२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

धनगढीमा ट्राफिक व्यवस्थापन चुनौती

मोहन बुढाऐर

धनगढी — धनगढीमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा दिनप्रतिदिन समस्या बढ्दो छ । सहरको मुख्यक्षेत्र (कोरडोर) चौराहादेखि क्याम्पस रोडसम्म सवारीसाधनको भीडभाडले ट्राफिक व्यवस्थापनमा समस्या आएको ट्राफिक प्रहरीले बताएको छ ।

धनगढीमा ट्राफिक व्यवस्थापन चुनौती

‘साना–ठूला गरी दैनिक दस हजार बढी सवारीसाधन गुड्ने बजार क्षेत्रमा ट्राफिक समस्या बढी छ,’ धनगढीका ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक दीपक पातलीले भने, ‘सडकको भागलाई फुटपाथ ठेलागाढीले मिचेकाले झन् समस्या छ ।’

धनगढी बजारमा पैदल हिँड्ने, फुटपाथ पसल राख्ने स्थान, सडकको रेलिङ, बाटो काट्ने संकेत, पार्किङ क्षेत्र छुट्टै छैन । व्यापारिक पसलहरूले बाटोको छेउसम्म सामान राख्ने, त्यही स्थानमा ठेला लगाउने, मोटरसाइकल, कार, समेत त्यहीं सडक छेउमा हुने पार्किङको भीडभाडले सडकको क्षेत्र साँघुरो छ । ट्राफिक इन्चार्ज पातलीले भने, ‘सवारी साधनहरूको बढ्दो चापलाई हेर्दा अहिलेका सडकले अब धान्दैन ।’

धनगढीको ट्राफिक चापलाई पछिल्लो समयमा सञ्चालनमा रहेका इलेक्ट्रोनिक रिक्साले समेत सवारी व्यवस्थापनमा समस्या बढाएको छ । ट्राफिक इन्चार्ज पातलीले ई–रिक्सालाई मुख्य बजार क्षेत्रबाट विस्थापित गरी नगरबसहरू सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । धनगढीमा अहिले तीन हजार बढी ई–रिक्सा सञ्चालनमा छन् । निर्माणाधीन ६ लेनको धनगढी–अत्तरिया सडक मार्गमा समेत हाल ट्राफिक जाम छ । चटकपुर चौराहादेखि बोराडाडी राजपुर क्षेत्रमा ग्यारेजहरूको संख्या बढी भएकाले गाडी ग्यारेजबाट भित्र/बाहिर गर्दा निर्माणाधीन सडक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले नगरको बढदो ट्राफिक समस्या घटाउन नगरपालिका, यातायात व्यवसायी, फुटपाथ पसले र अन्य व्यापारीलगायत सरोकारवाला निकायहरूसँग पटकपटक छलफल गर्दै आएको भए पनि छलफलमा भएका निर्णयहरू कार्यान्वयनमा भएका छैनन् । ट्राफिक समस्याले दुर्घटनाको सम्भावनालाई बढाएको नगरवासी देवराज भट्टले बताए । उनले धनगढी नगरपालिकाको मुख्य बजार मार्गमा पैदल हिँड्ने र सवारी साधन गुड्ने मार्ग छुट्टिनुपर्ने धारणा राखे । ‘फुटपाथ पसल, ठेला, मान्छे, गाडी, गाईगोरु, सबै यातायातका साधनहरू गुड्ने सडक प्रयोग गर्दा समस्या बढेको छ,’ उनले भने, ‘मुख्य सडकलाई चौडा पार्न आवश्यक छ ।’ उनले प्रदेशको राजधानी स्थापनाले यहाँको सवारी र जनसंख्याको चाप अझ बढ्ने बताए ।

सेती अञ्चल यातायातको कार्यालयका अनुसार सेतीमा मोटरसाइकल स्कुटर, मोपेडको संख्या ७० हजार, कार/जिप डेलिभरी भ्यान ५ हजार ९ सय ३, बस/ट्रक २ हजार ७ सय, टेम्पो तथा अटोरिक्सा २ हजार ६ सय ६०, ट्रयाक्टर ११ हजार ४ सय ६६ दर्ता भएका छन् । तीमध्ये ७० प्रतिशत सवारीसाधन धनगढीमै गुड्ने गरेका छन् । सेतीबाहेक अन्य अञ्चल कार्यालयमा दर्ता भएका सवारीसाधनको संख्या १० हजारभन्दा बढी छ । सीमावर्ती धनगढी बजारमा भारत नम्बर प्लेटका सावरी साधनको चाप अहिलेको धनगढीको सडकले धान्न नसक्ने ट्राफिक इन्चार्ज पातली बताउँछन् । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले बढ्दो सहरीकरणको ट्राफिक, सडक, ढल र सरसफाइका लागि कार्ययोजना तयार पारेर कार्यान्वयन गरिन लागेको जानकारी गराए । ‘सहरीकरणले बढेको ट्राफिक समस्याका लागि सरोकार निकायसँग छलफल र समाधान खोजेर काम अघि बढाउने प्रयास भएको छ,’ उनले भने ‘ई–रिक्सा वृद्धि रोक्न नगरपालिकामा दर्ता बन्द नै गरिसकेका छौं ।’ एसियाली विकास बैंकको सहियोगमा धनगढी सहर विकासका लागि गुरुयोजना डीपीआर तयार पार्ने काम ६/७ महिनाभित्रमा सकिने उनले बताए ।

प्रकाशित : माघ २६, २०७४ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?