प्रदेश ७ को साझा मुद्दा - समृद्धि र विकास 

धनगढी — प्रदेश ७ को पहिलो बैठकमा प्रदेशसभा सदस्यहरूले आर्थिक समृद्धि र विकासलाई साझा मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकको पहिलो दिन सम्बोधन गर्दै चारवटै राजनीतिक दलको प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरूले चुनौतीलाई उपलब्धिमा बदल्ने उद्घोष गरे ।

प्रदेश ७ को साझा मुद्दा - समृद्धि र विकास 

बाजुराबाट निर्वाचित एमाले सांसद प्रकाश शाहले समृद्धि र विकासका लागि प्रशस्त सम्भावना भएको प्रदेश ७ मा नयाँ युगको सुरुवात भएको बताए । उनले भने, ‘जनताले चाहेको स्थिरता र दिगो शान्तिको निरन्तरताको चुनौती हाम्रासामु छन् ।’ विकासका लागि सबैमा एकताको खाँचो रहेको पनि उनले औंल्याए । अन्य विषयमा खिचातानी भए पनि समृद्धिका मुद्दामा सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

डोटीबाट निर्वाचित कांग्रेस सांसद भरत खडकाले प्रदेशको विकासमा समान धारणा बनाउनुपर्ने बताए । उनले एकात्मक राज्य व्यवस्थाले पछाडि पारेको प्रदेश ७ का हरेक जिल्लामा रहेका विकासका सम्भावनालाई पहिल्याउनुपर्ने उल्लेख गरे । उनले भने, ‘आर्थिक विकास र समृद्धिले मात्र संघीय गणतन्त्र मजबुत हुने भएकाले विगतका गल्ती नदोहोर्‍याई विकासका मामिलामा सबैको एक धारणा बन्नु अनिवार्य छ ।’

संसारको विशाल लोकतन्त्र भारतको राजधानी दिल्लीसहित प्रमुख सहरसँग सीधा हवाई सम्पर्क, उत्तरतर्फ रहेको विशाल छिमेकी राष्ट्र चीनसँग राजमार्ग र हवाई मार्गबाट सीधा सम्पर्क गर्न सक्यो भने प्रदेश ७ सबैभन्दा चाँडो समृद्ध हुने उनले बताए । आर्थिक गतिविधिलाई तीव्रता दिन, पर्यटन प्रवद्र्धन गर्न, कृषिको आधुनिकीकरण र औद्योगिक विकास गर्न पनि दुई छिमेकी राष्ट्रसँग यस प्रदेशको सीधा सम्पर्क हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित त्रिलोचन भट्टले आर्थिक विकास र समृद्धिसँगै भ्रष्टाचार समाप्त गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले यहाँको प्राकृतिक स्रोत साधनको व्यवस्थापन र भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको सबैभन्दा समृद्ध प्रदेश बन्न सक्ने धारणा राखे । उनले भने, ‘कागजमा सीमित पारिएको कृषिप्रधान देश भन्ने नारालाई व्यवहारमा उतार्ने समय आइसकेको छ ।’ नारामा कृषिप्रधान देश भन्ने तर व्यवहारमा सबैभन्दा हेपिएको पेसा यसैलाई बनाइनुले देशको प्रगति हुन नसकेकोप्रति सबै गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले विकासका मुद्दासँगै संविधान संशोधनका लागि केन्द्रीय सरकारलाई आग्रह गरिन् । संविधानमा अझै धेरै त्रुटि भएको धारणा राख्दै उनले भनिन्, ‘चाँडोभन्दा चाँडो संविधान संशोधन गरी पछाडि पारिएका वर्गको अधिकारलाई थप सुनिश्चित बनाउनुपर्छ ।’ दिउँसो १ बजेर ३० मिनेटमा राष्ट्रिय गानबाट सुरु भएको प्रदेशसभा बैठकमा सहिदलाई श्रद्धाञ्जलीपछि प्रमुख दलका एक/एक जनाले बोलेका थिए । बैठकमा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्ट, सांसदहरू, पूर्वसांसदहरू सहभागी थिए । बैठकले अन्तरिम कार्यविधि पारित गर्न‘का साथै सभामुखको निर्वाचन माघ २९ मा हुने घोषणा गरेको छ ।

प्रकाशित : माघ २२, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?