कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

३ गाउँपालिकाको सेवा सदरमुकामबाटै

भीमबहादुर सिंह

जाजरकोट — नागरिकताको सिफारिस लिन कुशे गाउँपालिका ९ की समीक्षा गौतम ४ दिनअघि वडा कार्यालय गइन् । त्यहाँ वडासचिव फेला नपरेपछि उनलाई २ दिन हिँडेर सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता भयो । सदरमुकाममा आउँदासमेत उनको सास्ती सकिएन ।

३ गाउँपालिकाको सेवा सदरमुकामबाटै

उनलाई वडा कार्यालय खोज्नै एक दिन लाग्यो । गाउँबाट आएको चौथो दिन मात्र उनी नागरिकता बनाएर सदरमुकामबाट फर्किइन् ।


जुनीचाँदे गाउँपालिका ७ का कर्मराज घर्ती १ घण्टा हिँडेर नागरिकताको सिफारिस लिन वडा कार्यालय पुगे । उनी पुग्दा वडा कार्यालयमा ताला झुन्डिएको थियो । उनी ३ दिन हिँडेर सदरमुकाम आउन बाध्य भए । उनी पनि ४ दिनपछि नागरिकता बनाएर घर फर्किएका छन् ।


बारेकोट गाउँपालिका ४ का धीरेन्द्र सिंहले पनि नागरिकताको सिफारिसकै लागि ५ दिन दौडधुप गर्नुपर्‍यो । यी प्रतिनिधि उदाहरण मात्र हुन्, गाउँपालिकाको केन्द्र र वडा कार्यालयमा अध्यक्ष र कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकाको सेवा प्रवाह सदरमुकाम खलंगाबाटै हुने गरेको छ । तोकेको केन्द्रबाट सेवा प्रवाह नहुँदा दुर्गमका सेवाग्राहीलाई वडाध्यक्ष र कर्मचारी खोज्दै हैरान हुने गरेका छन् ।


वडाध्यक्ष फेला परे सचिव नभेटिने र सचिव फेला पर्दा अध्यक्ष नहुने समस्याले सर्वसाधारण दिक्क छन् । नागरिकता बनाउन आउजाउ र खानबस्नमा ७ हजार खर्च भएको गौतमको गुनासो छ । ‘गाउँमै सिंहदरबार आयो भन्थे,’ उनले भनिन्, ‘तर, सामान्य कामका लागि पनि गाउँबाट सदरमुकाम धाउनुपर्ने वाध्यताले छाडेन ।’


सेवाग्राहीलाई छोराछोरीको जन्मदताकै लागि खलंगा धाउनुपर्ने बाध्यता छ । वडा कार्यालय स्थापना भएको ३ वर्ष बित्दा पनि कर्मचारीले गाउँमा बसेर सेवा प्रवाह गरेका छैनन् । सदरमुकाममा कर्मचारी खोज्दै हैरान हुने गरेको बारेकोट गाउँपालिका १, का यज्ञ ज्योतिले बताए ।


जन्म, विवाह तथा मृत्यु दर्ता, नागरिकता र बसाइसराइजस्ता सिफारिस लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको स्थानीय हरिबहादुर सिंहले बताए । जाजरकोटका स्थानीय तहमा ४० प्रतिशत वडा कार्यालयमा नियमित कार्यालय सञ्चालन हुन नसकेको उनी बताउँछन् । वडासचिवको पदपूर्ति नहुँदा एउटै सचिवलाई ९ वडाको जिम्मा दिनुपरेको कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताए ।


कर्मचारी समायोजनका कारण भएका वडासचिव पनि सरुवा भएर अन्यत्र जाँदा थप समस्या भएको पौडेलको भनाइ छ । ‘एउटै वडाबाट अर्को वडा जान १ दिन हिँड्नुपर्छ,’ उनले भने, ‘१ जनाले पुरै वडामा पुगेर सेवा दिनसक्ने सम्भावना छैन ।’


गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी सुविधाभोगी बन्दा खलंगामै अघोषित कार्यालय स्थापना गरिएको हो । कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाका जनप्रतिनिधिले पूर्वाधार, सञ्चार, विद्युत्लगायत समस्याका कारण सदरमुकामबाटै सेवा प्रवाह गरिरहेको दाबी गरेका छन् ।


