कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘हेलो उपमेयर’ को नम्बरै गलत

गलत नम्बर सच्याइए पनि ४ दिनसम्म कसैको फोन आएन
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाले चालु आवको पहिलो कार्यक्रम ‘हेलो उपमेयर’ को नम्बर सार्वजनिक गर्न आयोजना गर्‍यो । साउन २ गते एउटा होटलमा आयोजना गरिएको कार्यक्रममा निःशुल्क नम्बर सार्वजनिक गरिएको हो ।

‘हेलो उपमेयर’ को नम्बरै गलत

सबै सरोकारवालाको उपस्थितिमा सार्वजनिक गरिएको नम्बरका कारण महिला तथा घरेलु हिंसा रोकिने अपेक्षा गरिएको छ । तर, उक्त कार्यक्रममा सार्वजनिक गरिएको नम्बरै गलत परेको छ ।


साउन १८ गते मात्रै उक्त कार्यक्रममा सार्वजनिक गरिएको नम्बर गलत भएको पुष्टि भएको हो । नगरपालिकाले ‘हेलो उपमेयर’ कार्यक्रमका लागि १६६०८८५३०१ नम्बर सार्वजनिक गरेको थियो । उक्त नम्बर सार्वजनिक गरेको १६ दिनसम्म न कतैबाट फोन आयो न कर्मचारी र जनप्रतिनिधिले उक्त नम्बर चेक गरे ।


‘हेलो उपमेयर’ कार्यक्रमका लागि नेपाल टेलिकमले मुसीकोट नगरपालिकालाई १६६०८८५३००१ नम्बर दिएको थियो । नम्बर सार्वजनिक गर्दा अन्तिमको एउटा शून्य सार्वजनिक नभएको हो । साउन २ गते बाँडिएको नम्बर गलत परेपछि साउन १८ गते सच्याइएको महिला, बालबालिका तथा समाजकल्याण शाखाले जनाएको छ । शाखाकी महिला विकास निरीक्षक कमला मल्लले टोल फ्री नम्बरै गलत परेपछि समस्या भएको बताइन् ।


‘केही बहिनीले टोल फ्री नम्बर माग्नुभो मैले दिएँ,’ उनले भनिन्, ‘उहाँहरूले नै फोन लागेन भनेपछि मात्रै नम्बर गलत भएको पत्ता लागेको हो ।’ गलत नम्बर सच्च्याएको ४ दिन भइसक्दा पनि हिंसामा परेको वा भएको भनेर कसैले पनि उक्त नम्बरमा फोन नगरेको उनको भनाइ छ ।


बढदै गएका महिला, घरेलुलगायत अन्य हिंसा न्यूनीकरण र हिंसाबाट पीडितको न्यायका लागि चालु आवबाट ‘हेलो उपमेयर’ कार्यक्रम सुरु गरिएको हो । जसका लागि १ लाख रुपैयाँ विनियोजन गरिएको छ । हिंसा भइरहेको वा हिंसाबाट पीडित भएर न्यायिक उपचार खोज्नेको सहयोगीका रूपमा हेलो उपमयेर कार्यक्रम सुरु गरिएको हो ।


‘हिंसा न्यूनीकरण र न्याय दिने कार्यक्रमको उद्देश्य हो,’ नगर उपप्रमुख प्रेमकुमारी सुनारले भनिन्, ‘हिंसा भइरहँदा तथा हिंसा भएर पनि न्यायिक उपचार सजिलोका लागि कार्यक्रम लक्षित छ ।’ उनले कार्यक्रम सुरु हुने चरणमा रहेकाले व्यवस्थापनमा समय लागेको बताइन् ।


कार्यक्रमका लागि एउटा सचिवालय खडा गरिने र समस्या, गुनासा सीधै उपमेयरसम्म पुग्ने व्यवस्था गराइने जनाइएको छ । घटना वा हिंसाको प्रकृति हेरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपप्रमुख सुनारले बताइन् । ‘एउटा नम्बर नपुगेको नम्बर दिइएको रहेछ,’ उनले भनिन्, ‘अहिले अपडेटसहितको नम्बर सबै वडा कार्यालय र विद्यालय तथा चोकमा वितरण गरिरहेका छौं,’ नगरपालिकाको महिला शाखाले फोनको रिसिभदेखि अन्य व्यवस्थापनको काम गरिरहेको सुनारले जनाइन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?