कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रविधिबाटै कृषि परामर्श

तरकारी किसान भन्छन्, ‘केही समस्या देखिए भिडियो च्याटमार्फत विज्ञहरूलाई समस्या देखाएर समाधान गर्ने प्रयास गरेका छौं’
विप्लव महर्जन

सल्यान —  साबिक कृषि विकास कार्यालय खारेज भएपछि जिल्लाका किसान लामो समय खेतीमा प्राविधिक समस्या भोग्न बाध्य भए । कृषि ज्ञान केन्द्र जिल्लामै राख्न माग गर्दै अगुवा किसान विभिन्न निकायमा पुगे । तर, सरकारी निकायबाट बेवास्ता भएपछि किसानले प्रविधिमार्फत कृषि परामर्श तथा प्राविधिक सल्लाह लिन थालेका छन् ।

प्रविधिबाटै कृषि परामर्श

पछिल्लो समय किसानले इन्टरनेट, मोबाइल फोन, एप्स र गुगलमार्फत व्यावसायिक खेतीबारे जानकारी लिन थालेपछि अधिकांश समस्या समाधान गर्न सजिलो भएको छ । सल्यानमा जिल्लास्तरीय कृषि कार्यालय छैन ।

स्थानीय तहमा समेत कृषि प्राविधिक पर्याप्त नभएपछि किसानले प्रविधिको प्रयोग गरी विज्ञको राय लिने गरेका हुन् । अहिले रुकुम पश्चिमको कृषि ज्ञान केन्द्रमार्फत सल्यानमा कृषि विकासका काम भइरहेका छन् । शारदा नगरपालिका ६, बरलाका अगुवा किसान लोकबहादुर भण्डारीले काठमाडौंमा रहेका विज्ञसँग सम्पर्क गरी अधिकांश प्राविधिक समस्या समाधान गर्दै आएको बताए । उनले कृषि विशेषज्ञ डा. केदार बुढाथोकीसँग अनलाइनमार्फत सम्पर्क गरी व्यवसायमा आएका समस्या समाधान गर्दै आइरहेको जानकारी दिए ।

‘तरकारीमा केही समस्या देखिए लाइभ भिडियोबाट रोग लागेको बिरुवा देखाइ डा. बुढाथोकीमार्फत सल्लाह लिने गरेको छु,’ उनले भने, ‘उहाँले १ वर्षदेखि मेरो बारीको सबै समस्या समाधान गरिदिनुभएको छ ।’ उनले विज्ञको सल्लाहका आधारमा खेती गर्दै जाँदा अधिकांश प्राविधिक समस्या समाधान गर्न आफैं सक्षम हुन थालेको जनाए । उनले १८ टनेल बनाएर खेती गरी वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् ।


१० रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका बरलाकै भीमबहादुर बुढाथोकीले कृषि कार्यालय नहुँदा प्राविधिक समस्या समाधान गर्न प्रविधिको सहारा लिनुपरेको बताए । उनी सुरुमा बारीमा केही समस्या देखिए समाधानका लागि ‘गुगल सर्च’ गर्छन् । त्यसबाट समाधान नभए कृषिका विज्ञलाई भिडियो च्याटमार्फत सम्पर्क गरी विभिन्न रोगकिराको प्रकोप नियन्त्रणबारे जानकारी लिने गरेको उनले बताए । ‘चिनजानका धेरै कृषि प्राविधिक मेरो फेसबुकमा साथी हुनुहुन्छ,’ उनले भने, ‘तरकारीमा केही समस्या देखिए उहाँहरूलाई भिडियो च्याटमार्फत समस्या देखाएर समाधान गर्ने प्रयास गरिरहेको छु ।’

उनले तरकारीबाटै वार्षिक ८ लाखसम्म आम्दानी गरेका छन् । अर्का किसान हेमराज भण्डारीले आफ्नो मोबाइलमा कृषिसम्बन्धी विभिन्न ७ एप्स डाउनलोड गरेका छन् । बारीमा केही समस्या देखिए उनी सबै एप्समा अध्ययन गर्छन् । समाधान नभए यसअघि चिनजान भएका कृषि अधिकारी र प्राविधिलाई फोन र भिडियो कलमार्फत सम्पर्क गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २९, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?