३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘न घर रह्यो न बारी’

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ६, मनकाबगरका ६ घरपरिवारले केही दिनअघि घर नै छाडिसकेका थिए । ठूलीभेरी नदी किनारनजिकैका कालीबहादुर बोहरा, वीरबहादुर बोहरा, जुनबहादुर बोहरा, गोरख बोहरा, नन्द बोहरा र दीपक बोहराको परिवारले घर छाडेका थिए ।

हरेक दिन ठूलीभेरी नदीको छाल घरनजिक सर्दै गरेको देखेका उनीहरूले ज्यान जोगाउन घर छाडे । मंगलबार राति ठूलीभेरीले उनीहरूको घरबास उठाइदियो ।


अघि नै बास सरेकाले उनीहरूको जीउ त जोगियो, तर घरबास र जग्गा भने ठूलीभेरी बगाएर बगर बनायो । बुधबार बिहान उठदा कालीबहादुर, वीरबहादुर, जुनबहादुर र गोरखले घर तथा जमिनको निशानी नै देखेनन् । नन्दराम र दीपकले ठूलीभेरीको भंगालोसँगै हल्लिरहेको आधा घर देखे । आधा घर र जग्गा भेरीले राति नै बगाइसकेको थियो ।


सोही ठाउँमा ठूलीभेरी घर बगाएको यो पहिलोपटक होइन । केही दिनअघि पनि सोही ठाउँका ५ घर यसरी नै बगाइदिएको थियो । जमिनसँगै घर बगाइदिएपछि उनीहरूलाई आफन्तको घरमा बस्नुपर्ने बाध्यता छ । यसमध्ये अघिल्लोपटक घरजग्गा गुमाएकी विष्णु बुढाको परिवार रित्तो भएको थियो ।


उनको न अर्को घर छ न अर्को ठाउँ जमिन नै । ‘ठूलीभेरीले उठिबास लायो,’ उनले भनिन्, ‘अब कहाँ जाउँ, के खाउँ भएको छ ।’ घरसँगै अन्नपात र लत्ताकपडा बगाइएपछि समस्यामा परेको कालीबहादुर बताउँछन् । ‘बेलुकासम्म घर हेरेरै सुतेका थियौं, बिहान उठदा घरबारी थियो कि थिएन जस्तो भएको छ,’ उनले भने ।


अघिल्लो वर्षजस्तै यसपटक पनि ठूलीभेरीले धेरैलाई समस्यामा परेको वडाध्यक्ष डिलबहादुर सार्कीले बताए । ‘हरेक वर्ष कसै न कसैको घरबारी बगेकै हुन्छ,’ उनले भने, ‘रोकथामको उपाय पनि छैन ।’ समस्यामा परेकाहरूलाई तत्कालका लागि गास, बास र कपासको व्यवस्थाका लागि पहल गरिरहेको उनको भनाइ छ ।


गाउँमा एक विद्यालयसहित अन्य घर पनि उच्च जोखिममा छन् । अघिल्लो वर्ष ठूलीभेरीले गाउँका आधा दर्जन घर बगाएको थियो । जाजरकोट जाने सडक निर्माणका क्रममा झरेका ढुंगा र माटोले ठूलीभेरीले बहाव परिवर्तन गरी बस्ती कटान थालेको नगरपालिकाले जनाएको छ ।


अघिल्लो वर्ष कटान गरिएको क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारले झन्डै २ करोड रुपैयाँको जाली लगाएको थियो । नगर प्रमुख गोर्खबहादुर केसीले अघिल्लो वर्षको तुलनामा हालसम्म कम क्षति भएको बताए ।


'कजवे’ले यात्रा सहज

विगत वर्षमा राप्ती लोकमार्गमा पर्ने पितिवाङस्थित सिम्रुतुखोलाले दैनिक सयौं यात्रु तथा बालवाहक सवारी रोक्थ्यो । खोलाको बहाव नघटेसम्म वारिका सवारी वारि र पारिका गाडी पारि नै रोकिन्थे । तर यो वर्ष खोलाकै कारण एउटा यात्रुले दुःख व्यहोर्नुपरेको छैन ।


सडक डिभिजन कार्यालय चौरजहारीले अस्थायी रुपमा ‘कजवे’ निर्माण गरेपछि सवारी साधन आउजाउमा सजिलो भएको छ । ‘हरेक वर्ष यो खोलाले सयौंलाई दुःख दिने गरेको थियो,’ स्थानीय लालबहादुर ओलीले भने । सडक डिभिजन कार्यालयले केही ह्युम पाइप राखेर गाडी गुडाउने व्यवस्था मिलाएको हो ।


सल्ले तथा रुकुम पूर्वको पोखरासम्मको सडक हरेक वर्षामा बन्द हुन्थ्यो । उक्त खण्डको २ ठाउँमा पर्ने खोलाले सवारीसाधन रोक्ने गर्थे । तर अघिल्लो वर्षा र यो वर्षामा ती खोलाले मोटरसाइकलबाहेक अरु सवारी रोकेका छैनन् । खोलामा कजवेले सवारी साधन वरपर गर्न सघाइरहेको छ ।


बाँफिकोट गाउँपालिका ३, मा पर्ने तिल्चाखोला र वडा २ मा पर्ने पूमाखोलामा गाउँपालिका कजवे बनाएको छ । यही कजवेले यात्रा सजिलो भएको चालक तिलक पौडेलले बताए । खोला बढेका दिन जोखिमपूर्ण हुने भए पनि खोलाकै कारण एक दिन पनि गाडी नरोकिएको उनको भनाइ छ ।


ती खोलामा ‘कजवे’ नभए यो वर्षामा पनि त्यस क्षेत्रका स्थानीयले पैदलै यात्रा गर्नुपर्ने बाध्यता थियो । बाँफिकोट गाउँपालिकाको ४ र ६ नम्वर वडा जोड्न बडगाइँ खोलामा ‘कजवे’ निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले हरेक वर्ष स्थानीयले दुःख पाइरहेको अवस्थालाई ध्यान दिएर ‘कजवे’ बनाइएको बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?