१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वडा अध्यक्षको मिलोमतोमा फर्जी व्यक्तिलाई नागरिकता

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रशासन कार्यालयले एक व्यक्तिलाई कानुन विपरित नागरिकता उपलब्ध गराएको खुलेको छ । प्रशासनले जाजरकोट जिल्लामा बसोबास तथा वंशजको नाता सम्बन्ध कुनैपनि नभएका दाङ घर बताउने कमल पुनलाई नागरिकताको प्रमाण पत्र दिएको हो । 

वडा अध्यक्षको मिलोमतोमा फर्जी व्यक्तिलाई नागरिकता

जिल्ला प्रशासनले नलगाड नगरपालिका–२ का वडाअध्यक्ष रामकुमार जैसीको सिफारिसमा उक्त नागरिकता उपलब्ध गराएको पाइएको छ । जैसीले मिलोमतो गरी फर्जी कागज बनाई नागरिकताको सिफारिस गरेको खुलेको हो । वडाअध्यक्ष जैसीले नलगाड–२ का चंखे पुनलाई बाबु बनाई कमललाई नागरिकता दिलाउन सिफारिस गरेका हुन् ।


नलगाड–२, चंखे पुनका १ मात्र सन्तान छन् । चंखेकी पत्नी कौशिला पुन हुन् । कमलले मिति २०७६।०६।२६ गते झुट्टो विवरण पेश गरी वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता लिएका हुन् । उनको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकतामा नागरिकता प्रमाण पत्र नं.०६२–०१७५–०२१३३ र जन्म मिति २०२९।०१।०२ रहेको छ ।


कमल पुन विगत ५/६ वर्षदेखि व्यापारको सिलसिलामा नलगाड–५, कालीमाठीमा बस्दै आएका छन् । कमलले यस अघि दाङ जिल्लामा घर भएको बताउँदै आएको स्थानीय लवकुश वलीले बताए । नागरिकता पाउनु अघि कमलले आफ्नो नाम कमल पुन नभनी कमल मात्र भन्ने गरेका थिए ।


‘नलगाड –२ मा कमलको वंशज तथा नाता सम्बन्ध कुनैपनि नरहेकाले उक्त वडाबाट के कसरी नागरिकता बन्यो,’ वलीले भने । कमलले नलगाड नगरपालिका–२ बाट नागरिकताको प्रमाणपत्र पाएपछि गाउँमा खैलाबैला मच्चिएको छ । झुट्टा विवरण पेश गरी नागरिकता लिएका कमल हाल नलगाड–५, कालीमाठीमा घुम्ती पसल गर्दै आएका छन् ।


प्रशासनले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी ललित कसमार बस्नेतले बताए । वडा कार्यालयको मुचुल्का, सिफारिस, बाबु/आमाको सनाखत लगायत कागजातका आधरामा नागरिकता वितरण गर्ने गरेको उनले बताए । झुट्टो विवरण पेश गरेर नागरिकता लिने पक्षलाई कानुन बमोजिम कारबाही गरीने प्रजिअ बस्नेतले बताए ।


प्रकाशित : श्रावण २६, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?