२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुर्खेतमा 'कपडा बैंक’

सुर्खेत — तपाईंसँग आफूलाई लगाउन नमिल्ने वा फिट नहुने कपडा छन् ? यस्ता कपडा दराजमा, बोरामा थन्किरहेका हुन सक्छन् ।

कतिपयलाई त घरमा राख्ने ठाउँ नभएर तनाव पनि भएको हुन सक्छ । अब चिन्ता गर्नु पर्दैन । सुर्खेतमा त्यस्ता कपडा दान गर्न मिल्ने गरी ‘कपडा बैंक’ स्थापना गरिएको छ ।


यस्तो बैंक, जहाँ तपाईंले आफूसँग भएका कपडा लगेर दान दिन सक्नुहुन्छ । ती कपडा आवश्यक भएका व्यक्तिले लैजान सक्नेछन् । ‘कपडा लिने र दिने दुवैलाई फाइदा, त्यसैले हामीले कपडा बैंक स्थापना गरेका हौं,’ बैंक स्थापना अभियानका सदस्य विशाल ढकाल भन्छन्, ‘यसले रहर भएर पनि कपडा किन्न नसक्ने व्यक्तिलाई अझ बढी लाभ मिल्नेछ ।’


बैंकको शनिबार वीरेन्द्रनगर, मंगलगढीचोकमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरे । नगरपालिकाको सहयोग तथा उज्यालो नेपाल, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, न्यु विशाल इन्जिनियरिङ वर्कसप, भैरव युवा सशक्तीकरण केन्द्र र सामाजिक सञ्जाल मोटे ग्याङको साझेदारीमा कपडा बैंक स्थापना गरिएको हो ।


साझेदार संस्था मोटे ग्याङका सदस्य कुमारशम्शेर थापाले आफूसँग भएका र आफूलाई फिट नहुने कपडा जोकसैले ल्याएर बैंकमा राख्न सक्ने बताए । उनका अनुसार ती कपडा नच्यातिएका र सफा हुनुपर्नेछ । ‘हाम्रो उद्देश्य काम नलाग्ने कपडा जम्मा गरेर बाँड्ने होइन, राम्रा कपडा अरूलाई पनि सफा मनले दिन प्रेरित गर्नु हो,’ उनले भने, ‘यसले कपडा दिने र लिने दुवैलाई आत्मसन्तुष्टि र आत्मसम्मान होस् ।’

प्रकाशित : भाद्र १, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?