कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बनाइँदै भैंसी स्रोत केन्द्र

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लामा कर्णाली प्रदेशस्तरीय भैंसी स्रोत केन्द्र स्थापनाको तयारी गरिएको छ । स्रोत केन्द्र स्थापनाका लागि गत आवदेखि नै काम सुरु गरिएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले स्रोत केन्द्र निर्माणको काम गरिरहेको जनाएको छ ।

केन्द्रका लागि गत आवमा झन्डै सवा करोड रुपैयाँ लगानी गरिएको थियो । स्रोत केन्द्र स्थापनाको पूर्व तयारीस्वरूप जिल्लाका विभिन्न ८ भैंसी फर्मले बजेट पाएर व्यावसायिक भैंसीपालनलाई व्यवस्थित गरेका छन् ।

मन्त्रालयले भैंसीपालनमा लागेका, व्यक्ति, समूह तथा सहकारीलाई अघिल्लो आवमा १ करोड ८ लाख रुपैयाँ अनुदान दिएको जनाएको छ । अनुदान लिएका सबै फार्मले काम सुरु गरिसकेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका भेटेरिनरी अधिकृत ज्ञानुकुमार गौतमले बताए ।

अघिल्लो आवमा मुसीकोट नगरपालिका १०, को छवि बहुद्देश्यीय सहकारी संस्था र वडा ९ को कामी बुढा जनस्मृति सहकारी संस्थाले सयुंक्त रूपमा भैंसीपालनका लागि ४० लाख अनुदान पाएका थिए । मुसीकोट नगरपालिका १२, को ओली भैंसी पालन फार्मले ५ लाख, त्रिवेणी गाउँपालिका ६, स्थित मनशान्ति बहुद्देश्यीय कृषि तथा पशु विकास केन्द्रले ४ लाख अनुदान पाएका छन् ।

मुसीकोट नगरपालिका ४ को मित्रता भैंसीपालन कृषि समूहले १२ लाख ९३ हजार, वडा ७ को सयपत्री भैंसी पालन फार्मले ५ लाख र वडा २ को सिद्धबाबा भैंसीपालन फर्मले ७ लाख अनुदान लिएर व्यावसायिक भैंसीपालन गरिरहेका हुन् । त्यस्तै बाँफिकोट गाउँपालिकाको रुनेपानी कृषि सहकारी संस्थाले १७ लाख ६९ हजार र वडा १ को लगनशील कृषक समूहले १६ लाख ५९ हजार अनुदान प्राप्त गरेको केन्द्रले जनाएको छ ।


जिल्लामा भैंसीपालनको राम्रो सम्भावना रहेकाले स्रोत केन्द्र बनाउन खोजिएको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘यहाँ भैंसीको राम्रो सम्भावना देखिएको छ, त्यसैले अन्यत्र पठाउने गरी स्रोत केन्द्र बनाउन लागिएको हो,’ उनले भनिन् ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?