कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सल्ले अस्पतालमा ३१ वर्षपछि थपियो पूर्वाधार

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्ला अस्पताल सल्लेको स्वरूप ३१ वर्षपछि फेरिएको छ । लामो समयपछि अन्तरंग विभागको ५ कोठाको स्वरूप फेरिएपछि बिरामीको उपचार प्रभावकारी बन्दै गएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको १ करोड १० लाख रुपैयाँ सहयोगबाट जिल्ला अस्पतालको भौतिक संरचनासँगै उपकरण थप गरिएको हो । अहिले जिल्ला अस्पतालको अन्तरंग विभागमा रहेका सबै शय्याको पुच्छरमा सानो बाकस जोडिएको छ । अस्पतालले पुरानै बेडमा त्यो बाकस जोडेको होइन ।


२५ नयाँ बेड फेरिएसँगै बाकस जोडिएपछि बिरामीका रिपोर्ट र भर्ना विवरण लेखिएको कागजात राख्न बिरामीलाई सजिलो भएको छ । अस्पतालले बिरामी भर्नाका ४ कोठा र र नर्सिङ स्टेसनका स्वरूप फेरेको हो । ती सबै कोठाको भुईं, भित्ता र भित्री छाना फेरिएको छ ।


अस्पतालको ओपीडी, प्रसूति कक्ष, शल्यक्रिया कक्ष, आकष्मिक कक्ष र प्रयोगशाला कक्षको पनि स्वरूप फेरिएको स्वास्थ्यकर्मीको भनाइ छ । २५ बेडसँगै नयाँ र अत्याधुनिक उपकरणसमेत खरिद गरिएको अस्पताल प्रमुख डा. महेश चौलागाईले बताए । उनका अनुसार सीआर सिस्टमसहितको डिजिटल एक्सरे, शल्यक्रिया टेबल र लाइट, प्रयोगशालाका लागि कुलर मेसिन, इलेक्ट्रिक एनालाइजर, सेमी बायो एनालाइजरलगायत उपकरण खरिद गरिएको हो । उनले अस्पतालको स्वरूप परिवर्तनसँगै बिरामीको उपचार सजिलो बनाउने प्रयत्न गरिएको जनाए ।


डिजिटल एक्सरे जडान गरिएपछि छिटो, सजिलो र भरपर्दो उपचार हुने पारामेडिक्स ईश्वर रावलले बताए । प्रयोगशालामा खरिद गरिएका कुलरलगायत उपकरणले विभिन्न परीक्षण गर्नुपर्ने बिरामीलाई छिटो सेवा प्रवाह हुने उनको भनाइ छ । यसअघि झन्डै ३ घण्टा अगाडि कुनै पनि परीक्षणको रिपोर्ट बिरामीले पाउँदैनथे । पुराना उपकरणबाट काम गर्दा रिपोर्ट निकाल्न ढिला हुने गरेको थियो ।


उपकरण थपिएसँगै थप जनशक्ति आवश्यक हुने अस्पतालले जनाएको छ । ‘थपिएका सेवा सुविधा र उपकरण हालकै जनक्तिले चलाउन कठिन हुने नै देखिएको छ,’ डा. चौलागाईले भने, ‘हामी अब यसको व्यवस्थापनतर्फ लागेका छौं ।’ उनले जनशक्तिको व्यवस्थापनका लागि कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयको साथै संघीय सरकारको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमा समेत जानकारी गराइसकेको बताए । चिठीमार्फत र आफैं पुगेर पनि जिल्ला अस्पतालको अवस्थाअनुसारको जनशक्ति व्यवस्थापनका लागि अनुरोध गरिसकेको डा. चौलागाईले बताए ।


व्यवस्थापन समिति अध्यक्ष सुन्दर ओलीले अस्पतालको सेवा सुविधा विस्तार र सजिलो बनाउन प्रदेश सरकारको सहयोगमा व्यवस्थापन गरिएको बताए । ‘यो २०४५ सालमा स्थापना भएको अस्पताल हो,’ अध्यक्ष ओलीले भने, ‘बढेको बिरामीको संख्याको आधारमा सेवा प्रवाहका लागि भौतिक संरचनादेखि उपकरण सम्मको खरिद गरी सेवा दिने प्रयास गरेका छौं ।’


उनले भदौ महिनादेखि नै नयाँ उपकरणबाट सेवा दिइने बताए । जिल्ला अस्पतालमा २०४५ सालकै दरबन्दीका स्वास्थ्यकर्मी तथा कर्मचारी रहेकाले यसमा थप संख्या थप्नुपर्ने र त्यसका लागि पहल भइरहेको उनी बताउँछन् । अस्पतालमा उपचारका लागि दैनिक ४ सय ५० बिरामी आउने गरेका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?