प्रमुख प्रशासकीय अधिकृत पौडेलले कुशे र बारेकोटमा १/१ जना मात्र वडा–सचिव रहेको जनाए । ३९ कर्मचारी आवश्यक पर्ने गाउँपालिकामा १ एकजना मात्र प्रशासनमा काम गर्ने कर्मचारी कार्यरत रहँदा समस्या भएको उनको गुनासो छ । गाउँगाउँमा वडा कार्यालय स्थापना गरिए पनि जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको उनी बताउँछन् । उनले विवाह, जन्म, मृत्यु, बसाइसराइलगायत पञ्जीकरणको काम गर्न स्थायी कर्मचारी हुनुपर्ने प्राबधान रहेको सुनाए ।


कतिपय वडाध्यक्ष र कर्मचारी झोलामा कार्यालयको छाप तथा कागज ल्याइ सदरमुकाममै बस्ने गरेका छन् । बारेकोट गाउँपालिका ९ का वडाध्यक्ष शशिराम गौतमले गाउँमा कर्मचारी नजाने भएकाले सदरमुकाम बस्नुपर्ने बाध्यता भएको बताए । ‘झोलामा लेटरप्याड र छाप बोकेर हिड्छौं,’ उनले भने, ‘जहाँ सेवाग्राही फेला पर्छन् त्यहीनेर सेवा दिन्छौं ।’


जुनीचाँदे गाउँपालिकाको केन्द्र विवादका कारण पनि स्थानीय बासिन्दाले सास्ती भोग्दै आइरहेका छन् । निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने कानुनी व्यवस्था छ । ६ महिनापछि निर्णय गर्दा गाउँसभाको दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्छ ।


गाउँपालिकाको केन्द्र लुहादह राख्ने कि सानाखोला भन्नेमा जनप्रतिनिधि विभाजित भएपछि समस्या भएको हो । गाउँसभाको दुईतिहाइ मत कुनै पनि ठाउँको पक्षमा नपुग्दा निर्णय हुन सकेको छैन । स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदेको केन्द्र पराले तोकेको थियो । तर, सबैलाई पायक पर्ने भन्दै फेरि सानाखोला कायम गरियो ।


अध्यक्ष कृष्णबहादुर केसीलगायत केही जनप्रतिनिधि लुहादहमा केन्द्र हुनुपर्ने अडानमा छन् । तर, दुईतिहाइ मत नपुग्दा सदरमुकामबाटै सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाको केन्द्र विवादका कारण २ वर्षदेखि कर्मचारी गाउँ जान सकेका छैनन् । गाउँपालिका अध्यक्षलगायत केही जनप्रतिनिधिले गाउँसभाको बहुमत निर्णयबाटै लुहादहमा केन्द्र राख्ने निर्णय भएको दाबी गर्दै आइरहेका छन् ।


उनले कुनै हालतमा लुहादहबाहेक अन्यत्र केन्द्र हुन नदिने अडानमा रहेको बताए । वडा ९ का अध्यक्ष रामबहादुर शाहीले भने लुवादह केन्द्र राख्नेबारे बहुमतको निर्णय भनेर गलत प्रचार गरिएको जनाए । उनले किर्ते हस्ताक्षर गरी बहुमत पुगेको हल्ला गाउँपालिका अध्यक्ष केसीले गरेको आरोप लगाए ।


गाउँपालिकाको केन्द्र विवादका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको प्रमख प्रशासकीय अधिकृत सर्पदल शाहीले बताए । अन्तिम टुंगो नलागेसम्म जुनीचाँदेको सेवा खलंगाबाटै प्रवाह हुने उनको भनाइ छ । उनका अनुसार केन्द्र विवादका कारण बैंक र प्रहरी चौकीको पनि टुंगो लाग्न सकेको छैन ।


कुशे र बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रमा भने प्रहरी चौकीका साथै बैंक स्थापना भइसकेका छन् । कुशे गाउँपालिकाको केन्द्र थर्पुभार्मा र बारेकोट गाउँपालिकाको लिम्सामा बैंक र प्रहरी चौकी स्थापना भएका हुन् ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?