१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भवन रित्तै, उपचार जीर्ण भवनबाट

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका १०, मा रहेको स्वास्थ्यचौकीका लागि ४ कोठे नयाँ भवन बनाइएको छ  । तर गाउँपालिकाको लगानीमा बनाइएको भवन झन्डै डेढ वर्षयता खाली छ  ।

बिरामी भने जीर्ण भवनबाट उपचार गराउन बाध्य भइरहेका छन् । वडा ८ मा सञ्चालन भइरहको स्वास्थ्यचौकी आफ्नै भवनमा सार्न अलमल भएपछि उपचारमा समस्या भएको हो ।

आफ्नै जग्गामा स्वास्थ्यचौकी राख्न बनाइएको भवन प्रयोगमा नआउँदा त्यसको संरक्षण हुन नसकेको स्थानीय बताउँछन् । अहिले सञ्चालन भइरहेको स्वास्थ्यचौकी भवन भत्कन लागेपछि स्वास्थ्यकर्मी चिन्तित छन् । ‘पुरानो घरबाट उपचार र अन्य सेवा दिइरहेका छौं,’ स्वास्थ्यचौकी इन्चार्ज वीरबहादुर डाँगीले भने, ‘घर जीर्ण हुँदा सजिलै सेवा प्रवाह गर्न सकिएको छैन, भत्कने अवस्थाको चुहिने भवनमा उपचार गर्दा हामी नै जोखिममा छौं ।’ घाम लाग्दा बाहिर र पानी पर्दा कोलियामा उपचार गर्ने गरेको डाँगीले बताए । उनका अनुसार न घरको आँगन छ, न शौचालय ।


घर कच्ची हुँदा उपचारमा थप समस्या भइरहेको उनी बताउँछन् । स्वास्थ्यचौकी व्यवस्थापन समितिले निर्णय नगर्दा स्वास्थ्य चौकी नयाँ भवनमा सार्न नसकेको उनले जानकारी दिए । गाउँपालिकाले पटकपटक स्वास्थ्यचौकी सार्नु भनेर चिठी पठाए पनि स्वास्थ्यचौकी व्यवस्थापन समितिले त्यसको वास्ता गरेको छैन ।

वडा ८ का अध्यक्ष कर्णबहादुर खडका स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष छन् । स्वास्थ्यचौकी साबिक पेउघा गाविसको हो । साबिक पेउघा गाविसलाई त्रिवेणी गाउँपालिकाको ८, ९ र १० वडामा विभाजन गरिएको छ । अहिले वडा ८ मा स्वास्थ्यचौकी छ । वडा १० मा स्वास्थ्यचौकीका लागि भवन बनाइएको छ । स्वास्थ्यचौकी रहेको ठाउँबाट नयाँ भवन पुग्न १० मिनेटको पैदल छ । तर, वडा फरक भएपछि व्यवस्थापन समितिले स्वास्थ्यचौकी नयाँ भवनमा सार्न मानेको छैन ।


व्यवस्थापन समिति अध्यक्ष खडकाले स्वास्थ्यचौकी रहेको हालको घर जीर्ण रहे पनि वडा १० मा नभई वडा ८ कै अर्को सुरक्षित ठाउँमा स्वास्थ्य चौकी सारिने बताए । ‘कानुनी रूपमै वडा ८ मा स्वास्थ्यचौकी उल्लेख छ, वडा १० मा छैन,’ अध्यक्ष खडकाले भने, ‘वडा १० मा स्वास्थ्यचौकी भएको र ८ मा नभएको बनाउने हो भने मात्रै वडा १० मा सार्न सकिन्छ ।’ वडा १० मा प्रसूति गृहका लागि भवन बनेको उनको भनाइ छ । प्रसूति गृहका लागि बनेको भवनमा स्वास्थ्य चौकी सार्न सक्ने अवस्था नरहेको उनको दाबी छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?