सभामुखमा थापा निर्विरोध

अर्जुन शाह

धनगढी — प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । उम्मेदवारी दर्ता प्रक्रियामा थापा निर्विरोध भए पनि निर्वाचित भएको औपचारिक घोषणाका लागि भने सोमबारको प्रदेशसभाको बैठकसम्म पर्खनुपर्ने भएको छ । 

संसद् सचिवालयले सोमबारको प्रदेशसभा बैठकमा सभामुखको निर्वाचनको कार्यतालिका यसअघि नै प्रकाशित गरिसकेको छ । संसदीय परम्पराअनुसार प्रस्तावक र समर्थक २ जनाले सोमबारको बैठकमा उनको पक्षमा समर्थन वक्तव्य दिएपछि सभाको अध्यक्षता गर्ने दिव्यश्वरी शाहले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछिन् ।

एमालेले लामो समयको आन्तरिक छलफलपछि बझाङबाट निर्वाचित थापालाई अघि सार्ने निर्णय गरेको थियो । अन्य आकांक्षी सांसदहरूले समेत थापाका नाममा सहमति गरेपछि उनलाई सभामुख हुने बाटो खुलेको थियो । एकल उम्मेदवारी परेर निर्विरोध भएपछि थापाले भने, ‘पदीय जिम्मेवारीअनुरूप कानुन निर्माण तथा प्रदेशसभाको गरिमा बढाउने कार्यमा निष्पक्षतासाथ गम्भीरतापूर्वक लाग्नेछु ।’ प्रदेशसभाले थुप्रै कानुन निर्माण गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका २ सांसद छन् । एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएकाले गठबन्धनको सहमतिअनुरूप सभामुख पदमा अघि सार्ने एमालेकै उम्मेदवार निर्वाचित हुने यसअघि नै पक्का थियो । कांग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । प्रदेशसभामा १२ सदस्य रहेको कांग्रेसभित्र संसदीय दलको नेताका लागि भने रस्साकस्सी परेको छ । दलको नेताका लागि डोटीका भरत खडका, कैलालीका रणबहादुर रावल र डडेलधुराका कर्ण मल्लले आकांक्षा राखेका छन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका–२ देहली गाउँमा जन्मिएका ६२ वर्षीय थापाले २८ वर्ष शिक्षण सेवामा बिताएका हुन् । माध्यमिक तहको विद्यार्थी कालदेखि कम्युनिस्ट पार्टीसँग निकट भएका थापा शिक्षण पेसामा रहेकै बेला पार्टीका विभिन्न संगठनमा सक्रिय थिए । स्नातक तहको अध्ययन पूरा गरेका उनी ०३६ सालमा शिक्षक संगठनको संस्थापक हुन् ।

प्रकाशित : माघ २८, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?