कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिलो बैठकका लागि सभाकक्ष तयार भएन

धनगढी — प्रदेशसभा बैठक बस्न ३ दिनमात्र बाँकी छँदा प्रदेश नं. ७ को आवश्यक भौतिक तयारी अहिलेसम्म हुन सकेको छैन । 

जिल्ला समन्वय समितिको सभाकक्षलाई थप मर्मत गरी प्रदेशसभा बैठकका लागि काम भइरहेको छ । अवको ३ दिनभित्र काम चलाउ सभाकक्षमात्र बन्न सक्ने देखिएको छ । सभाकक्षको भित्री भागमा सत्ता पक्ष, विपक्षी दल, सभामुख, मर्यादा पालक, संसदीय कर्मचारी र पत्रकारलगायत आगन्तुक बस्ने डिजायनअनुरूप मर्मत सम्भार भइरहेको छ । प्रदेशसभासँगै रहेको जिल्ला प्राविधिक कार्यालय भवनमा संसद् सचिवालय, सभामुख, उपसभामुख र अन्य कर्मचारीका लागि कार्यालय निर्माण काम भइरहेको छ ।

प्रदेश संसद् सञ्चालनका लागि काठमाडौंबाट खटाइएका कर्मचारीको टोली बुधबारमात्र धनगढी आइपुगेका छन् । खटाइएका कर्मचारीले जिससको चौरमा बसेर खटनपटनको काम गरिरहेका छन् । संसद् भवनभित्र चाहिने आवश्यक उपकरण, व्यावहारिक संसदीय परम्पराअनुसार बस्ने व्यवस्था, संसद् सञ्चालन गर्दा चाहिने सबै आवश्यक व्यवस्थाका लागि टोलीले बिहीबारबाट मात्र काम सुरु गरेको छ । सहसचिव मुरारी महतको नेतृत्वमा उपसचिव झलक सापकोटा, अपरेटर जगदीश न्यौपाने र प्राविधिक श्रीधर गेलालसहितको टोलीले प्रदेशसभा बैठक हलको आवश्यक तयारीका लागि खटिएका हुन् । उक्त टोलीले संसद् सञ्चालनका विषयमा कर्मचारीलाई प्रशिक्षणसमेत दिने छन् । संसद् सञ्चालनका परम्परा, प्राविधिक पक्षका कर्मचारीलाई पनि उनीहरूले प्रशिक्षण दिने जानकारी दिइएको छ । प्रदेशसभाका लागि रिपोर्टिङ गर्ने सञ्चारकर्मीलाई समेत उनीहरूले आवश्यक प्रशिक्षण दिने जानकारी दिएका छन् ।

‘३ दिनमा सभाकक्ष तयार भइसक्छ,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पहिलो बैठकलगत्तै हुने राष्ट्रियसभा निर्वाचनका समयमा आवश्यक काम पनि सम्पन्न हुन्छन् ।’ प्रदेशसभा कक्षको डिजाइन नै केन्द्रबाट ढिलो पुगेका कारण समयमा मर्मत तथा अन्य तयारी हुन नसकेको रिजालको भनाइ छ ।

कर्मचारीकै खटनपटन समयमा नभएका कारण पूर्वाधार तयारीमा ढिलो भइरहेको देखिन्छ । प्रदेशसभा बैठकस्थल जिससको सभाकक्षमा बल्ल रंगरोगन गर्नेदेखि आवश्यक मर्मतसम्भार गर्ने कामदार जोडतोडका साथ काममा जुटेका छन् । सभाकक्षको क्षमता हेर्दा ५३ जना सांसदहरू र सञ्चारकर्मीलगायत बस्न निकै साँघुरो देखिन्छ ।

प्रकाशित : माघ १९, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?