‘नो पार्किङ’मै सरकारी गाडी

ज्योति कटुवाल

वीरेन्द्रनगर — सामुन्ने ‘नो पार्किङ’ लेखिएको बोर्ड छ । भे१झ २७० नम्बर सेतो प्लेटको सरकारी गाडी तीन दिनदेखि त्यही बोर्डको आडमा रोकेर राखिएको छ । उक्त गाडी हटाउन न ट्राफिकले ध्यान दिएको छ, न त सम्बन्धित कार्यालयले नै गाडी अन्यत्र लगेको छ ।

‘नो पार्किङ’मै सरकारी गाडी

प्रदेश राजधानी वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन कति अस्तव्यस्त छ भन्ने यो एउटा उदाहरण हो । वीरेन्द्रनगरमा सडक जीर्ण त छन् नै, ट्राफिक व्यवस्थापन राम्ररी नहुँदा अझ बढी अस्तव्यस्तता बढेको छ । सडकमा गुड्ने सवारी र पैदलयात्रुले नियमको पालना नगर्ने मात्र होइन, पार्किङसमेत जथाभावी हुने गरेको छ ।


‘पार्किङ गर्न निषेध गरिएको क्षेत्रमै यो (सरकारी गाडी) रोकिएको तीन दिन भयो, अझैसम्म कसैको चासो छैन,’ होटल व्यवसायी भक्तबहादुर आरसी भन्छन्, ‘सडकमा अन्य ट्राफिक व्यवस्थापनको कुरा के गर्नु ?’


वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमै जथाभावी पार्किङ गरिनु सामान्यजस्तै लाग्ने गरेको छ । अस्तव्यस्तताकै कारण पछिल्लो समय सुर्खेतमा दुर्घटना पनि अधिक हुने गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा भएका ४१ सवारी दुर्घटनामा परी १ सय ७ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा दुर्घटना संख्या ४५ पुग्यो भने १ सय ४६ को मृत्यु भयो । चालु आर्थिक वर्षको एक महिनामै तीनवटा दुर्घटनामा तीन जनाको मृत्यु भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।


ट्राफिक नियम उल्लंघन गर्नेको संख्या पनि अधिक छ । गत आर्थिक वर्षमा २८ हजार ३ सय ५० सवारी साधनमाथि नियम उल्लंघन आरोपमा कारबाही गरिएको थियो । यसबापत १ करोड ६५ लाख ३५ हजार जरिवाना (राजस्व) संकलन भएको थियो । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क सञ्चालनमा ढिलाइ हुँदा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।


मंगलगढीचोकमा बसपार्क हुँदा झनै समस्या सिर्जना भएको सरोकारवाला बताउँछन् । आठ महिनाअघि निर्माण सम्पन्न भइसकेको नगरपालिका अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।


जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिजापति ट्राफिक जनशक्ति कम हुँदा चुनौती थपिएको बताउँछन् । उनका अनुसार सुर्खेतमा २६ जना ट्राफिक प्रहरीको दरबन्दी छ । ती जनशक्ति जिल्लाका अन्य क्षेत्रमा पनि खटाउनु पर्दा अभाव खडकने गरेको छ । ‘सुर्खेत प्रदेश राजधानी त बन्यो तर त्योअनुसार दरबन्दी व्यवस्थापन हुन सकेको छैन,’ उनले यसले गर्दा ट्राफिक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।’


नगर क्षेत्रको ट्राफिक कार्यलाई व्यवस्थित गर्ने जिम्मेवार निकाय वीरेन्द्रनगर नगरपालिकाले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । यसले गर्दा फुटपाथमा पार्किङ गर्ने क्रम बढ्दो छ । छाडा चौपाया र फुटपाथले गर्दा पनि नगरभित्रको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गरेको छ ।


वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी सिटी बसपार्क भदौ १५ सम्म सञ्चालनमा आउने र त्यसपछि मंगलगढी क्षेत्रमा केही सहजता आउने बताउँछन् । उनले जिल्ला ट्राफिकसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्न बजेट पनि विनियोजन गरिएको बताए । चालु आर्थिक वर्षमा फुटपाथ व्यवस्थापन, पार्किङस्थल र ट्राफिक चिह्न राख्नेलगायत काम हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?