१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कक्षा छ, शिक्षक छैनन्

कान्तिपुर संवाददाता

मुगु — छायानाथरारा नगरपालिका २, स्थित बालमन्दिर आधारभूत विद्यालयमा ब्रेललिपिमार्फत पठनपाठन नहुँदा दृष्टिविहीन विद्यार्थीलाई सास्ती भएको छ । ब्रेललिपिमार्फत पठनपाठन गराउने शिक्षकको व्यवस्था छैन । जसले पठनपाठन पनि प्रभावित भएको छ ।

कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । २०६० बाट दृष्टिविहीनका लागि पठनपाठन सुरु गरिए पनि पर्याप्त पूर्वाधार अभावमा विद्यार्थी सास्ती भोग्न बाध्य भएका हुन् । दृष्टिविहीनमैत्री वातावरण, संरचना, पाठ्यपुस्तक, शैक्षिक सामग्रीलगायत व्यवस्था नहुँदा पठनपाठनमा सास्ती भएको दृष्टिविहीनको गुनासो छ ।

ब्रेललिपि पढाउने दक्ष शिक्षक नहुँदा पढाइ प्रभावित भइरहेको उनीहरू बताउँछन् । ‘शैक्षिक सत्र सुरु भएको ४ महिना भइसक्यो, तर तालिमप्राप्त शिक्षकको व्यवस्था नहुँदा हामीले पढ्न पाएका छैनौं,’ कक्षा ४ मा अध्ययनरत अनिल शाहीले भने, ‘शिक्षकले अन्य विद्यार्थीलाई पढाएको सुनेकै भरमा अध्ययन गर्न बाध्य छौं ।’

विद्यालयमा अन्य विद्यार्थी र दृष्टिविहीनलाई एउटै कक्षामा राखेर पढाउने गरिएको शिक्षकको भनाइ छ । प्रधानाध्यापक दिलीपकुमार शाहीले पर्याप्त पूर्वाधार अभावमा दृष्टिविहीनलाई छुट्टै राखेर पठनपाठन गराउन समस्या भएको जानकारी दिए । ‘साधारणतर्फ समेत शिक्षक अभावको समस्या झेल्दै आएका छौं, विशेषतर्फ त एकजना पनि शिक्षक छैनन्,’ उनले भने ।

विभिन्न निकायमा ब्रेललिपि अध्ययन गराउने शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको उनी बताउँछन् । नगरपालिकाले समेत शिक्षक व्यवस्थापनमा बेवास्ता गरिरहेको उनको आरोप छ । उनका अनुसार विद्यालयमा १० दृष्टिविहीनले अध्ययन गरिरहेका छन् ।


दृष्टिविहीन विद्यार्थीलाई यसअघि पठनपाठन गराइरहेका स्रोत शिक्षक हीरालाल रावतले जागिर छोडेपछि पढाइमा समस्या भएको हो । शिक्षक अभाव भएपछि शिक्षिका जानसा मल्ललाई ब्रेललिपिको ७ दिने आधारभूत तालिममा सहभागी गराइएको थियो । ७ दिने तालिममार्फत ब्रेललिपिबारे सामान्य जानकारी पाए पनि त्यो विद्यार्थी पढाउन पर्याप्त नभएको उनले सुनाइन् ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?