कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खलंगामा गाईजात्राको रौनक

विप्लव महर्जन

सल्यान — साता दिनसम्म चल्ने गाईजात्रा पर्वको रौनकले सदरमुकाम खलंगालाई छोपेको छ । यो वर्ष मृत्यु भएका परिवारका सदस्यले उनीहरूको आत्माको शान्तिका लागि जात्राको दोस्रो दिन (शुक्रबार) गाईजात्रा निकाले । मृतकका घरबाट निकालिएका गाईलाई सदरमुकामका विभिन्न ठाउँमा घुमाइएको थियो । 

खलंगामा गाईजात्राको रौनक

खलंगासहित श्रीनगर र लुहाममा पनि गाईजात्रा मनाइएको छ । जात्रा व्यवस्थापन समितिका अनुसार जनैपूर्णिमाको दिनमा निकालिने गाईलाई बूढी र दोस्रो दिनमा निकालिने गाइलाई तरुनी भनिन्छ ।


मृत्यु भएका आफन्तको सम्झनामा मनाइने चाड भएकाले नेवार समुदायमा गाईजात्राको महत्त्व विशेष रहेको स्थानीय दिलाराम श्रेष्ठले बताए । उनका अनुसार बाँसुरी, मादल र मुजुराको धुनसँगै जात्रा निकाल्ने परम्परा छ । उनले सिँगारिएका ४ बैरागी (नाच्ने मान्छे) लाई पनि र्‍यालीमा सहभागी बनाइने जनाए ।


बाजाको तालमा बैरागी नाच्ने चलन रहेको उनी बताउँछन् । ‘मरेका आफन्त अन्य दिन स्वर्गको ढोकाबाहिर घुमिरहने र जनैपूर्णिमाका दिन उक्त ढोका खोल्ने जनविश्वास छ,’ उनले भने, ‘मृतात्माले स्वर्गमा बास पाउन र उनीहरूको आत्माको शुद्धि होस् भन्दै बर्सेनि गाईजात्रा मनाइन्छ ।’


स्थानीय जानकार द्वारिकादास श्रेष्ठका अनुसार अन्य ठाउँमा मनाइने जाईजात्राभन्दा सल्यानको विधि फरक छ । देशका अन्य स्थानमा गाईसँगै सानो बालकलाई भिक्षुका रूपमा सिँगारेर बजार परिक्रमा गराउने परम्परा रहेको उनले सुनाए ।


सल्यान सदरमुकाम खलंगामा नेवार समुदायले निकालेको गाईजात्रा । तस्बिर : विप्लव/कान्तिपुर


‘खलंगाका नेवारले डोकोमा चारैतिरबाट बाँसले बाँधेर मानिसको आकार दिई रंगीबिरंगी कपडाले त्यसलाई मोडेर सजाउने गरेका छौं,’ उनले भने, ‘त्यसमा मृतकको तस्बिर झुन्डाई बजार परिक्रमा गरिन्छ ।’ एक डोकेसहित वाद्य(बादक टोली अगाडि लाग्ने र पछिपछि बैरागी नाच्ने चलन रहेको उनले जनाए । बैरागीलाई घरघरमा नचाउँदै बजार परिक्रमा गराइन्छ ।


जनै पूर्णिमादेखि एक सातासम्म खलंगाका टोलटोलमा रोपाइँ, बाघ, गणेश, भीमसेन र भगवान् दही जात्रा मनाउने गरिन्छ । ‘पछिल्लो समय जात्रालाई थप व्यवस्थित र आधुनिक बनाउँदै लिएका छौं,’ श्रेष्ठले भने, ‘अन्य जिल्लाभन्दा फरक तरिकाले मनाइने गाईजात्रा पछिल्लो समय खलंगाको पहिचान बन्दै गएको छ ।’

प्रकाशित : श्रावण ३२, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?