३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आस्थाको केन्द्र बन्दै महाबु

बर्सेनि करिब १० हजार तीर्थालुको आगमन
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै ५ नम्बर प्रदेशको बाँके र बर्दियाका अधिकांश भूभाग अवलोकन गर्न सकिने
ज्योति कटुवाल

दैलेख — धार्मिक आस्थाको केन्द्र महाबुमा भक्तजनको आकर्षण बढ्दै गएको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र हुम्लाका हजारौं भक्तजन बर्सेनि पूजाका लागि महाबु धाम पुग्ने गरेका छन् । धाममा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ ।

आस्थाको केन्द्र बन्दै महाबु

महाबु पुग्ने भक्तजन पूजाका लागि जनै पूर्णिमाको अघिल्लो दिन पाटन पुग्नैपर्छ । पूर्णिमाको दिन पुगे पालो नपाइने भएपछि तीर्थालु कष्टकर पैदल यात्रा गर्दै महाबु पुग्ने गरेको स्थानीय रजबहादुर सिंहले बताए ।


उनका अनुसार लिस्नेको ठाडो उकालो, विभिन्न साना–ठूला ताल र पाटन पार गर्दै सर्वसाधारण महाबु पुग्ने गरेका छन् । उनले अहिले महाबुका भीरपाखा चरनका लागि ल्याएका भेडाबाख्रा र गाईभैंसीले भरिएको जनाए । महाबु जाँदा बाटोमा भेटिने रंगीबिरंगी बुट्यान, लेकाली फूल र फराकिला पाटनले तीर्थयात्रीलाई मन्त्रमुग्ध बनाउने उनी बताउँछन् ।


लेकाली चराचुरुङ्गी, पशुचौपाया र वन्यजन्तुको भीडमा रमाउँदै तीर्थयात्री महाबुसम्म पुग्ने गरेका हुन् । समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइको धाम महाबु र कालीकोट महाबु गाउँपालिकाको सिमानामा पर्छ । तीर्थस्थलको नामबाटै यी २ स्थानीय तहको नामकरण भएको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए ।


उनका अनुसार हिउँदमा बाक्लो हिमपात हुने भए पनि वर्षा लागेपछि महाबुमा स्थानीय र भक्तजनको घुइँचो लाग्ने गरेको छ । खान र बस्नको व्यवस्था नभएकाले अधिकांश तीर्थालु घरबाटै ‘टेन्ट’ र ‘म्याट’ लिएर महाबु पुग्ने गरेको उनी बताउँछन् । महाबुमा बर्सेनि करिब १० हजार तीर्थालु जाने गरेको उनले जानकारी दिए ।


दैलेखको र कालीकोटको महाबु गाउँपालिकाको सीमामा रहेको महाबु धाममा पूजा गर्दै तीर्थालु । तस्बिर सौजन्य : विशाल सुनार


३ पटक बिजोर अंक भएको दिनमा महाबु गए मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको स्थानीय पुरोहित कुमार न्यौपानेले बताए । उनका अनुसार महाबुमा एक पटकमा एउटा बर मात्र माग्न पाइन्छ । सुन्दर पाटनको बीचमा विशाल ढुंगा र त्यसमाथि रहेको शिवलिंगमा हरेक वर्ष श्रावण पूर्णिमाको अवसरमा भव्य भेला लाग्ने गरेको उनले जानकारी दिए । ‘पाटन बीचमा रहेको ढुंगामाथिको मूर्तिलाई महाबु जगनाथ महादेवको रूपमा पुजिन्छ,’ उनले भने, ‘महाबुको तीर्थ भरे र पूजा गरे मनोकांक्षा पूर्ण हुने पुस्तौदेखि जनविश्वास रहेकाले बर्सेनि भक्तजनको भीड बढिरहेको छ ।’


महाबु धामनजिकै रहेको रङ फेर्ने ताल । तस्बिर सौजन्य : विशाल सुनार


महाबुको धार्मिकसँगै पर्यटकीय महत्त्व बढ्दै गएपछि बाह्य पर्यटकसमेत आउन थालेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार महाबुबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै ५ नम्बर प्रदेशको बाँके र बर्दियाका अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । रातिको समयमा भारतको नयाँदिल्ली र लखनउसमेत देखिने गाउँपालिका अध्यक्ष शाहीले जनाए ।


महाबुको विकास गरी पर्यटकीय र धार्मिक आस्थाको केन्द्र बनाउन सकिने जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए । उनका अनुसार त्यसका लागि करिब ४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ । ‘महाबुलाई सडक सञ्जालमा जोड्न संघीय सरकारको सहयोगमा त्रिदेशीय सडक निर्माणको काम अघि बढेको छ,’ उनले भने, ‘गुरुयोजना अनुसार आवश्यक बजेटको व्यवस्था गर्न ३ वटै तहका सरकारको ध्यानाकर्षण गराएका छौं ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?