कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नर्सरीमा टिमुर, कागती र चिउरी

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका १२, सिरुगाडका मानबहादुर खत्री नर्सरी सञ्चालक हुन् । खत्रीले २४ वर्षदेखि घरछेउमा सञ्चालन गरेको नर्सरी उद्योगबाट वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । 

उनले गत वर्ष विभिन्न जातका ७८ हजार बिरुवा बेचेर आम्दानी बढाएका हुन् । विभिन्न प्रजातिका बिरुवा जिल्लामै उत्पादन भएपछि गर्न थालेपछि बाहिरबाट ल्याउनुपर्ने बाध्यता टरेको छ ।


उनको नर्सरीमा ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउलो, चिउरीका करिब १ लाख बिरुवा उत्पादन हुन्छन् । २४ वर्षअघि १५ हजार रुपैयाँमा सुरु गरेको नर्सरीबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको उनले बताए । नर्सरीमा उत्पादन भएका बिरुवा १० देखि ५० रुपैयाँमा बिक्री हुने उनी सुनाउँछन् । खत्रीको नर्सरी उद्योगले जिल्लामै किसान तथा विभिन्न संघ–संस्थालाई बिरुवा किन्न सहज बनाएको छ ।


बिरुवा उत्पादनबाट आम्दानी गर्ने खत्री एक्ला होइनन्, उनीजस्तै जिल्लाका दर्जन किसानले नर्सरी सञ्चालन गरेका छन् । नलगाड नगरपालिका ५, खाल्चौरका केशबहादुर रावलले पनि गत वर्ष नर्सरीमा बिरुवा उत्पादन गरी ७ लाख रुपैयाँ आम्दानी गरे । उनले ३५ हजार बिरुवा बेचेर यति आम्दानी गरेका हुन् ।


उनले ६ वर्षदेखि नर्सरी सञ्चालन गरी बिरुवा उत्पादन गर्दै आएका छन् । नर्सरीबाट हुने उनको आम्दानीले रोजगारीका लागि विदेश जानेलाई पाठ सिकाएको छ । रावलले नर्सरीसँगै मौरीपालनबाट पनि आम्दानी गरिरहेका छन् । उनीसँग अहिले ५० घार मौरी छन् । उनले मौरी मह बेचेर गत वर्ष ५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।


डिभिजन वन कार्यालयका रेन्जर पूर्णबहादुर चन्दले स्थानीयले टिमुर, कागती, सुन्तला, ओखर, अलैंचीलगायत बिरुवाको नर्सरी स्थापना गरी आम्दानी बढाएको बताए । उनका अनुसार गाउँगाउँमा अहिले किबी, अलैंची, सुन्तला, कागतीलगायत फलफूलको व्यावसायिक खेती बढेको छ । कुशे, बारेकोट, नलगाड, छेडागाड, भेरीलगायत स्थानीय तहका विभिन्न स्थानमा व्यवसायिक फलफूल खेतीको लहर चलेको हो ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?