कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आइपुगे चिनियाँ च्याङ्ग्रा

कान्तिपुर संवाददाता

हुम्ला — ‍ यो वर्ष पहिलो लट चिनियाँ च्याङ्ग्रा हिल्सा हुँदै सिमकोट आइपुगेका छन् । साउने पूर्णिमामा पूजाआजाका लागि बलि दिने चलन भएकाले चिनियाँ च्याङ्ग्राको माग बढ्दो छ ।

पूर्णिमाका बेला हुम्लामा करिब एक हजार च्याङ्ग्रा किनबेच हुन्छ । ताजाकोटका अंगबहादुर शाहीले हुम्लामा पर्याप्त च्याङ्ग्रा नपाइने भएकाले तिब्बतबाट ल्याउने गरिएको बताए । तिब्बतबाट ल्याइएका च्याङ्ग्रा देउताका माडु (मन्दिर) मा काट्ने गरिन्छन् ।


तिब्बतबाट ल्याइने च्याङ्ग्रा सानो जातको रिउ हुन् । यिनको मूल्य ताक्लाकोटमै गत वर्षको तुलनामा महँगिएको छ । व्यापारी दीपराज बोहोराका अनुसार यो वर्ष ताक्लाकोटमै प्रतिच्याङ्ग्रा ६ देखि ८ हजार परेको छ । गत वर्ष रिउको मूल्य ताक्लाकोटमा ५ देखि ६ हजार परेको थियो । उनले यो वर्ष सयवटा च्याङ्ग्रा ल्याएको बताए ।


ताक्लाकोटबाट दसैंको लागि भने ठूलोखाले च्याङ्ग्रा ल्याउने गरिन्छ । यसको मूल्य ताक्लाकोटमै १५ देखि २० हजारसम्म पर्छ । सिमकोटका व्यापारी दोधे रावतले ठूलो जातका च्याङग्रा दसैंका लागि अलि पछि ल्याइने बताए । ‘साउने पूर्णिमाका लागि योपालि १ सय १६ वटा रिउ ल्याएको छु,’ उनले भने ।


स्थानीय खसीच्याङ्ग्राको तुलनामा चिनियाँ खसीच्याङ्ग्राको मूल्य सस्तो पर्ने र मासु पनि मिठो मानिने भएकोले माग बढदो छ । हिल्साबाट आएको च्याङ्ग्रा मुगु, बाजुरासम्म पुग्ने गर्छ । च्याङ्ग्राको सुकुटी बनाएर सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म पुर्‍याउने गरिन्छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?