२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सल्यानमा गाईजात्रा पर्व मनाइयो

विप्लव महर्जन

सल्यान — सुरिलो बाँसुरीको धुन, मादलुको ताल घन्किरहेको छ । मुजुराको आवाजपनि कम छैन । चिटिक्क पारेर ४ जना बैरागी(नाच्नेलाई बैरागी भन्ने गरिन्छ) त्यसकै तालमा नाचिरहेका थिए । मादल र बाँसुरीको आवाज सदरमुकाम वरिपरी गुञ्जिरहेको छ । मानिसहरुको चहलपहल बढ्दो छ । नेवार बस्ती रहेको सदरमुकामलाई मनोरञ्जनात्मक बनाउने गाईजात्रा पर्व सल्यानमा बिहीबार र शुक्रबार मनाइएको छ । 

सल्यानमा गाईजात्रा पर्व मनाइयो

मृत आत्माले शान्ति पाओस भन्दै मरेका घरबाट गाई निकालेर गाईजात्रा पर्व मनाइएको हो । मृतकको सम्झनामा निकालिएको गाईजात्रा सदरमुकाम वरिपरि घुमाइयो । सदरमुकाम खलंगा मात्र नभई श्रीनगर र लुहाममा पनि गाईजात्रा पर्व मनाइएको छ । दुई दिनसम्म निकालिने गाईजात्रा मध्ये जनैपूर्णिमाको दिनमा निकालिनेलाई बुढी र दोस्रो दिनमा निकालिनेलाई तरुनी गाई भन्ने गरिएको जानकारहरु बताउँछन् ।


सातासम्म विभिन्न जात्रा मनाउने प्रचलन भएपनि गाईजात्रालाई सबैभन्दा बढी महत्व दिने गरेको जानकारहरु नै बताउँछन् । नेवार बस्ती भएका देशका विभिन्न ठाँउमा गाईजात्रा पर्व मनाउने गरेपनि अन्य जिल्लाको तुलनामा सल्यानको गाईजात्रा अलि फरक छ । मृत आत्माको चिर शान्तिका लागि नै गाईजात्रा पर्व मनाउने गरेको दिलाराम श्रेष्ठले बताउँछन् । अन्य जात्राको तुलनामा गाईजात्रा हेर्न आउने मानिसहरुको उपस्थिति धेरै हुने गरेको उनले जानकारी गराए ।


मृत्यु भएका पुरुष तथा महिलाको आत्मा स्वर्गको ढोका बाहिर घुमिरहने र जनैपूर्णिमाको दिन स्वर्गको ढोका खुल्ने र बैतर्नी नदी कामधेनु गाईले तराउने हुँदा मृत व्यक्ति स्वर्ग जाने पाउन् भन्ने मान्यतामा यो पर्व मनाइएको हो । मृतआत्माको शान्तिको कामना गर्दै जनैपूर्णिमाको दिनमा मृत व्यक्तिको घरबाट गाईजात्रा निकाल्ने गरेको द्वारिकादास श्रेष्ठले बताए ।



उनका अनुसार अन्यत्र ठाँउमा गाईलाई बजार परिक्रमा गराउने तथा सानो बालकलाई भिक्षुको रुपमा सिंगारेर बजार परिक्रमा गराउने परम्परा छ । सल्यानमा डोकोमा चारैतिरबाट बाँसले बाँधेर मानिसको आकार दिइ रंगीबिरंगी कपडाले मोडेर सजिसजाउ पारेर मृतकको तस्बिर झुण्ड्याइन्छ । डोको भित्र एकजना बस्छन् र ४ जनाले मादल बजाउँछन् । बाँसुरी र मुजुरा बजाउँछन् । त्यसको तालमा सजिएका चार बैरागी घरअगाडि नच्दै बजार परिक्रमा गर्छन् ।


जनैपूर्णिमादेखि गाईजात्रा पछि सातासम्म मनोरन्जन गर्ने क्रममा रोपाई जात्रा, बाघ जात्रा, गणेश जात्रा, भिमसेन जात्रा र भगवान दही जात्रा मनाउने गरिन्छ । मानिसहरु दिनप्रतिदिन ब्यस्त बन्दै गएकाले पनि गाईजात्रा बाहेक अन्य जात्रा मनाउने चलन कम हुँदै गएको स्थानीय बुढापाकाको भनाइ छ।

प्रकाशित : श्रावण ३१, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?