाएको छ ।


त्यस्तै शारदा नगरपालिका १३, कागखोलाबाट गत चैत ६ गते प्रहरीले बरामद गरेको काठसमेत अलपत्र परेको छ । कार्यालयका अनुसार बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारबाट नेपालगन्ज लैजाँदै गरेको अवस्थामा बरामद गरिएको चुत्राको बोक्रा पनि लिलाम हुन सकेको छैन ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?